Tuesday , June 27 2017

अन्तर्राष्ट्रिय बैंकिङ

धेरै अर्बपति बस्ने ‘दश मुलुकहरु’

wealthविश्वभरमा १८ सय १० जना अर्वपति रहेका छन् । अमेरिकी अखबार फोब्र्सले २०१६ फेब्रुअरी १२ सम्म सार्वजनिक गरेको तथ्यांक अनुसार तिनीहरूको कुल सम्पति ६५ खर्ब (साढे छ ट्रिलियन) अमेरिकी डलर हुन आउँछ । अर्बपतिहरूको सूची हेर्दा कपडा उद्योग, खुद्रा व्यापार र खाद्य उद्योगबाट अर्बपति बनेकाहरूमा फ्रान्स, स्पेन र इटाली छन् । यसैगरी अस्ट्रेलियाली वा ताइवानी अर्बपतिहरू विरासतमा पाएको धनबाहेक अन्य क्षेत्रबाट अर्बपति बन्ने कमै छन् ।

अमेरिका
अमेरिकामा सबैभन्दा धेरै अर्वपतिहरु रहेका छन् । फोब्र्सका अनुसार अमेरिकामा पाँच सय ४० जना अर्वपति छन् । उनीहरुको कुल सम्पत्ति२.३९९ ट्रिलियन अमेरिकी डलर रहेको छ । यहाँका धनाढ्यहरुले ऊर्जा र खनिज उद्योगबाट अर्बपति बनेकामा रसियनहरू र प्रविधि र फाइनान्स क्षेत्रमा लगानी गरेका छन् । अधिकांश आफ्नै व्यवसाय र उद्यमशीलताबाट अर्बपति बनेका छन् । त्यहाँका धेरैजसो अर्बपतिको सम्पत्तिको स्रोत प्रावधिक क्षेत्रमा गरिएको लगानी नै हो । माइक्रोसफ्टका मालिक बिल गेट्स त्यहाँका मात्रै होइन विश्वकै सबैभन्दा धनाढ्य हुन् ।

चीन
विश्वकै सबैभन्दा बढी अर्बपति बस्ने दोस्रो मुलुक चीन हो । त्यहाँ २ सय ५१ जना अर्बपतिमध्ये अधिकांशको सम्पत्तिको स्रोत विभिन्न कारखानाबाट उत्पादित सामानहरू, प्रविधि र रियल स्टेट नै प्रमुख रहेका छन् । रियल इस्टेटको विकास गर्ने डालियन वान्दा समूहको सुरुवात गर्ने जियानलिन बेङ चीनका सबैभन्दा धनाढ्य व्यक्ति रहेको फोब्र्सले जनाएको छ । त्यहाँका अर्बपतिहरूको कुल सम्पत्ति ५ खर्ब ९३ अर्ब अमेरिकी डलर छ ।

जर्मनी
सर्वाधिक अर्बपति उत्पादन गर्ने जर्मनी तेस्रो मुलुक हो । त्यहाँ १ सय २० अर्बपतिको कुल सम्पत्ति ४ सय ८९ दशमलव १ अर्ब अमेरिकी डलर छ । जर्मनीमा ३७ जना अर्बपति फेसन र रिटेल क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । यसैगरी हेल्थकेयर क्षेत्रका १९ र म्यानुफ्याक्चरिङबाट १८ जना उद्यमी तथा व्यवसायी अर्बपतिमा सूचीकृत छन् । जर्मनीका सबैभन्दा धनाढ्यमा बिट हाइस्टर र कार्ल अलब्रेन्च हुन् । यिनीहरूले १९४६ मा आल्दी सुपर मार्केटको स्थापना गरेका थिए । त्यसैले उनीहरुलाई अर्बपति बनायो । 

भारत
विश्वका सबैभन्दा बढी अर्बपति भएको मुलुकमध्ये छिमेकी मुलुक भारत चौथो स्थानमा छ । त्यहाँका ८४ जना अर्बपतिको कुल सम्पत्ति २ खर्ब ४८ दशमलव ४ अर्ब रहेको छ । अधिकांश भारतीय अर्बपतिहरू सेल्फ मेड हुन् । आफ्नै उद्योग, कलकारखाना र उद्यमबाट तिनीहरू अर्बपति बनेका छन् । अधिकांशको सम्पत्तिको मुख्य स्रोत फेसन, हेल्थ केयर, प्रविधिलगायत उद्योग र व्यवसाय नै हो । मुकेश अम्बानी भारतमै सबैभन्दा बढी सम्पत्ति भएका उद्यमी हुन् ।

