March 9th, 2017

एउटा सामाजिक संस्था अन्ततः बैंक बनेर छाड्यो (बन्धन बैंक भारतका सिईओ चन्द्रशेखर घोषको अनुभव)

स्वावलम्बन विकास केन्द्रको आयोजनामा ‘एनजिओबाट बैंकसम्मको यात्रा, बन्धन बैंक भारतको अनुभव’ नामक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार काठमाडौंको एल्लो प्यागोडा होटल कान्तिपथमा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा बन्धन बैंक भारतका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखर घोषले एनजिओदेखि बैंकसम्मको यात्राको अनुभव सुनाए ।

एउटा सामाजिक कार्य गर्नका लागि स्थापना भएको गैर सरकारी संस्था (एनजिओ) बैंकमा रुपान्तरण हुनु त्यति सजिलो नभए पनि आफ्नो लगनशीलता र केहि नजिकका मित्रहरुको सहयोग र आत्मविश्वासका कारण एनजिओलाई बैंक बनाउन सफल भएको सिइओ घोषले बताए । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै घोषले भने –‘सुरुसुरुमा मेरो परिवार र इष्टमित्रले समेत यसलाई स्वीकार गरेका थिएनन्, तर पछाडीबाट यसमा मलाई मेरो सालोले भने साथ दिएको थियो । लगातारको लगनशीलताका कारण अन्ततः बैंक बनाउन सफल भईयो ।’ 

कार्यक्रमका सभापति समेत रहेका स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बन्धन बैंकको अनुभवबाट नेपाली लघुवित्तहरुले पाठ सिक्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने –‘बन्धन बैंक भारतका सिईओ घोषबाट बैंकको अनुभव सुन्ने हामीले जुन अवसर पाएका छौं, यसबाट हामीले केहि पाठ सिक्नु पर्दछ ।’ कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख शंकरनाथ कपालीले स्वागत मन्तव्य राख्दै आफ्नो व्यस्तताका बावजुत नेपाल आएर आफ्नो अनुभव सुनाई दिनुभएकोमा बन्धन बैंक भारतका सिईओ घोषलाई धन्यवाद दिए । 

कसरी सफल भयो बन्धन बैंक ?
२०१५ को जुन महिनामा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट सञ्चालन अनुमति पाएको बन्धन बैंकले अगस्ट २३, २०१५ मा कोलकाताबाट कारोबार सुरु गरेको थियो । भारतको सबैभन्दा ठूलो लघुवित्त संस्था बन्धन फाइनान्सियल सर्भिसेज लिमिटेड (बीएफएसएल)को स्वामित्वमा रहेको बन्धन बैंकको सर्वसाधारण लगानीकर्ताहरुमा इन्टरनेशनल फाइनान्सियल कर्पोरेसन (आईएफसी), स्मल इन्टस्ट्रीज डेभलपमेन्ट बैंक अफ इन्डिया (एसआईडीबीआई) र सिंगापूरको एक सार्वभौम सम्पत्ति कोष जीआईसी रहेका छन् । 

सन् २००१ मा चन्द्र शेखर घोषको नेतृत्वमा सुरु भएको बीएफएसएलले बैंकिङ पहुँचबाहिर रहेका साना ऋणीहरुलाई ऋण दिने गर्दथ्यो । स्थापनाको १४ वर्षमा, बीएफएसएलले विश्वसनियता, थुप्रै साना व्यवसायीहरु तथा झन्डै ६.७ मिलियन महिला ऋणीहरु कमायो । यो संस्थाले २२ भारतीय प्रान्तमा रहेका दुई हजार २२ शाखा तथा १३ हजार कर्मचारीमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको थियो । ३१ मार्च २०१५ सम्ममा बीएफएसएलले झन्डै शतप्रतिशत असुलीको साथमा नौ हजार पाँच सय २४ करोड भारतीय रुपया कर्जा प्रवाह गरेको थियो । 

५०१ शाखा र ५० एटीएमबाट पहिलो दिनको कारोबार सुरु गरेको बन्धन बैंकका लागि बीएफएसएलका सबै शाखाहरुलाई डोरस्टेप सर्भिस सेन्टरमा परिणत गरिएको थियो । हाल, बन्धन बैंकले ३३ भारतीय प्रान्तहरुमा ८२६ शाखा, २४३७ डोरस्टेप सर्भिस सेन्टर र २८१ एटीएमहरुबाट १० मिलियनभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । यो बैंकमा हाल २३ हजार सात सय ५० जना कर्मचारी छन् । स्थापनाकालदेखि  हालसम्म यो बैंकले २०,८०० करोडभन्दा बढी निक्षेप संकलन गरी २१,२९० करोड कर्जा प्रवाह गरेको छ । यो बैंकको सेवालाई जेनेरल बैंकिङ र माइक्रो बैंकिङ गरी दुई भागमा वर्गीकरण गरिएको छ । हाल यो बैंकमा सेभिङ एकाउन्टको व्याजदर एक लाखभन्दा बढीका लागि ६ प्रतिशत र एक लाख सम्मका लागि ४.२५ प्रतिशत रहेको छ । टर्म डिपोजिटको हकमा भने अधिकतम ७.७० प्रतिशत प्रतिवर्ष (ज्येष्ठ नागरिकका लागि ०.५ प्रतिशत थप) व्याज प्रदान गर्दै आएको छ ।  

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह तथा बिभिन्न लघुवित्त, लघुवित्त सम्बन्धि काम गर्ने सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेका थिए । स्वावलम्बन विकास केन्द्र संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको एक सँस्था हो । यस विकास केन्द्रले लघुवित्त संस्थाहरुका बिषयमा अति आवश्यक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]