November 28th, 2017

लगानी नीतिमा चिनियाँ बैंक अगाडि : छुट्टाछुट्टै प्रोजेक्टमा लगानीको फर्मुला

रुपा कोइराला/बैंकिङ खबर । लगानी नीतिमा चिनियाँ बैंकहरु निकै अगाडी रहेका छन् । पछिल्लो दुई दशकयता चिनको बैंकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैंकहरु गइसकेका छन् । लगानीका हिसाबले यहाँका बैंकहरुले सबै आर्थिक क्षेत्रलाई समेटेका छन् । 

केन्द्रीय बैंक : पिपुल्स बैंक अफ चाइना
पिपुल्स बैंक अफ चाइना (पीबीओसी) चिनको केन्द्रीय बैंक हो । सबै चिनियाँ बैंकहरुको नियामक संस्थाको रुपमा यस बैंकले काम गर्दै आएको छ । बैंकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय संस्थाहरुलाई नियमन गर्ने, बैँकिङ क्षेत्रको व्यवस्थापन, विदेशी विनिमय दरको व्यवस्थापन, सुन रिजर्भ लगायतका कामहरु गर्ने गर्दछ । विदेशी विनिमयसम्बन्धि नितीहरु बनाउनको लागि यस बैंकले स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज पनि हेर्ने गर्दछ । सन् १९९५ को सेन्ट्रल बैंक ल का अनुसार, पीबीओसीसँग बैंकहरुको व्याजदर तय गर्ने लगायतको सम्पूर्ण नियामक कामकारबाहीहरुमा एकाधिकार रहेको छ ।

स्टेट काउन्सिलले पीबीओसीका नीति तथा नियमहरुको निगरानी गर्ने गर्दछ । चाइना बैँकिङ रेगुलेटरी कमिसन पीबीओसीको निगरानीका लागि २००३ को अप्रिल २८ तारिखका दिन औपचारिक रुपमा गठन भएको थियो । यस कमिशनको मूख्य उद्देश्य भनेको सम्पूर्ण बैंकहरुको सुपरभिजनलाई अझ व्यवस्थित बनाउनु तथा वृहत अर्थतन्त्र र करेन्सी पोलिसीमा बढी ध्यान दिनको लागि पीबीओसीलाई सहयोग पुर्याउनु थियो । 

वित्तीय प्रणालीमा सबै आर्थिक क्षेत्र
चीनका चारवटा कमर्सियल बैंकहरु सरकारी स्वामित्वमा रहेका छन् । बैंक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैंक, इन्डस्ट्रीयल एण्ड कमर्सियल बैंक अफ चाइना र एग्रिकल्चरल बैंक अफ चाइना चिनको सरकारी स्वामित्वमा भएका बैंकहरु हुन् । यी बैंकहरुलाई व्यवसायिकरण गर्नको लागि सन् १९९५ मा चिनियाँ सरकारले कमर्सियल बैंक ल ल्याएको थियो । यी बैंकहरुले विशिष्ट उद्देश्यका साथ छु्ट्टा छुट्टै क्षेत्रलाई केन्द्रमा राखेर सेवा अघि बढिरहेका छन् । 

इन्डस्ट्रीयल एण्ड कमर्सियल बैंक अफ चाइना चिनको सबैभन्दा ठूलो बैंक हो । अन्य सरकारी वाणिज्य बैंकहरुभन्दा यो बैंक केही पृथक रहेको छ । चिनको सहरी भेग र उत्पादनमूलक क्षेत्रमा सेवा दिने यो प्रमुख वित्तिय संस्था हो । बैंक अफ चाइना विदेशी विनिमय कारोबार र व्यापारिक वित्तिय कारोबारमा केन्द्रित छ । त्यस्तै, चाइना कन्स्ट्रक्सन बैंक मध्यमदेखि दीर्घकालीन क्रेडिट र पूर्वाधार विकास, सहरी विकास लगायतका दीर्घकालीन प्रोजेक्टहरुलाई केन्द्रमा राखेर लगानी तथा कारोबार गर्ने गर्दछ भने एग्रिकल्चरल बैंक अफ चाइनाले मुलुकभित्रको कृषि क्षेत्रलाई आफ्नो लगानीको केन्द्र बनाएर कारोबार गर्दै आइरहेको छ । साथै, कृषक, ग्रामीण तथा साना उद्यमी र ग्रामीण संस्थाहरुलाई होलसेल तथा रिटेल बैँकिङ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यसरी चिनको बैँकिङ क्षेत्रले सबै आर्थिक क्षेत्रलाई समेटेको छ । सबै क्षेत्रको समान र सन्तुलित विकासलाई ध्यानमा राख्दै चिनियाँ सरकारले नै बैँकिङ सेवा सञ्चालन गरिरहेको छ ।