रुस
यो सूचीको पाचौँ स्थानमा रुस छ । ७७ जना अर्बपतिको २ खर्ब ८२ दशमलव ६ अर्ब अमेरिकी सम्पत्ति रहेको छ । यहाँका अधिकांश अर्बपतिको मुख्य स्रोत ऊर्जा, खनिज उद्योगमा गरिएको लगानी नै हो । रुसका अर्बपतिको एक नम्बरमा लियोनिड मिखेल्सन रहेका छन् । 

हङकङ
विश्वको सबैभन्दा बढी अर्बपति भएका मुलुकमध्ये छैठौं स्थानमा रहेका हङकङमा ६३ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति २ सय ४० दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ । त्यहाँ रियल इस्टेट, ग्याम्बलिङ र म्यानुफ्याक्टरिङ नै अर्बपति उत्पादन गर्ने प्रमुख स्रोत हो । लिका सिङ त्यहाँका सर्वा्धिक धनाढ्य उद्यमी हुन् ।

बेलायत
बेलायतमा ५० जना अर्बपति छन् । बेलायत सबैभन्दा धेरै अर्वपति हुने मुलुकहरुमध्ये सातौँ स्थानमा छ । यहाँका अर्बपतिहरुको कुल सम्पत्ति१ सय ६१ दशमलव ८ अर्ब अमेरिकी डलर रहेको छ । बेलायतमा सबैभन्दा बढी अर्बपति रियल इस्टेट फाइनान्ससँग सम्बन्धित छन् । हिन्दुजा परिवारका चार भाइले पूरै ग्रुपलाई आफ्नो नेतृत्व गर्दै आएका छन् । यिनै परिवार त्यहाँका सर्वाधिक धनाढ्यमा गनिन्छन् ।  

इटाली
इटालीमा ४३ जना अर्वपति छन् । धेरै अर्बपति हुने मुलुकमा आठौँ स्थानमा पर्ने इटालीमा रहेका अर्बपतिहरुसँग कुल १ खर्ब ५० दशमलव ८ अर्ब अमेरिकी डलर सम्पत्ति छ । त्यहाँका अर्बपतिहरूद्वारा सञ्चालित व्यवसाय पूरै विश्वमा प्रख्यात छ । प्राडा, अरमानी, फरारी, बुल्गेरी, फरेरो वल्र्ड इटालेली लोकप्रिय ब्रान्ड हुन् । फरेरो ग्रुपका मालिक्नी मारिया फ्रान्का फिसोलो त्यहाँकी सबैभन्दा धनाढ्य हुन् ।

फ्रान्स
धेरै अर्बपतिहरु भएका मुलुकमध्ये नौऔँ स्थानमा फ्रान्स रहेको छ । फ्रान्समा ३९ जना अर्बपति रहेका छन् । उनीहरुको कुल सम्पत्ति २ खर्ब १२ अर्ब अमेरिकी डलर रहेको छ । फ्रान्स फेसनका लागि परिचित छ । त्यसैले त्यहाँका अधिकांश अर्बपतिहरूको सम्पत्तिको मूल स्रोत फेसन नै भएको दाबी सञ्चार माध्यमहरूको छ । न्युज च्यानल, फेसन म्यानुफ्याक्चरिङ समूहहरूले फ्रान्समा अर्बपति उत्पादन गर्नमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । 

क्यानडा
धेरै अर्बपतिहरु हुने मुलुकको सूचीको दशौँ नम्बरमा क्यानडा छ । क्यानडामा ३३ जना अर्बपतिहरु रहेका छन् । यहाँका अर्बपतिहरुको कुल सम्पत्ति १ खर्ब १२ दशमलव ४ अर्ब अमेरिकी डलर रहेको छ । क्यानाडामा भने आफ्नै लगन, परिश्रम र मिहिनेतबाट अर्बपति बनेकाहरूको संख्या बढी छ । त्यहाँ भारतमा जस्तै सेल्फ मेड अर्बपतिहरू रहेका छन् । उबर, लुलुलेमनलगायत कम्पनीको असल सञ्चालन र व्यवस्थापनका कारण अर्बपति त्यहाँ बढी बनेका हुन् । डेभिड थम्सन त्यहाँ सबैभन्दा धनी व्यक्ति हुन् । उनी सञ्चारमाध्यम र प्रकाशन कम्पनीका अध्यक्ष पनि हुन् । 

