May 5th, 2017

पशु बीमामा बढ्दै कृषकको आकर्षण, बाली बीमामा भने किन अनभिज्ञ ?

रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।

जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशु बीमा गरेको बताइएको छ । पशु बीमाप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ, सिंहले अगाडि थप्नुभयो । विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा बीमाङ्कको ९० प्रतिशतसम्म रकम किसानले पाउने गर्दछन् । हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको हँुदा त्यसको बीमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिए । पशु बीमाको अवधि एक वर्ष हुने बताइएको छ । बाली बीमाप्रति भने किसानको आकर्षण देखिएको छैन । किसानको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बीमा कार्यक्रम लागू गरेको भए पनि जिल्लामा हालसम्म एकजना किसानले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

“बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ निकट भविष्यमा नै बाली बीमाबारे सचेतीकरण गर्ने सोच बनाएका छौँ”, श्रेष्ठले भने । जिल्लाका गैरीगाउँ र बुढागाउँका किसानले टमाटरमा र जिनावाङका किसानले स्याउ खेतीमा बीमा गर्न थालेको श्रेष्ठले बताए । धेरैभन्दा धेरै किसानलाई बीमाको पहुँचमा ल्याउने गरी काम गर्छौं, श्रेष्ठले भन्नुभयो । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]