January 12th, 2017

१४७९.८३ अंकमा सेयर बजार, खानीखोलाका सेयरधनीले कमाए

साताको अन्तिम दिन सेयर बजार सामान्य ३.३२ अंकले बढेर १४७९.८३ अंकमा बन्द भएको छ । होटल, विकास बैंक र अन्य बाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ९.९२ अंकले बढेको छ भने बीमा समूह ९.२३ अंकले बढेको छ । बैंकिङ र फाइनान्स क्रमशः ५.९३ र ०.९७ अंकले बढेका छन् । होटल, विकास बैंक र अन्य भने क्रमशः ३०.९, ०.२३ र २.३२ अंकले घटेको छ । 

बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबार सवा ३६ करोडको कारोबार भएको बजारमा विहीबार ३१ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १२० वटा कम्पनीको २६ लाख ७० हजार पाँच सय ५७ कित्ता सेयर दुई हजार चार सय १५ पटक खरिदविक्री हुँदा कुल ३१ करोड ८७ लाख १७ हजार तीन सय ३२ रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १को सबैभन्दा धेरै चार करोड ९४ लाख ८३ हजार दुई सय ३७ रुपैयाँको कारोबार भएको छ । लक्ष्मी बैंकको तीन करोड ७७ लाखको कारोबार भएको छ भने सिद्धार्थ बैंकको एक करोड ७७ लाखको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक प्रोमोटर र एभरेष्ट बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड र कुमारी बैंकको ८० लाखमाथिको कारोबार भएको छ भने एनबी इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख माथिको कारोबार भएको छ । 

खानीखोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ८.३३ र लक्ष्मी बैंकका सेयरधनीले ८.२३ प्रतिशतका दरले कमाएका छन् भने ललितपूर फाइनान्स र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ५.४९ र ५ प्रतिशत प्रतिशतका दरले कमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, ज्योति विकास बैंक, बरुण हाइड्रोपावर, साना किसान विकास बैंक, ग्लोबल आईएमई समुन्नत स्किम १ लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.४७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । मञ्जुश्री फाइनान्स, एनबी इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, हाम्रो विकास बैंक, मिथिला लघुवित्त, वरियन्टल होटल्स, देवः विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]