July 13th, 2017

नेपालमा जीवन बीमाको अबस्था (रिपोर्टसहित)

बीमा समितिले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ । जीवन बीमा भन्नाले एउटा लामो करार हो, जुन आज भएको करारले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ । यदि विमीतको बीमा समय अवधि बिचमै अकालमा मृत्यु हुन गएमा विमा कम्पनिसगं भएको करारको आधारमा बीमा कम्पनिले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाकं फिर्ता गर्दछ । यो नै बीमाको नियम हो ।

जीवन बीमाका पनि विभिन्न प्रकारहरु रहेका छन् । जीवन बीमाका प्रकारहरुलाई यसरी उल्लेख गरिएको छः
 

आजीवन जीवन बीमा 
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धा्रित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

सावधिक जीवन बीमा 
निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

म्यादी जीवन बीमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । 

नेपालमा बीमाको सुरुवात
नेपालमा बीमा व्यवसायको सुरुवातका सम्बन्धमा बीमा विज्ञ चन्द सिंह साउद लेख्छन–‘नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टर (कम्पनिको प्रतिनिधि) मार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ । बैंकिङ कारोबारको बृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।

बीमाको महत्व र आबश्यकता 
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) लाई कहिलै पनि घाटा हुँदैन । 
बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनिमा क्षति हुँदा वा उक्त कम्पनि डुवेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनिको पनि बीमा गरिएको भन्ने हो ।   
बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ । 
जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ । आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन । पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।

हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु :
हाल नेपालमा नौ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।
१. राष्ट्रिय बीमा संस्थान
२. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
३. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
४. लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड
५. मेटलाइफ एलिको
६. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
७. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
८. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
९. सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

भर्खरै अनुमति पाएका जीवन बीमा कम्पनीहरु :
१० वटा जीवन बीमाहरुले हालै सञ्चालनको अनुमति पाएका छन् । यी कम्पनीहरु छिटै नै व्यवसाय सुरु गर्ने तयारीमा लागेका छन् ।
१. रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
२. सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
३. स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
४. रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
५. सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
६. आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
७. सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
८. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
९. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१०. महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]