January 31st, 2017

चार बैंक र दुई बीमा कम्पनीको एफपीओ आउँदै

आधा दर्जन कम्पनीले ६० ला कित्ताको हाराहारीमा थप नयाँ सेयर (एफपीओ) जारी गर्ने भएका छन् । कति कम्पनीले भर्खरै निर्णय गरेका छन् भने कोही एफपीओ निष्काशन प्रक्रियाको अन्तम चरणमा छन् । एफपीओ पनष्काशन गर्न लागेका कम्पनीहरुमा चार वटा बैंक र दुई वटा बीमा कम्पनीहरु रहेका छन् । हेरौँ, कुन कम्पनीले कति एफपीओ जारी गर्दैछ ?

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले १२९० रुपैयाँमा एफपीओ जारी गर्न लागेको हो । बैंकको सञ्चालक समितिले प्रतिकित्ता नयाँ सेयर एक सय रुपैंयाको फ्रेस भ्याल्लु तथा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयामा निष्काशन गर्ने निर्णय गरेको हो । बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो । बैंकले यसअघि नै एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले तीन अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ । 

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले छ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपीओ जारी गर्ने भएको छ । प्रिमियरले एक सय रुपैयाँ अंकित मूल्यमा नौ सय चार रुपैयाँ प्रिमियम थप गरि एक हजार चार रुपैयाँमा  एफपीओ जारी गर्न लागेको हो । प्रस्तावित मूल्य धितोपत्र बोर्डबाट स्विकृत हुन बाँकी छ । प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा सार्वजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त अनुपातमा एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारी गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । त्यस्तै, कम्पनीको २३औँ वार्षिक साधारणसभाले प्रस्तावित एफपीओ पारित गरिसकेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजीमा झन्डै सात करोड रुपैयाँ थपिनेछ । एफपीओ मार्फत कम्पनीले थप ६२ करोड रुपैयाँ आर्जन गर्ने छ । 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत एफपीओ जारी गर्ने भएको छ । कम्पनीले १३ लाख ६२ हजार कित्ता थप नयाँ सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६ सय २० रुपैयाँको दरमा एफपिओ बिक्री गर्नेछ । कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ। एफपिओ निष्काशनबाट १३ करोड ६२ लाख ७८ हजार एक सय रुपैंया पूँजी बिस्तार गरी दुई अर्ब सात करोड १४ लाख २७ हजार रुपैंया प्रिमियम जगेडाकोषमा सञ्चित गर्नेछ । गत वर्ष पनि एफपीओ जारी गरेको कम्पनीले यसपटक अनुमति पाउने वा नपाउने भन्ने कुरामा भने अन्यौल नै रहेको छ । 

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको जानकारी गराएको हो । चालू आर्थिक वर्षभित्रै जारी गरिने उक्त एफपीओ प्रिमियममा जारी गर्ने भनिएपनि मूल्य भने तोकि नसकिएको बताइएको छ ।  

महाकाली विकास बैंक लिमिटेड
महाकाली विकास बैंक लिमिटेडले दुई लाख ३६ हजार तीन सय ६७ दशमलव ५३ कित्ता नयाँ सेयर जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत कात्तिक २० गत बोर्डमा निवेदन दिएको हो । बैंकको सेयरको प्राथमिक समिक्षा भइरहेको बोर्डले जनाएको छ । महकालीको सेयर निष्काशन तथा सिवक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

नेपाल ग्रामीण विकास बैंक लिमिटेड
नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर अर्थात एफपीओ जारी गर्ने भएको छ । बैंकले नौ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]