November 26th, 2022

विनोद चौधरीः डलर अर्बपतिदेखि निर्वाचित सांसदसम्म

बैंकिङ खबर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद चौधरी अब भने प्रत्यक्ष निर्वाचित हुनुभएको छ । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गर्नुभयो । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो ।

को हुन् विनोद चौधरी

विसं २०१२ वैशाख १ गते जन्मनु भएका चौधरी काठमाडौं महानगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहनुभएका उहाँ विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । दल प्रवेश गरेसँगै उहाँ संविधानसभा सदस्य बन्नुभएको थियो । नेकपा एमालेबाट समानुपातिक सभासद बन्नुभएका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहनुभए पनि उहाँले चुनाव लड्नु भएन ।

विसं २०७४ मा भएको संघीय संसद् निर्वाचन अघि उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो र समानुपातिकतर्फको सांसद बन्नुभयो । यो अवधिमा उहाँले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गर्नुभयो । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिनु भयो । ‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आउनुभएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढ्नुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा उहाँले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उहाँले बताउँदै आउनुभएको छ ।

संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ । उहाँ सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासंघ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसंघको अध्यक्ष बन्नुभएको थियो । त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उहाँ रहनु भएको थियो । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गर्नुभएको थियो ।

डलर अर्बपति

व्यवसायलाई विस्तार गर्दै उहाँ एक सफल उद्योगी बन्नुभएको छ । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुनुहुन्छ । फोब्र्सको अर्बपति सूचीमा अहिले उहाँ एक हजार नौ सय २९औँ स्थानमा हुनुहुन्छ । विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहनुभएको छ । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ ।

उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उहाँ शास्वत धाम नवलपरासीका संस्थापक पनि हुनुहुन्छ ।

चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ । उहाँका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् ।

