January 16th, 2017

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओमा ४०.५ अर्बको आवेदन

एफपिओ निष्काशनमा परेको आवेदनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको एफपिओमा आजसम्मकै सबैभन्दा धेरै ४०.५ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । एक लाख ९५ हजार आवेदकहरुबाट सो आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । अझै ४० वटा संकलन केन्द्रबाट विवरण आउन बाँकी रहेको र सो केन्द्रहरुबाट सम्पूर्ण विवरण प्राप्त भएपछि आवेदन संख्या अझै बढ्ने बताइएको छ । 

कम्पनीले पुस २७ गतेदेखि माघ २ गतेसम्म ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ एक सय रुपैयाँ अंकित मूल्यमा १३२५ रुपैयाँ प्रिमियम थपेर निष्काशन गरेको थियो ।

अबको ६० दिनभित्रमा एफपिओ वितरण गरिने र ६५ दिनभित्र एफपिओ नपरेको रकम फिर्ता गरिने बताइएको छ । 

हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपिओ वितरण गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ भने जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ थपिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]