December 13th, 2016

हकप्रद खुलेका वाणिज्य बैंकहरु : कुनको म्याद कहिलेसम्म ?

हाल हकप्रद सेयर निष्काशन गरिरहेका कम्पनीहरुमध्ये तीन वटा वाणिज्य बैंकहरु छन् । हिमालयन बैंक, माछापूछ्रे बैंक र जनता बैंकले हकप्रद सेयर निष्काशन गरिरहेका हुन् । हिमालयनले कात्तिक २६ गतेदेखि हकप्रद सेयर निष्काशन गरिहेको छ भने माछापूछ्रेले मंसिर १९ गते र जनता बैंकले मंसिर १ गतेदेखि हकप्रद सेयर निष्काशन गरिरहेका छन् । 

हिमालयन बैंक
himalayan-bankहिमालयन बैंक लिमिटेडले सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । गत असोज १२ गते हकप्रद निष्कानशको स्विकृति पाएको बैंकले शुक्रबार (कात्तिक २६ गते) देखि आगामी मंसिर ३० गते सम्मका लागि हकप्रद निष्काशन खुला गरेको हो । हिमालयन बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हिमालयन बैंक लिमिटेड, कमलादी, काठमाडौं र शाखा कार्यालयहरु तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमार्फत् उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँनी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार, अबको आठ महिनामा बैंकले दुई अर्ब ८६ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

माछापुछ्रे बैंक
maxapuxreमाछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा मंसिर १९ गतेदेखि पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद दुबै जारी गरेपछि बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

जनता बैंक
janata-bankजनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्री प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल जनता बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]