November 20th, 2017

निजी क्षेत्रमा बैंकिङ लगानी ४.६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित बैंकिङ कर्जाको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो । 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशत, विकास बैंकहरुको ८.३ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १८.७ प्रतिशतले बढेको छ । 

कुन क्षेत्रमा कति कर्जा प्रवाह ?
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५.१ प्रतिशत रहेको थियो । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशत अर्थात १६ अर्ब ४४ करोड रुपैयाँले बढेर ८० अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको थियो । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १.७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रु. १ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा ६.७ प्रतिशतले तथा रियल स्टेट कर्जा ०.८ प्रतिशतले बढेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]