November 16th, 2016

भारु नोटमा छिमेकी देशप्रति भारतको ‘अन्याय’ 

indian-note

भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले तत्काल पत्र लेखेर सटही सुविधाको लागि आग्रह गर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त परिमाणका भारु नोटमाथी प्रतिबन्ध लगाइएको घोषणा गरेको भोलिपल्टै राष्ट्र बैंकले सटही सुविधाका लागि रिजर्भ बैंक अफ इन्डियामार्फत भारत सरकारलाई पत्र पठाएको थियो । तर पत्र पठाएको एक साता पुग्न लाग्दासम्म भारतीय पक्षले कुनै जवाफ दिएको छैन । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी मोदीसँग एकपटक टेलिफोन वार्ता पनि गरिसकेका छन् । कुराकानीका क्रममा उनले सटही सुविधा उपलब्ध गराउन आग्रह गरेका थिए । त्यसैगरी भारतले भारु नोटमा प्रतिबन्ध लगाएदेखि नै राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पटक–पटक भारतीय समकक्षी उर्जित पटेलसँग फोनवार्ता गरिसकेका छन् । यद्यपी अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैन ।

वास्तवमा ५ सय र १ हजार दरका भारतीय नोट नेपालमा प्रतिबन्धित थिए । तर भारतकै आग्रहअनुसार नेपालमा ती नोट २५ हजारसम्म साट्न पाउने गरी खुला गरिएको थियो । किनकी खुला सीमाना र व्यापार भएको, भारतीयहरु नेपाल आउँदा भारु नै बोकेर आउनुपर्ने भएकाले भारतले आफ्ना देशका नागरिकका लागि त्यस्तो सुविधा माग गरेको थियो । तर जब ती नोटमा प्रतिबन्ध लगाइयो, भारत सरकारले नेपालको बारेमा थोरै पनि नसोचेको देखिएको छ । नेपाल राष्ट्र बैंकले पठाएको पत्रमा उसले भारत सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ, ‘भारत सरकारकै आग्रहअनुसार हामीले नेपालमा प्रतिबन्धित ५ सय र १ हजार भारु खुला गरेका हौँ ।’ भारत सरकारकै आग्रहअनुसार भारु नोट चलाउन थालेकाले भारतबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राष्ट्र बैंकले गरेको थियो । तर अहिलेसम्म पनि नेपालको पत्र बुझेको भारत सरकार कानमा तेल हालेर बसेको छ । कतिपय नेपाली अधिकारीले भारतको यस्तो मौनतालाई अन्यायपूर्ण भनेका छन् । 

‘मुखमा राम राम बगलीमा छूरा !’ 

नेपालका विषयमा बोल्दा भारतीय प्रधानमन्त्री, राष्ट्रपति नेपाललाई ‘हाम्रो सबैभन्दा नजिकको र प्रिय छिमेकी राष्ट्र’ भन्न कहीँ पनि छुटाउँदैनन् । तर यति सानो अर्थतन्त्र भएको मुलुकमा आफुहरुले गरेको निर्णयले परेको प्रभावबारे भने एकरत्ति नसोकेको पाइएको छ । भ्रमणका बेला नेपाललाई सबै तरिकाले प्राथमिकतामा राखेको र नेपाललाई गर्नुपर्ने जस्तो सुकै सहयोग गर्ने प्रतिबद्दता जनाउने तर व्यवहारमा नाकाबन्दी र आर्थिक तनाव दिने काम भएको भन्दै नागरिकस्तरमा भारतप्रति नकारात्मक धारणा चुलिएको छ । 

कति छ नेपालमा भारु ? 

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ३ करोड ३६ लाख ९० हजार रुपैयाँ छ । यद्यपी सीमावर्ती क्षेत्रका नेपालीहरुसँग भएको रकम भने त्यो भन्दा कैयौँ गुणा बढी भएको ठानिएको छ । सुदुरपश्चिममा मात्रै ५ अर्ब भारु भएको अनुमान गरिएको छ । भारतले भारु सटहीबारे कुनै जवाफ नदिँदा सीमावर्ती क्षेत्रका नागरिकमा भने चिन्ता बढ्दै गएको छ । दैनिक कारोबार नै भारुमा गरिरहेका सीमा क्षेत्रका नेपालीहरुसँग भएको रकम सटहीको अनिश्चिततासँगै चिन्ता बढेको हो । 
पहल जारी रहेको राष्ट्र बैंकको भनाई

नेपाल राष्ट्र बैंकले आजभोलि नै भारतबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरेको छ । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नेपालका गभर्नर र भारतीय गभर्नरबीच कुराकानी भईरहेकाले आजभोलिमै सकारात्मक जवाफ आउने अपेक्षा गरिएको बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]