January 24th, 2017

अमेरिकी नीतिका कारण संसारभर सुनको मूल्य बढ्दै

सुनको मूल्य फरी बढेको छ । सोमबार ०.७ प्रतिशतबाट बढेर पछिल्लो २ महिनाकै महँगो भएको हो । सुन बजारमा प्रत्यक्ष असर पार्ने राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत अन्यौलले सुन झनै महँगीएको विज्ञहरुको भनाई छ । सुन बजारमा अमेरिकाले प्रत्यक्ष असर पार्ने हुँदा राष्ट्रपति ट्रम्मको नीतिगत अस्पष्टताले सुन अझै महँगिने विश्लेषण गरिएको छ । साताको दोस्रो दिन खुद्रा सुनको मूल्यमा ०.७ प्रतिशत बृद्धि भई प्रतिऔंस १,२१७.८१ डलर कायम भएको हो । अमेरिकी सुनको मूल्यमा पनि १.१ प्रतिशतले बृद्धिभई प्रतिऔंसत १,२१८.२० डलर कायम भएको छ । सुन पछि अन्य बहुमूल्य धातुहरुमा चाँदीको मूल्य ०.८ प्रतिशतले वृद्धि भएर प्रतिऔंस १७.२० डलर कायम भएको छ । यो मूल्य वृद्धि पछिल्लो २ महिना यताकै उच्च मूल्य वृद्धि हो । नेपालमा सुनको मूल्य निर्धारण गर्न सबैभन्दा ठूलो भूमिका अन्तराष्ट्रिय बजारमा भइरहेको कारोबारमा भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य परिवर्तन भइरहन्छ । विभिन्न अनलाइन माध्यमबाट सुन व्यवसायीहरुले त्यसको जानकारी लिइरहेका हुन्छन् ।
 
कसरी हुन्छ नेपाली बजारमा मूल्य थपघट ?
विभिन्न समयमा नेपाली बजारमा सुन, चाँदी जस्ता बहुमूल्य धातुहरुको मूल्य परिवर्तन भइरहेको हुन्छ । नेपाली बजारमा प्राय जसो दैनिक रुपमा सुनको भाउँ घटबढ भइरहने गर्दछ  । नेपाली बजारमा मात्र नभई विश्व सुन बजारमा सुनको मूल्य घटबढ हुनुमा मूख्य भूमिका अमेरिकाको नै मानिन्छ । पछिल्लो ट्रेण्ड हेर्ने हो भने नेपाली बजारमा सुनको मूल्य बढ्दो क्रममा छ । अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ । हरेक दिन विहान ११ बजेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण भइसक्छ । प्रत्येक दिन विहान १० बजेदेखि ११ बजेसम्म मूल्य निर्धारण सहितिले नेपालको सुनको मूल्य निर्धारण गरिसकेको हुन्छ ।
 
कसले गर्छ सुनको मूल्य निर्धाण ?
नेपाली सुन बजारमा सुनको मूल्य निर्धारण गर्ने ‘मूल्य निर्धारण समिति’ छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्षको संयोजकत्वमा रहेको ५ सदस्यिय समितिले दैनिक रुपमा सुनको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजार मूल्य, अमेरिकी डलरको विनिमय दर, नेपालको भन्सार महसुल दर र बैंक र सुन व्यवसायीको नाफा गरी जम्मा यी ४ पक्षको आधारमा नेपालमा सुनको मूल्य निर्धारण हुने गरेको छ ।
 
सुनको मूल्य घटेको बढेको कसरी थाहाँ पाइन्छ ?
हरेक दिन बिहान ११ बजेसम्म मूल्य निर्धारण समितिले सुनको मूल्य निर्धारण गरिसके पश्चात महासंघमा आवद्ध सबै व्यवसायीलाई तत्कालै मूल्यबारे जानकारी गराइन्छ । समितिले तोकिएको मूल्य विहान ११ बजेसम्म उपत्यकामा स्लिप वा एसएमएस मार्फत प्रत्येक व्यवसायीलाई जानकारी गराउने गरेको छ ।
 
सुनको मूल्य परिर्वन हुने कारणहरु
बिश्व बजारमा सुनको मूल्य परिवर्तन भइरहने कारण अमेरिकी डलरको सटही दर हो । अमेरिकी डलरको विनिमय दर दिनहुँ परिवर्तन भइरहन्छ । नेपाली रुपैयाँको अमेरिकी डलरसँगको सटही दर र अन्तर्राष्ट्रिय बजारमा रहेको सुन मूल्यको हिसाब गरिन्छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर हिसाब गरेर निकालेको मूल्यमा सुनको भन्सार दर जोडिन्छ । एक प्रतिशत नाफा राखेर नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ । नाफाको रुपमा राखिएको एक प्रतिशतमध्ये बैंकलाई आधा र सुन व्यवसायीलाई आधा प्रतिशत भाग लगाइन्छ । कहिले काहिँ माग र आपूर्ति कस्तो छ यसको आधारमा पनि भाउ तलमाथि पर्न सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]