May 9th, 2017

बेरोजगारीलाई यसरी रोजगारी बनायो अमेरिकाले

अमेरिकाको बेरोजगारी दर ४.४ प्रतिशतमा झरेको छ । पछिल्लो समय बेरोजगारी दर उल्लेख्य रुपमा बढ्न थालेपछि चिन्तामा रहेको अमेरिकामा अप्रिल महिनामा मात्रै दुई लाख ११ हजार रोजगारी थपिएपछि बेरोजगारी दरमा गिरावट आएको हो । मार्च महिनामा रोजगारी सिर्जना ओरालो लागेको थियो । अप्रिल महिनामा भने एक लाख ८० हजार रोजगारी थप गर्ने लक्ष्य लिइएको थियो ।

अप्रिल महिनामा खानी, सामाजिक सहयोग, पर्यटकीय क्षेत्र र स्वास्थ्योपचारको क्षेत्रमा रोजगारी सिर्जना बढी देखिएको छ । त्यस्तै, बार र रेस्टुराँले लगातार रोजगारी सिर्जना गर्दै आएका छन् । यो उद्योगमा मात्रै १२ महिनाको अवधिमा २ लाख ६० हजार रोजगारी थपिएका छन् ।

अमेरिकाको हाल कायम भएको बेरोजगारी दर विगत १० वर्ष यताकै न्यून हो । अन्य मुलुकहरुबाट पढाई वा कामको शिलशिलामा अमेरिका जानेको संख्या दिनदिनै बढ्न थालेपछि विगत केही वर्षयता अमेरिकाले बढ्दो बेरोजगारी दरलाई नियन्त्रणमा राख्न सकेको थिएन । तर, यो वर्षको सुरुदेखि नै बेरोजगारी दर ०.६ प्रतिशतले ओरालो लागेको छ । बेरोजगारको संख्या आठ लाख ५४ हजार भन्दा कम रहेको अमेरिकी श्रम विभागले जनाएको छ । अप्रिलमा ज्यालामा पनि लगातार सुधार आएको छ । औसत घण्टाको कमाइमा ०.३ प्रतिशतले वृद्धि भएको छ । 

२०१७ मा मासिक एक लाख ८५ हजारको हाराहारीमा रोजगारी सिर्जना गरिने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दशकको अवधिमा २ करोड ५० लाख नयाँ रोजगारी सिर्जना गर्ने बताउँदै आएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]