February 8th, 2017

आधा दर्जन बीमाको, हकप्रद सेयर आउँदै

वित्तीय क्षेत्रमा यतिबेला हकप्रद सेयर निष्काशनको लहर नै चलेको छ । बीमा क्षेत्रबाट मात्रै झन्डै तीन अर्ब ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन हुँदैछ । सात वटा जीवन तथा निर्जिवन कम्पनीहरुले सर्वसाधारण सेयरधनीहरुका लागि सो अनुपातमा हकप्रद सेयर जारी गर्न लागेका हुन् । हेरौँ, कुन बीमा कम्पनीले कति हकप्रद सेयर निष्काशन गर्दैछ ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी फागुन ३ गतदेखि एक सय रुपैयाँ अंकित मूल्यमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ३ गते देखि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल नेको इन्स्योरेन्सको चुक्तापुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा आठ करोड ६२ लाख रुपैयाँ बराबरका आठ लाख ६२ हजार कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैंयाँ छ । हकप्रद निष्काशन पश्चात उसको चुक्ता पूँजी झण्डै ४४ करोड रुपैंया पुग्नेछ । 

प्रभु इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । कम्पनीको २१औँ वार्षिक साधारणसभाले गरेको निर्णयबमोजिम बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । हाल ३२ करोड ९० लाख ७३ हजार तीन सय रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले १७ प्रतिशत बोनस जारी गरेर ३८ करोड ५० लाख १५ हजार सात सय ६१ रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यो पुँजीको ५० प्रतिशत अर्थात १९ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । 

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको १८ औँ र १९ औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ । यसअघि १० बराबर ८ को अनापतमा हकप्रद दिएर कम्पनीले चुक्ता पुँजी २७ करोड पुर्याइसकेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि एनबी इन्स्योरेन्सको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ ।

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २२० प्रतिशत अर्थात एक बराबर दुई दशमलव दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो निर्णय कम्पनीको गत असोज ७ गते सम्पन्न साधारसभाबाट पारित भइसकेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ८४ करोड ७४ लाख ४० हजार रुपैयाँ बराबरको ८४ लाख ७४ हजार चार सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल हिमालयनको चुक्तापुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी झन्डै सवा एक अर्ब रुपैयाँ पुग्नेछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । हकप्रद जारी गर्ने निर्णय कम्पनीको गत मंसिर २९ गते सम्पन्न साधारणसभाबाट पारित भइसकेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । हाल नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब एक करोड रुपैयाँ रहेको छ । बोनस जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सो चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्तापुँजी दुई अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । 

लुम्बिनी जेनेरल इन्स्योरेन्सको कम्पनीले पनि शतप्रतिशत अर्थात एक बराबर एककै अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीको गत मंसिर ३० गते सम्पन्न वार्षिक साधारणभाले सो निर्णय पारित पनि गरिसकेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १८ प्रतिशत बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल लुम्बिनीको चुक्तापुँजी ३३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ९४ लाख रुपैयाँ हाराहारीमा पुग्नेछ । सो पुँजीको शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको चुक्तापुँजी ७७ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]