December 26th, 2018

ऋणीले तत्काल व्याजमा राहत नपाउने

बैंकिङ खबर । बैंकहरुले ग्राहकलाई दिने व्याजदर घटाए । घटेको व्याजदरबाट ऋणीले पनि राहत पाउने आश गरेका थिए।

तर पनि पुरानो ऋणको व्याजदर भने तत्काल नघट्ने भएको छ । यद्यपी अब ऋणको व्याजदर बढ्ने क्रम भने रोकिएको बैंकर बताउँछन् ।

व्यक्तिगत मुद्दतीमा १३ प्रतिशत व्याज दिनुअघिकै दरमा अहिले निक्षेपको व्याजदर झरेकाले आगामी दिनमा आधार व्याजदर भने बढ्न नपाउने बैंकरको भनाई छ।

अर्कोतर्फ मुद्दतीको १३ प्रतिशत व्याजदरका कारण कतिपय बैंकको आधार व्याजदर तत्काल घट्ने अवस्था नरहेको एक बैंकरले बताए । ‘नयाँ व्याजदरको सहमतिपछि आउने निक्षेपले समग्र आधार व्याजदरमा तत्काल त्यति ठूलो बल पर्दैन’ उनले भने ‘त्यसकारण तत्काल आधार व्याजदर पनि त्यति धेरै घट्दैन ।’ यदी यो सहमति कायम भइरहेमा भने आगामी ६ महिनापछि व्याजदर सामान्य दरमा घट्न सक्ने बैंकर बताउँछन् ।

बचतमा साढे ६ प्रतिशतको व्याजदरमा सहमति हुनुपहिले अधिकतम ७ प्रतिशत तोकिएको थियो। त्यो पनि सीमित बैंकबाहेक धेरैले पुर्याएका थिएनन् । त्यस्तै संस्थागत मुद्दतीमा ९ प्रतिशत थियो भने अहिले साढे ८ प्रतिशत छ। नयाँ व्याजदर थोरै घटेको र अब थपिने निक्षेपले मात्रै आधार व्याजदरमा प्रभाव पर्ने हो ।

यद्यपी पुस मसान्तमा राजश्व बुझाउनुपर्ने भएकाले यस अवधिमा निक्षेप धेरै नबढ्ने बरु घट्न सक्ने अवस्था आउने छ। डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले प्राथमिकताप्राप्त क्षेत्रमा जाने कर्जामा आधार व्याजदरको अधिकतम २ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था गर्न भनेको छ।

यो व्यवस्थालाई कार्यान्वयनमा लैजाँदा अब प्राथमिकता प्राप्त क्षेत्रमा ऋण लिनेलाई भने केही राहत पुग्न सक्छ। त्यस्तै प्रतिवेदनले चैत मसान्तसम्म स्प्रेड रेट घटाएर ४. ७५ प्रतिशतभित्र राख्न सुझाव दिएको छ। तर अहिले पनि ५/६ वटाबाहेक धेरै बैंकको स्प्रेड रेट सोभन्दा मुनि नै छ। त्यसकारण स्प्रेड रेटले पनि व्याजदर घटाउने संभावना नरहेको बैंकरको बुझाई छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]