पोलिसी बैंकहरु
चीनमा तीन वटा पोलिसी बैंकहरु– एग्रिकल्चरल डेभलपमेन्ट बैंक अफ चाइना, चाइना डेभलपमेन्ट बैंक र इम्पोर्ट एक्पोर्ट बैंक अफ चाइना संचालनमा छन् । सरकारी स्वामित्वका चार कमर्सियल बैंकहरुको सरकारकेन्द्रित कार्यहरु गर्नका लागि सन् १९९४ मा यी तीन बैंकहरुको स्थापना गरिएको थियो । यी बैंकहरुले आर्थिक तथा व्यापारिक विकास र सरकारी लगानीका प्रोजेक्टहरुमा लगानी गर्ने गर्दछन् । 

जोखिमबाट सुधारतर्फ बैंकिङ क्षेत्र
सन् २००२ तिर चिनियाँ बैंकहरुको खराब कर्जा अत्यन्तै बढिरहेको थियो, जसको समाधानस्वरुप, केन्द्रीय बैंकले बैंकहरुलाई निजी क्षेत्र र व्यक्तिगत ग्राहकहरुमा आफ्नो सेवा बढाउन उत्प्रेरित गर्यो । पीबीओसीको यो कदमले चिनको उपभोक्ता कर्जा उद्योगको विकास गर्न तथा व्यक्तिहरुमा बैंकिङ कर्जा बढाउन मद्दत गर्यो । 

त्यसपछि, साना बैंकहरुलाई विभिन्न कोष तथा सेयरहरु जारी गरेर पुँजी बढाउन निर्देशन दिइयो । त्यसपछि निजी स्तरका बैंकहरु पनि पुँजी बढाएर स्टक एक्सचेन्जमा सूचिकृत हुने क्रम बढ्न थाल्यो । 

पीबीओसीको व्याजदरलाई नियन्त्रणमा नराख्ने निर्णयले पनि बैंकिङ क्षेत्रको सुधारलाई सहयोग पुर्यायो । माग र आपूर्तिको आधारमा निक्षेप र कर्जाको व्याजदर निर्धारण हुन थालेपछि बैंकहरुले वित्तीय स्रोत परिचालनमा महत्वपूर्ण भूमिका खेल्न थाले । 

विदेशी बैंकहरु
विश्व व्यापार संगठकमा चिनले प्रवेश गरेपछि चिनमा विदेशी लगानीका बैंकहरुले अवसर पाउने अपेक्षा गरिएको थियो । अनुमान अनुरुप, पीबीओसीले निश्चित मापदण्ड तोकेर विदेशी लगानीका बैंकहरुलाई स्वीकृति दिने गरी नीति जारी गर्यो । पूर्ण रुपमा विदेशी मुद्राको कारोबार गर्नुपर्ने, ७२.३ मिलियन अमेरिकी डलर बराबरको संचालन पुँजी हुनुपर्ने लगायतका शर्तहरु राखिएको थियो । सन् २००१को अन्त्यतिर देखि विदेशी वित्तीय संस्थाहरुलाई चिनका व्यापार व्यवसाय तथा व्यक्तिहरुसँग विदेशी मुद्राको कारोबार गर्ने स्वीकृति दिइयो भने २००६देखि सबै चिनियाँ ग्राहकहरुसँग स्थानीय मुद्राको कारोबार गर्ने अनुमित दिइयो । त्यसपछि, विदेशी लगानीका बैंकहरुलाई बैंकिङ कार्ड जारी गर्ने स्वीकृति पनि दिइयो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]