November 18th, 2016

साताभर चर्चामा रहेका १० उत्कृष्ट बैंकिङ खबरहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता भारु नोटसम्बन्धि समस्या समाधानका लागि राष्ट्र बैंकको ताकेता प्रमुख समाचार बन्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

भारु नोट सटही
गत साता भारत सरकारले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली बजारमा देखियो । नेपालमा रहेका सो दरका नोट सटहीमा समस्या देखियो। नोट सटहीका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयले भारतका सबै सम्बन्धित निकायमसँग तीव्र रुपमा पहल अघि बढायो । तैपनि यो विषय टुंगो लाग्न सकेन । अब भने भारतले वैधानिक नोटहरु साटिदिने संकेत देखाएको बताइएको छ । यो समस्या सुल्झाउनका लागि राष्ट्र बैंकले कार्यसमिति नै गठन गरेको छ । 

बैंकर्स संघमा नयाँ अध्यक्ष
साताको बुधबार सम्पन्न नेपाल बैंकर्स संघको ३० औँ वार्षिक साधारणसभाले उपाध्यक्ष अनिल केशरी शाहलाई संघको अध्यक्षमा निर्वाचित गर्यो । सोही सभाले कार्यकारीणी समितिका सदस्य ज्ञानेन्द्र ढुंगानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । सोही सभाले राजनसिंह भण्डारीलाई सल्लाहकारमा नियुक्त गर्यो ।

महँगो विवाह
दक्षिण भारतको कर्नाटका राज्यमा विश्वकै एउटा सबैभन्दा खर्चिलो वैवाहिक समारोह सम्पन्न भयो । पूर्व प्रान्तिय मन्त्री तथा एक जना विवादित खानी व्यवसायी जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाहमा करिव आठ अर्ब रुपया खर्च गरे । पाँच दिन चलेको उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइयो । बलिउड कलाकारहरुले समेत समारोहमा प्रस्तुती दिए । मुलुकभर पैसाको अभाव भइरहँदा लाजमर्दो पाराले पैसाको प्रदर्शन गरेको भन्दै आलोचकहरुले विवाहको आलोचना गरिरहेका छन् ।

सुजातालाई ५० लाख
स्तन क्यान्सरको उपचार गर्न भन्दै कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारसँग ५० लाख मागिन् । कांग्रेस कै शीर्ष नेताहरुको पहलमा उनलाई उपचार खर्च दिइयो । यो कुरा अहिले सर्वत्र चासोको विषय बनेको छ । सुजाता अहिले आलाचनाको पात्र बनिरहेकी छिन् । गरी जनता सिटामोल नपाएर मर्दा पहुँचवालालाई सरकारी ढुकटीबाट रकम बाँडिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । 

बोनस सेयर वितरण
सिन्धु विकास बैंकको सातौँ साधारणसभाले १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो । वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंकबाट अनुमति पायो । 

हकप्रद सेयर निष्काशन
सिन्धु विकास बैंकको सातौँ साधारणसभाले ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्यो । साताको बुधबारदेखि जनता बैंकको ५० प्रतिशत र सेती फाइनान्सको १५० प्रतिशत हकप्रद खुल्यो । 

सेवा, सुविधा तथा व्यवसाय बढाउँदै बैंकहरु
रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत वार्षिक ब्याज प्रदान गर्ने नयाँ योजना ल्यायो । लक्ष्मी बैंकले मंगलबार एकै दिन पाल्पाको रामपुर र भक्तपूरको कौशलटारमा गरी दुई नयाँ शाखा सञ्चालनमा ल्यायो । प्रभु मनि ट्रान्सफर प्रालिले दशै, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको उपहार कार्यक्रमको पहिलो र दोश्रो पुरस्कार क्रमशः धनुषाका छेदी मण्डल र दाङकी दिपा सेनले हात पारे ।

तालिम तथा क्षमता अभिवृद्धि
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शाखा प्रवन्धकहरुको लागि समीक्षा गोष्ठि तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गर्यो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले क्षमता अभिबृद्धि तालिम सम्पन्न गर्यो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जेनेरल मेनेजर, ब्राण्ड प्रमुख र आईटी विभाग प्रमुख पदमा कर्मचारी थप गर्यो ।

सामाजिक उत्तरदायित्व
लक्ष्मी बैंकका कर्मचारीद्वारा प्रबर्धित संस्था लक्ष्मी केयर “निश्वार्थ पहल” ले सुनाकली बुढालाई छात्रवृत्ति प्रदान गर्यो । यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको आफ्नै शाखाको प्रांगणमा आँखा शिबिर सम्पन्न गर्यो । सानिमा बैंकले नक्सालस्थित सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान गर्यो । 

लोभले लाभ, लाभले विलाप
पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरियो । रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब २० लाख डलर घुस लिँदालिँदै रंगेहात पक्राउ परे । 

अन्य
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड कात्तिक ३० गते मंगलवार देखि ७९ वर्ष पुरा गरी ८० औ वर्षमा प्रवेश गर्यो । एलआईसी नेपाल लिमिटेड र आईएमई लिमिटेडले उत्कृष्ट करदाता सम्मान प्राप्त गरे । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार सोमबारदेखि खुल्यो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]