January 20th, 2017

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको चेतावनी  ‘खतरा निम्त्याउने काम नगर’ 

नवराज कुँवर – नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी नबढाउन बैंक तथा वित्तीय संस्थालाई चेतावनी दिएको छ । अनुत्पादक क्षेत्रमा लगानी उच्च हुँदा भविष्यमा खतरा उत्पन्न हुने भन्दै केन्द्रीय बैंकले यस्तो चेतावनी दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाले आगामी दिनमा सावधानीपूर्वक कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ ।’ नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा भन्छन् ‘अनुत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह हुँदा खराब कर्जाको अनुपात बढ्न सक्छ ।’ 

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको अगानी अनुत्पादक क्षेत्रमा उच्च रुपले बढेको देखाएको थियो । चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंक तथा वित्तीय संस्थाले त्यसको ६१ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमै गरेको पाइएको हो । 
घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले व्यापक लगानी गरेका छन् । तथ्यांकअनुसार यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै एक खर्ब अर्थात ९६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका छन् । 

अनुत्पादक क्षेत्रमा लगानी उच्च हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुत्पादक क्षेत्रमा लगानी नबढाउन चेतावनी दिएको हो । मुलुकको विकासका लागि पनि नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्र, ग्रामिण तथा विपन्न वर्गका नागरिकलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्दिष्ट गरेको छ । 

उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अनुपात बढ्ने सम्भावना रहँदैन । तर खासगरी वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी मुनाफा नदेखेकाले त्यतापटि कर्जा प्रवाह गर्न त्यति उत्साहित भएको पाइँदैन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भन्छन्– ‘हामी अब कृषि र उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी अझै बढाउने खालको नीतिको तयारी गरिरहेका छौँ ।’ खासगरी वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार लगानी नगरेको संकेत गर्दै शिवाकोटीले अब राष्ट्र बैंकको नीतिअनुसार कर्जा प्रवाह गर्ने बैंकलाई कडाइ गर्दै नीति तयार पारिने जानकारी दिए ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]