April 30th, 2022

वस्तु विनिमयबाट शुरु भएको नेपालको बैंकिङ इतिहास

इतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन ।

यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमय 

आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गर्नु नै वस्तु विनिमय हो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । वस्तु–विनिमय गर्दा अनेकौँ किसीमका कठिनाईहरु झेल्नुपर्ने स्थिती थियो ।

गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो ।

अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । यो एउटा उदाहरण मात्रै हो । तपाई परिकल्पना गर्नुहोस् त भैसीपालन छोडेर बाख्रापालन गर्न चाहनेले कती सास्ती खेप्नुपथ्र्यो होेला ? यद्यपी समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

सिक्का तथा मुद्राको विकास 

कौडि : विनिमयको पहिलो अभ्यास 

विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले ।

त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।

मुद्रा : कारोबारमा सरलता 

वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो ।  मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । मुद्राको प्रयोगले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो । त्यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

नेपालमा कागजी नोटहरु

नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो ।

हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

आधुनिक बैंकिङ : सहज पार्दैछ जिवन 
आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको छ ।

विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ ।

विनिमयको लागी चेकको प्रयोग

आधुनिक बैंकिङ प्रणालीको विकाससँगै चेकको प्रयोग विनिमय योग्य साधनको रुपमा गरिन थालियो । २० औँ शताब्दी यता एउटा खाताबाट अर्को खातामा रकमान्तर गर्न चेकको प्रयोग धेरै मात्रामा भयो । प्रविधिको विकाससँगै ईलेक्ट्रोनिक माध्यमको प्रयोगका कारणले चेकको प्रयोगमा केही कमी आएको छ । 

डेविट / क्रेडिट कार्ड

विज्ञान र सुचना प्रविधिको विकाससँगै ट्राभल एजेन्सीहरु तथा अमेरिकन एक्सप्रेस आदीले डेविट/क्रेडिट कार्डहरु निष्कासन गर्न थाले । त्यसैगरी बैंकहरुले यस्तै कार्डहरु तथा अन्य प्लास्टिकका कार्डहरु लगायत अन्य उपकरणहरु प्रचलनमा ल्याईरहेका छन् । प्रविधिको विकाससँगै एटिएम कार्ड तथा अन्य डेविट, क्रेडिट कार्डहरुको पनि विकास भयो ।

जसका माध्यमबाट स्वदेश तथा विदेशमा समेत मानिसहरुले भरपर्दो र छिटो छरितो माध्यमबाट पैसाको कारोबार गरिरहेका छन् । यसरी प्राचिन कालमा प्रारम्भ भएको धातुका मुद्राहरुको प्रतिस्थापन हुँदै हुँदै आएर हाल सुचना प्रविधिको विकास सँगै सुचना सञ्जाल मार्फत नै ठुलो परिमाणमा मुद्राको कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय मुद्राहरु : विश्वव्यापी कारोबारका लागि 

मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको छ । तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्राष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन् ।

अन्तर्राष्ट्रिय व्यापारिक कारोबारलाई वैधानिक मान्यता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक कारोबारलाई सहज र सुलभ बनाई आधिकारिक रुपमा मान्य हुने गरि मान्यता प्राप्त अन्तर्राष्ट्रिय मुद्राहरु जस्तैः अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग, युरो आदिलाई भुक्तानीको आधार मुद्रा कायम गरी एक देशका व्यापारीले अर्को देशका व्यापारीबाट आफ्नो वस्तुको मुल्य बापतको भुक्तानी लिनेदिने गर्दछन् ।

यसरी धानसँग मकै र मकैसँग धान साटेर सुरु भएको वस्तु विनिमय प्रणाली आज एउटा कार्डबाट चाहेजति रकम निकाल्न मिल्ने प्रविधीमा रुपान्तरण भईसकेको छ । यसकारण प्रविधीको विकाससँगै हाम्रा विनिमय पनि वैज्ञानिक, सहज हुँदै गएको छ ।  

Related Post




  • सूचना विभाग दर्ता न: २९१/०७३-७४66

  • फोन नो. : 9851018466, 9851215418
  • समाचार : [email protected]
  • विज्ञापन: [email protected]

Chief Editor

  • Madhav Nirdosh

Coordinator

  • Narayan Kc