November 26th, 2022

काठमाडौंका ११८ सहकारीविरुद्ध उजुरी

बैंकिङ खबर/ काठमाडौं महानगरपालिका अन्तर्गत रहेका ११८ वटा सहकारीविरुद्ध उजुरी परेको छ । बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारणसभा नबोलाएको, कार्यसमिति विवाद, ऋण असुली जस्ता विषयका कारण उजुरी परेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो ।

महानगरको सहकारी विभागका काम र योजनाका विषयमा भएको छलफलमा उजुरीमध्ये ७१ वटा आफैं हेरिरहेको र ४७ वटालाई कारवाहीका लागि प्रहरीमा सिफारीस गरेको जानकारी दिइयो । छलफलमा उपप्रमुख डंगोलले जनताले जम्मा गर्ने बचत रकमको जोखिम घटाउन सहकारीमा नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो । कार्यपालिका अन्तर्गत सहकारी समिति गठन गरेपछि अनुगमनलाई तीब्र बनाइने उहाँको भनाइ छ ।

गत बुधबार भएको कार्यपालिकाको बैठकमा मेयर वालेन्द्र शाहले चाटर्ड एकाउन्टेन्ट सहित सहकारी समिति बनाउने प्रस्ताव गर्नुभएको थियो । कार्यपालिकाले निर्णय गरेपनि अहिलेसम्म समिति निर्माण भने हुन सकेको छैन । महानगरपालिका अन्तर्गत हाल १ हजार ९५५ वटा सहकारी दर्ता छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण, २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य ५ वटा रहेका छन् ।

महानगरले मर्जरका लागि २७ वटाको सिफारिस बागमती प्रदेशमा पठाइएको छ । कुल १ हजार ९५५ मध्ये चालु आर्थिक बर्षमा १८५ वटा सहकारी अद्यावधिक भएका छन् । २ वटा सहकारी संकटग्रस्त छन् भने क्षेत्र विस्तार गरेर कार्यस्थल स्थानान्तरण गरिएका २ वटा छन् ।

महानगरपालिकाले ५ बर्षदेखि साधारण सभा नियमित भएका, कोपोमिसमा अद्यावधिक भएका, ५ देखि १० करोड रुपैयाँसम्म प्राथमिक पुँजी भएका र समुदायमा आधारित भएर सञ्चालनमा रहेका सहकारीलाई विभागले उत्तम अर्थात ‘क’ बर्गका सहकारीका वर्गीकरणमा राखेको छ ।

साधारणसभा नियमित नभएका, जरिवाना तिरेका, वचत फिर्ता गर्न उजुरी परेका सहकारीलाई शंकास्पद अर्थात ‘ख’ वर्गमा, प्रहरीमा उजुरी परेका, अदालतमा मुद्दा परेका र पदाधिकारी फरार रहेका सहकारीहरुलाई जोखिमपूर्ण अर्थात ‘ग’ वर्गमा राखेको छ ।

पदाधिकारी फरार, विवाद, ऋण प्रवाह, असुली, भुक्तानी, वचत फिर्ता, सम्पत्ति व्यवस्थापनजस्ता कारणले संकटमा परेकालाई संकटग्रस्त अर्थात् ‘घ’ वर्गका सहकारीमा राखिएको छ भने गएको १० बर्षदेखि अद्यावधिक नभइ सम्पर्क बिहीन भइ बसेकालाई निष्क्रिय सहकारी अर्थात् ‘ङ’ वर्गमा राखिएको महानगरले जनाएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]