August 23rd, 2016

निर्जीवन कम्पनीहरुको नाफा ४० प्रतिशतले बढ्यो : लगानीबाट हुने आय घट्यो 

insuranceगत आर्थिक वर्ष ०७२/७३ मा निर्जीवन बीमा कम्पनीहरूले खुद मुनाफा झन्डै ४० प्रतिशतले बढाएका छन् । १५ निर्जीवन बीमा कम्पनीहरूले सो अवधिमा २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए । सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ३१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । युनाइटेड इन्स्योरेन्सले ८ करोड २५ लाख मुनाफा आर्जन गरेको छ । एभरेस्ट इन्स्योरेन्स, हिमालयन जनरलन इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीको खुद मुनाफा भने घटेको छ ।

गत आव कम्पनीहरूको लगानी तथा कर्जाबाट हुने आय घटे पनि जोखिमबापतको ठूलो रकम फिर्ता भएपछि नाफा बढेको हो । गत आवमा जोखिमवापतको ३ करोड १७ लाख रुपैयाँ फिर्ता भएको छ, जुन अघिल्लो आवको तुलनामा ९४ प्रतिशतले बढी हो । 

कम्पनीहरूको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा लगानी तथा कर्जाबाट हुने आय ४१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्ममा यो शीर्षकमा कम्पनीहरुको ५० करोड ८६ लाख रुपैयाँ आम्दानी भएको छ । अघिल्लो आवमा यस्तो आय ८६ करोड ५३ लाख थियो । भूकम्पका कारणले बीमा कम्पनीहरूले लगानीको क्षेत्र बढाउन नसक्दा यसबाट हुने आय पनि घटेको हो । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएपछि बैंकहरूले ब्याजदर घटाएकाले पनि बीमा कम्पनीको यस्तो आय घटेको हो । 

कम्पनीहरूले व्यवस्थापन खर्च भने बढाएका छन् । गत आवमा कम्पनीहरूले व्यवस्थापनमा अघिल्लो आवको तुलनामा करिब १४ प्रतिशतले बढाएर १६ करोड ८४ लाख खर्च गरेका छन् । आव अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले १४ करोड ७८ लाख रुपैयाँ खर्च गरेका थिए । गत आवमा निर्जीवन बीमा कम्पनीले बोनसका लागि ३० करोड ८९ लाख रकम विनियोजन गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]