April 13th, 2018

बैंकिङ क्षेत्रमा अत्यन्तै कम प्रयोग भएका प्रविधिहरु

बैंकिङ खबर । अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङ, अनलाइन बैंक खाता, अनलाइन आस्वा सेवा, भाइबर बैंकिङ लगायत विभिन्न प्रविधिहरु  नेपालका बैंकहरुले भित्र्याइरहेका छन् । यद्यपि, बैंकिङ प्रविधिहरुको प्रयोग बढ्न सकेको छैन ।

इन्टरनेट बैंकिङलाई पछिल्लो प्रभावकारी प्रविधिको रुपमा लिन सकिन्छ । यो प्रविधिको प्रयोगमार्फत कुनै निश्चित बैंकका जुनसुकै शाखा कार्यालयबाट सजिलै पैसाको कारोबार गर्न सकिन्छ । यस्तो सुविधालाई एबिबिएस सेवा भनिन्छ । यस्तो सुविधा प्रायः सबै वाणिज्य बैंकहरू र केही विकास बैंक तथा फाइनान्स कम्पनीहरूले दिइरहेका छन् ।

एटिएम अर्थात् जुनसुकै समयमा पैसा निकाल्न सकिने मेसिनको सुविधा प्रायः सहरी क्षेत्रमा विस्तार भैसकेको छ । यस्तै भर्खरै सुरु भइरहेको अर्को प्रविधि भनेको पैसा जम्मा गर्ने मेसिनको प्रयोग हो । यसको प्रयोग सामान्य रूपमा गर्न सकिन्छ । प्रविधिको विकासले थोरै जनशक्ति परिचालनबाट छिटो रूपमा धेरै काम गर्न सकिन्छ । जसले गर्दा आन्तरिक खर्चमा कमी आई मुनाफा कमाउने सम्भावना बढी हुने बैंकरहरुले राम्रै सँग बुझेका छन् । त्यही कारण अधिकांश बैंकहरु प्रविधिप्रति चाख दिएर यसलाई अवलम्बन गर्नतिर अग्रसर छन् ।

यद्यपि, बैंकिङ पहुँच र वित्तीय साक्षरता अभिवृद्धि नै चुनौतिपूर्ण बनिरहेको अवस्थामा बैंकिङ प्रविधिका प्रयोगकर्ताको संख्या अत्यन्त न्युन रहेको छ । 

क्रेडिट कार्ड 
नेपालमा क्रेडिट क्रेडिट कार्डको प्रयोग अत्यन्त न्युन हुने गरेको छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यसैले यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्ने चलन छ । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर, त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । बचतका लागि खर्च कम गर्ने नेपालीहरु क्रेडिट कार्ड प्रयोग गर्दा खर्च बढ्ने सोच्छन् । अर्कोतर्फ क्रेडिट कार्डबाट सामान खरिद गर्ने व्यवस्था नेपालका बजारहरुमा छैन । यसकारण क्रेडिट कार्ड सुरुवात भएको लामो समय भएतापनि प्रयोगकर्ता ज्यादै न्युन रहेका छन् ।

टेलि बैंकिङ सेवा 
फोनबाटै गरिने बैंकिङ कारोबार टेलि अर्थात टेलिफोन बैंकिङ हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गर्छ । यद्यपि, नेपालीहरुलाई बैंकमा नै गएर लाइन बस्ने बानी परेको छ । नेपालीहरुले रकम ट्रान्सफर गर्नका लागि आफ्नो खाताबाट पैसा निकालेर अर्को खातामा जम्मा गर्नेसम्मको झन्झट गरिरहेका छन् । हुन त टेलिबैंकिङभन्दा सहज अन्य प्रविधिहरु आइसक्दा पनि मानिसहरु बैंकसम्म नै धाइरहेका छन् । 

मोबाइल वालेट
मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ । यद्यपि, अझै पनि नेपालीहरु एटिएमबाट पैसा निकालेर पसलबाट रिचार्ज किन्छन्, बैंकमा चेक साटेर स्कुल फी बुझाउँछन् । 

अनलाइन बैंक खाता
अनलाइनमार्फत खाता खोल्न सकिने सुविधा बैंकहरुले भर्खरै दिन थालेका हुन् । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले बैंकहरुले उक्त बचत खाता संचालनमा ल्याएका हुन् । अनलाइन बचत खाताअन्तर्गत ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । अनलाइनबाट बैंक खाता खोल्ने सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ । यद्यपि, यसको प्रयोगमा पनि आकर्षण देखि सकेको छैन ।

भाइबर बैंकिङ
भाइबर प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर कतिपय बैंकले भाइबर बैंकिङ सेवा पनि दिन थालेका छन् । अहिले अधिकांश बैंकहरुले यो सेवा सुरु गरेका छन् । मोबाइल बैंकिङ प्रयोग गरिरहेका ग्राहकहरुले यो सुविधा लिन सक्नेछन् । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । ग्राहकले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । यसको प्रयोग पनि कमै मात्रामा हुने गरेको छ ।

किन कम प्रयोग हुन्छन् बैंकिङ प्रविधि ?
सर्वसाधारणमा प्रविधिसम्बन्धी जानकारीको कमी हुँदा बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकहरु क्यासलेश ट्रान्ज्याक्सनमा जाने योजना बनाइरहेका छन् । सर्वसाधारणहरु बैंकिङ कार्डहरुको प्रयोगमा समेत झन्झट मान्छन् । बैंकिङ प्रविधिले जुनसुकै स्थानमा बसेर पनि विभिन्न बिलहरु तिर्ने, हातमा कागजी नोट नबोकी सपिङ गर्ने, बैंकमा नपुगी मोबाइलबाटै कारोबार गर्नेसम्मका सुविधाहरु प्रदान गरेका छन् । यद्यपि, कतिपय सर्वसाधारणलाई यसबारेमा जानकारी नै छैन । कतिपयले भने प्रविधिको प्रयोग नै गर्न जाने छैनन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]