December 9th, 2020

विद्युतीय कारोबारमा बढ्यो आकर्षणः तीन महिनामै ६३ खर्बको कारोबार

आकाश बोगटी, बैंकिङ खबर । पछिल्लो समय विद्युतयि कारोबारमा आकर्षण बढेको छ । खासगरी कोरोना महामारीपछि सर्वसाधारणहरुको आकर्षण विद्युतीय कारोबारमा देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै करिब ६४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनाको अवधीमा भएका ९ करोड ३ लाख ६० हजार ९ सय ८८ वटा विद्युतीय कारोबारबाट ६३ खर्ब ८ अर्ब रुपैयाँको कारोबार भएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल पछिल्लो समय विद्युतीय कारोबारमा निकै प्रगति भएको बताउँछन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन गर्यो । लकडाउनका बेला पनि बैंकहरु खुला भए । यद्यपि, राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघले समेत सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको थियो ।

कोरोनाकै समयमा धेरै विद्युतिय कारोबारमा आकर्षण बढेको सहायक प्रवक्ता पोखरेलको भनाई छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पहिलो तीन महिनामा ३४ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको आटिजिएसबाट कारोबार भएको छ । यो अवधिमा एटिएममार्फत १ खर्ब १७ अर्ब रुपैयाँ र आइपिएसबाट ५ खर्ब ४३ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तै कनेक्ट आइपिएसबाट १ खर्ब ९८ अर्ब रुपैयाँ र डेविट कार्डमार्फत १ खर्ब २४ अर्ब रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले बताएको छ ।

यस अवधीमा क्रेडिट कार्डमार्फत १ अर्ब ८७ करोडको कारोबारहुँदा १४ करोड रुपैयाँको कारोबारमा भने प्रिपेड कार्डको प्रयोग भएको छ । इन्टनेट बैंकिङबाट १४ अर्ब र मोबाइल बैंकिङमार्फत ६७ अर्ब रुपैयाँको कारोबार भएको छ । मोबाइल वालेटको प्रयोग गरी २४ अर्बको कारोबार भएको छ भने क्युआर कोडमार्फत २ अर्ब रुपैयाँ भुक्तानी गरिएको राष्ट्र बैंकले बताएको छ ।

यस्तै कार्डको प्रयोग गरी अनलाइनमार्फत २ अर्ब रुपैयाँको इ–कर्मस भुक्तानी भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । तर तीन महिनामै भएको विद्युतीय कारोबारको यो आँकडा भने उल्लेख्निय हो । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहनको नीति लिएपनि कोरोना महामारीअघि सीमित मात्रामा मात्रै विद्युतीय कारोबार हुने गरेको थियो ।

तर कोरोना महामारीसँगैको लकडाउन र निषेधाज्ञाले विद्युतीय कारोबारलाई बढाउन सघाए । लकडाउनमा लामो समयसम्म बैंक बन्द रहे । त्यसपछि खुलेका बैंकमा पनि कोरोना संक्रमणको जोखिमका कारण बैंकका शाखामै पुगेर कारोबार गर्ने घटे ।

लकडाउन अवधिभर बैंकले कारोबारमा प्रोत्साहन गरे । अन्तर बैंक एटीएम प्रयोगमा शूल्क नलाग्ने व्यवस्था गरिएको थियो भने विद्युतीय कारोबारमा पैसा नलाग्ने व्यवस्था थियो । यी व्यवस्थाले विद्युतीय कारोबार बढ्न सघाए । यसले सरल र सस्तो बनाइउँदा विद्युतीय कारोबार बढ्ने र नोटको प्रयोगसँगै बैंकका शाखामा सेवाग्राहीको भीड कमहुँदै जाने देखाएको छ ।

तर लकडाउनका क्रममा हटाइएको शुल्क बैंकको नाफामा असर गर्ने भन्दै अहिले फेरि असुल्न थालिएको छ । यसले विस्तारै बिस्तारै विद्युतीय कारोबारतर्फ आकर्षित भएको जमातलाई निरुत्साहित गर्ने जोखिम बढाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]