May 9th, 2017

पुँजीवृद्धिका लागि हकप्रदको बाटो : दुई बैंकको हकप्रद खुला, ६ बैंकको छिटै आउँदै

रुपा कोइराला – पुँजीवृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयावधि सकिन थोरै समयमात्र बाँकी रहँदा बैंकहरुले हकप्रद निष्काशनलाई प्राथमिकतामा राखेका छन् । चालू आर्थिक वर्षभित्रमा नै आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कतिपय बैंकहरुले विभिन्न अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् भने कतिपय बैंकहरु निष्काशन गर्ने क्रममा छन् ।

लक्ष्मी बैंक लिमिटेडले गत वैशाख ३ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । जेठ ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा चैत्र १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद खरिद गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालय हरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर, नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले जनाएको छ । लक्ष्मी बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडले पनि गत बैशाख ७ गतेदेखि १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । जेठ १० गतेसम्म खुला रहने हकप्रदमा चैत्र २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।  
नेपाल बैंकले बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । 

यसबाहेक, केही समयभित्रै वाणिज्य बैंकहरुको मात्रै नौ करोड ८५ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन हुँदैछ । जम्मा छ वटा वाणिज्य बैंकहरुले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । यीमध्ये, तीन वटा बैंकले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाइसकेका छन् भने तीन वटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । 

नेपाल एसबीआई बैंक लिमिटेडले आगामी जेठ ७ गतेदेखि १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नैछ । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । 

त्यस्तै, सनराइज बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत वैशाख १५ गते स्वीकृति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

एभरेष्ट बैंकले पनि तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि गत वैशाख २० गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल एभरेष्टको चुक्तापुँजी चार अर्ब ५२ करोड ९१ लाख तीन हजार सात सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब तीन करोड ७९ लाख १२ हजार रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यीबाहेक, सिद्धार्थ बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र माछापूछ्रे बैंक लिमिटेडले पनि हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सिद्धार्थले १० बराबर तीनको अनुपातमा हकप्रद जारी गर्ने अन्मति माग गर्दै चैत २९ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल सिद्धार्थ बैंकको चुक्तापुँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी पौने सात अर्ब रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, प्रभुले १० बराबर चारको अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको छ । बैंकले एक सय रुपैयाँ अंमित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद जारी गर्ने अनुमति माग गर्दै गत वैशाख ८ गते बोर्डमा निवेदन दिएको हो । हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि प्रभुको चुक्तपुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ । 

माछापूछ्रे बैंकले १० बराबर १.२ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गर्दै गत वैशाख १० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल माछापूछ्रे बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सववा सात अर्ब रुपैयाँ नाघ्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]