March 30th, 2020

इटाली : कोरोना संक्रमण बढ्दैछ, बैंकिङ क्षेत्रले सेवा दिन छाडेको छैन

बैंकिङ खबर । यस्तो संकटको अवस्थामा पनि युरोपका बैंकहरु सेवारत छन् । यद्यपि, केही बैंकहरुले सिमित शाखाबाट सेवा दिएका छन् । सेभिङ बैंकहरु प्रायः बन्द छन् । इटालीका बैंकहरुले कार्यालय समय घटाएका छन् । केही बैंकहरुले विहान मात्रै सेवा दिइरहेका छन् भने केही हप्तामा तीन दिनमात्रै खुल्ने गरेका छन् । बैंक शाखा बन्द भएपछि डिजिटल बैंकिङतर्फ प्रोत्साहन गरिरहेका छन् । बेलायत, स्पेन र फ्रान्सकाअधिकांश बैंकहरु खुला छन् । केही शाखाहरु बन्द भएता पनि बैंकका कर्मचारीहरु ग्राहकको सेवामा भने खटिरहेका छन् । अनलाइन बैंकिङको सीमा बढाएर वाडिजिटल बैंकिङमा थप सुविधाहरु प्रदान गरेर सकेसम्म अनलाइन बैंकिङतर्फ ग्राहकलाई प्रोत्साहन गर्ने प्रयास भइरहेको छ । वित्तीय समस्यामा रहेका ग्राहकहरुलाई सहयोग गर्नका लागि बैंकहरुले आआफ्नै हिसाबले टिम समेत खडा गरेका छन् । जसकारण अहिलेसम्म ग्राहकलाई असुविधा भएको गुनासो सुन्नु नपरेको बैंकरहरु बताउँछन् । कोरोना भाइरसको कारण आर्थिक असर कम गर्नका लागि केन्द्रीय बैंकले ७५० विलियन युरो बराबरको सार्वजनिक वा निजी ऋणपत्र खरिद गर्न लागेको छ । युरोपेली मुलुकहरुका सरकारहरु आआफ्नै तवरबाट पनि घरपरिवारहरुलाई सहयोग गरिरहेका छन् ।

कर्जा लिएका व्यक्ति क्वारेन्टाइनमा, खराव कर्जा झन् झन् बढ्दै

युरोपको बैंकिङ क्षेत्रमा निक्षेप जम्मा गर्नेभन्दा झिक्नेको संख्या बढ्न थालेपछि कर्जा संकट देखिन थालेको छ भने कर्जा चुक्ता गर्नुपर्ने ऋणीहरु क्वारेन्टाइनमा भएका कारण खराब कर्जाको मात्रा आकाशिएको छ । साना तथा मझौला व्यवसायहरु बन्द भएका कारण खराब कर्जा अझै बढ्ने अनुमान गरिएको छ । अहिलेको अवस्थामा बैंकिङ क्षेत्रमा कोरोनाको यति नै प्रभाव पर्छ भनेर यकिन गर्न नसकिने विश्लेषकहरु बताउँछन् । इटाली, स्पेन, बेल्जियम र फ्रान्स पूर्ण रुपमा लक डाउनको अवस्थामा छन् । यी देशहरुमा आर्थिक गतिविधि एकदमै न्यून छ । मानिसहरु बाहिर निस्किएका छैनन् । स्कुल कलेजहरु बन्द छन् । स्वरोजगारहरुको आम्दानी घटेको छ । हवाई यातायात बन्द छ भने पर्यटन व्यवसाय पूर्ण रुपमा ठप्प छ । सबै व्यवसायतर्फको आम्दानी घटेका कारण कर्जा संकटको जोखिम बढ्दो रुपमा रहेको विश्लेषकहरुले बताएका छन् ।

भर्खर तङरग्रिदै थिए बैंकहरु
कोरोना भाइरसको प्रभाव युरोपमा अत्याधिक परेको छ । विशेष गरी इटाली र स्पेनको अवस्था एकदमै नाजुक रहेको छ । महामारीका कारण आर्थिक गतिविधिहरु बन्द भएपछि बैंकिङ क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ । यहाँ सन् २००८ को वित्तीय संकटबाट भर्खरै माथि उठेको बैंकिङ क्षेत्रमा अर्को संकट आइपरेको छ । २००८ को संकटपछि युरोपको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आयो । बैंकहरुको स्तर खस्किएको थियो । त्यसपछि हालसम्म बैंकहरु सोही संकटबाट खस्केको अवस्था सम्हाल्दै पुरानै अवस्थामा फर्किने प्रक्रियामा थिए । अझै पनि २००८ अघिको तुलनामा युरोपको बैंकिङ अवस्था माथि उठ्न सकेको छैन । अहिले झन् नाजुक अवस्था भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]