नवलपरासीलाई समृद्ध बनाउन विनोद चौधरीका ३१ योजना

१.नवलपरासी निर्वाचन क्षेत्र नं. १ लाई विकास र समृद्धिमा लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रुपमा स्थापित गर्ने ।
२.सडक (पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, पालिका एवं भन्सार नाका जोड्ने भित्री सडकहरु र बाटोघाटो) स्तरीय बनाइने ।
३.सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षालयको स्थापना एवं सञ्चालनका साथै स्नातकोत्तर अध्ययनको व्यवस्था मिलाइने ।
४.सरकारी विद्यालयमा डिजिटल क्लासरुम र ई–पुस्तकालयको व्यवस्था गरिने ।
५. यस निर्वाचन क्षेत्रका हरेक नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइने ।
६.यस निर्वाचन क्षेत्रका युवाहरुलाई उद्यमशीलतासँग जोड्न विभिन्न स्वरोजगारमूलक तालिमका साथै सीपमूलक कार्यक्रम सञ्चालन गरिने ।
७.श्रृजनशील व्यावसायिक सोच भएका तर पूँजीको अभावमा आफ्नो सोच कार्यान्वयन गर्न नपाएका युवाहरुलाई ‘स्टार्टअप फण्ड’सँग जोडिने ।
८. सूचना प्रविधिसँग सम्बन्धित परियोजनाहरुलाई कार्यान्वयनमा लैजान युवाहरुका योजनालाई नेपाल राष्ट्र बैंकको नीति बमोजिम बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा लगानी गर्ने वातावरण मिलाइने ।
९. यस क्षेत्रबाट वैदेशिक रोजगारीमा गएका वा जान बाध्य हुने युवाहरुलाई स्थानीय तहमै रोजगारी एवं स्वरोजगारीका अवसरहरु उपलब्ध गराने ।
१०.निर्वाचन क्षेत्रलाई केराखेती विशेष क्षेत्रका रुपमा स्थापित गरिनेछ ।
११.यस निर्वाचन क्षेत्रमा केरा उत्पादक किसानहरुलाई प्रत्यक्ष लाभको सुनिश्चितताका लागि केरामा आधारित उद्योग स्थापना गर्न आवश्यक सहजीकरण गरिने ।
१२. यस निर्वाचन क्षेत्रमा भारतमा निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ औद्योगिक ग्राम स्थापनाका लागि विशेष पहल लिइने ।
१३. महिलाहरुलाई लक्षित गरेर महिला सीप विकास एवं लघु उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिने ।
१४.यस निर्वाचन क्षेत्रका नागरिकका समस्या समाधानका लागि सहजीकरण गर्न निर्वाचन क्षेत्रमा सांसदको सचिवालय स्थापना गरिने
१५. उखु किसानले हाल भोग्दै आएको भुक्तानीको समस्या अन्त्य गरिने ।
१६.किसानलाई नगदे बालीमा प्रोत्साहन गरी दीर्घकालीन आयको सुनिश्चितता गर्ने वातावरण तयार गरिने ।
१७. सिचाइँमा आधारित धान, गहुँलगायतका परम्परागत खेतीलाई व्यवसायीकरण गरी किसानको आयआर्जनको दीगो वातावरण मिलाइने ।
१८. किसानले वर्षौंदेखि भोग्दै आएका रसायनिक मल, बीउबिजनको समस्यालाई अन्त्य गर्न माग अनुसारको आपूर्ती गर्ने व्यवस्था मिलाइने ।
१९. आर्सेनिकका कारण शुद्ध खानेपानीको समस्या व्यहोरिरहेका नागरिकहरुलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने कामलाई दु्रत गतिमा अगाडि बढाइने ।
२०.कुनै दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएका यस निर्वाचन क्षेत्रका नागरिकलाई कृत्रिम हातखुट्टाको निःशुल्क व्यवस्था मिलाउन उनीहरुलाई ‘सवल केन्द्र’सँग जोडिने ।
२१.सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको सहजता र गुणस्तरलाई विशेष प्राथमिकता दिई आमनागरिकले बिना कुनै झन्झट सेवा पाउने वातावरण तयार गरिने ।
२२.भारतसँग जोडिएका यी नाकाहरुमार्फत् नेपाल–भारतबीच आयात निर्यात व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार र भारत सरकारबीच कुटनीतिक पहल गरिने ।
२३.यस निर्वाचन क्षेत्रमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गरिने ।
२४.यस निर्वाचन क्षेत्रमा सम्बन्धित निकायबाट सहजरुपमा जग्गाधनी प्रमाणपत्र पुर्जा दिलाउन पहल गरिने ।
२५.भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारकासँग समन्वय गरी समस्या समाधान गरिने ।
२६. पर्यटन प्रवद्र्धन गर्न यस क्षेत्रभित्र रहेका र योसँग जोडिएका त्रिवेणीधाम, रामग्राम, बुद्धमंगल ताल, कञ्चनगढी, संसारीकोट, त्रिनेत्रधामलगायत अन्य धार्मिक एवं पर्यटकीय स्थलहरुको अध्ययन गरी पूर्वाधार विकासमा जोड दिइने ।
२७. सीमा क्षेत्रमा रहेका नेपाली भूमि बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिन पाउने व्यवस्था गरिने ।
२८. पिछडिएका मुसहरका लागि आवासको उचित व्यवस्था मिलाइने ।
२९.डुबानबाट प्रभावित घरधुरीको वास्तविक अवस्था अध्ययन गरी सुरक्षित आवासको वैकल्पिक व्यवस्थाका लागि पहल गरिने ।
३०. यस क्षेत्रमा खेलकुदको विकास गर्न रंगशाला लगायत विभिन्न कार्यक्रमहरु तय गरिने ।
३१.गण्डक परियोजनाबाट पूर्णक्षमतामा विद्युत् उत्पादन गर्न नेपाल र भारततर्फका सम्बन्धित निकायहरुसँग समन्वय गरी विद्यमान समस्याको समाधान गरिने ।

प्रतिवद्धता पूरा गर्न तयार छुः चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का नवनिर्वाचित सांसद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ । चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उहाँको भनाइ थियो । ‘चुनावको समयमा मतदातासँग गरेको प्रतिवद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिवद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न’, चौधरीले भन्नुभयो ‘जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उहाँको भनाइ थियो । ‘यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]