November 9th, 2016

ट्रम्पको जीतले विश्व सेयर बजारमा उथलपुथल : क्षणभरमै डुब्यो कराडौँ रकम

stock downअमेरिकाको ४५ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्व सेयर बजारमा उथलपुथल आएको छ । अमेरिकी चुनावमा ट्रम्पको जीतको संकेतसँगै ग्लोबल मार्केटमा तीब्र गिरावट आएको हो । 

भारत सरकारले ५०० र १००० दरका भारतीय नोट बन्द गरेको प्रभाव नसकिँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय सेयर बजारमा यसको डरलाग्दो असर देखियो । बम्बे स्टक एक्सचेन्जको तथ्याङ्क अनुसार ग्लोबल स्टक मार्केटमा खलबली मच्चिएको छ । बम्बे स्टकमार्केटमा १ मिनेटको बीचमा स्थानीय लगानीकर्ताले ७ लाख करोड रुपैयाँको नोक्सानी भोग्नुपरेको बताइएको छ । ८ नोभेम्बरमा बीएसआईमा सूचीकृत भएका कम्पनीको मार्केट क्याप १११.४४ लाख करोड रुपैयाँ थियो । बजार खुल्नेबित्तिकै यो आँकडा १०४.३५ लाख करोड रुपैयाँको अवस्थामा आइपुगेको हो । 

ट्रम्पको जितको सम्भावना देखिनेबित्तिकै अमेरिकाको बजारमा पनि तीब्र गिरावट आयो । एसएन्डपी फ्युचर्समा ५ प्रतिशतको गिरावट आउने बित्तिकै कारोबार रोकियो । अर्कातिर डाओ फ्युचर्समा ८०० अंकको गिरावट देखियो । जापानको निक्केई सेयर बजारमा पनि ५ प्रतिशतको गिरावट देखियो । 

बजार विज्ञहरुका अनुसार, डोनाल्डको आर्थिक नीति स्पष्ट छैन । उनको नीति बजारका लागि सही छैन । साथै रिपब्लिकनबाट राष्ट्रपति बन्दा विश्वभरको स्टक मार्केटमा दबाब पर्ने इतिहास रहेको छ । ट्रम्पको भिसा र विदेश कम्पनीको कारोबारमा कडाई गर्ने नीतिको असर सेयर बजारमा देखिएको हो । 

अमेरिका विश्वकै शक्तिशाली मुलुक हो । यहाँको अर्थतन्त्रको दिशाले अन्य मुलुकहरुको अर्थतन्त्रको दिशा निर्देश गर्दछ । सबैको अनुमान विपरीत ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभरका सेयर लगानीकर्तामा निराशा छाएको छ । विश्व सेयर बजारमा बुधबार देखिएको गिरावटले अझै निरन्तरता पाउने अनुमान विश्लेषकहरुले गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]