यसबाहेक स्विटजरल्यान्डमा ३२, ब्राजिल र दक्षिण कोरियामा ३१÷३१, टर्कीमा ३०, स्विडेनमा २६, अस्ट्रेलिया र ताइवानमा २५÷२५, स्पेनमा २१, इन्डोनेसियामा २०, जापानमा १७, थाइल्यान्डमा १६ र मेक्सिकोमा १४ जना अर्बपति रहेका छन् । सिंगापुरका १७ अर्बपतिहरूमध्ये अधिकांश रियल इस्टेटबाट धनाढ्य बनेको तथ्यांकमा छ । नर्वे आफ्ना १३ जना अर्बपतिको कुल सम्पत्ति २४ दशमलव ८ अर्ब अमेरिकी डलरका साथ सर्वाधिक धनाढ्य विश्वका मुलुकहरूको २५ औं स्थानमा छ । (एजेन्सीहरूको सहयोगमा)

आठ वर्षे महामन्दीपछिको विश्व अर्थतन्त्र : कुन मुलुकको तलववृद्धि कति ?

economicआठ वर्षअघिको ‘महामन्दी’पछि चीनमा १०.६ प्रतिशतले तलब वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ । चीनको तुलनामा यस्ता तलब वृद्धि भारतमा न्यून देखिएको छ । उक्त अवधिमा भारतमा तलब वृद्धि ०.२ प्रतिशतले मात्रै भएको छ । 

कर्न फेरीको हे ग्रुप विभागको नयाँ विश्लेषणअनुसार वास्तविक अर्थमा भारतको तलब वृद्धि ०.२ प्रतिशत मात्रै भएको छ । सोही अवधिमा जीडीपी भने ६३.८ प्रतिशतले ठूलो भएको छ । समीक्षात्मक अवधिमा चीन, इन्डोनेसिया र मेक्सिकोको तलब वृद्धि सबैभन्दा बढी अर्थात क्रमशः १०.६, ९.३ र ८.९ प्रतिशतले भएको छ । अन्य उदीयमान अर्थतन्त्र भएका मुलुक टर्की, अर्जेन्टिना, रूस र ब्राजिलको तलब वृद्धि भने ओरालो लागेको छ । यी मुलुकको तलब वृद्धि क्रमशः ऋणात्मक ३४.४, १८.६, १७.१ र १५.३ प्रतिशत कायम भएको छ । 

भारतको तलब वृद्धि धेरै असमान भएको पनि प्रतिवेदनले देखाएको छ । “हामीले हेरेका मुलुकहरूमा भारतको तलब वृद्धि धेरै असमान भएको पाएका छौं । पुछारमा रहेका ३० प्रतिशतको अवस्था नाजुक छ भने शीर्ष स्थानमा रहेका ३० प्रतिशतको अवस्था राम्रो भएको छ,” कर्न फेरी हे ग्रुप ग्लोब ल प्रडक्ट प्रबन्धक बेन्जामिन फ्रस्टले भने, “उच्च मूल्यको काम देशमा ल्याउने मामिलामा अन्य मुलुकको दाँजोमा भारतले थोरै मात्र प्रगति गरेको छ । यसले न्यून मात्रै रोजगारी वृद्धि भएको छ । अदक्ष र अर्ध सीप भएकाहरूको अधिक आपूर्तिका कारण पनि झिनो अन्तरले मात्रै ज्याला वृद्धि भएको छ ।”

विकसित मुलुकको दाँजोमा अमेरिकामा तलब वृद्धिको अवस्था खराब छ । मुद्रास्फीतिको समायोजनका आधारमा अमेरिकी तलब सन् २००८ को सेप्टेम्बरदेखि ३.१ प्रतिशतले घटेको छ । यद्यपि यो अवधिमा जीडीपी भने १०.२ प्रतिशतले वृद्धि भएको छ । विकसित मुलुकमध्ये क्यानडाको तलब वृद्धि राम्रो देखिएको छ । यो अवधिमा क्यानडाको तलब वृद्धि औसतमा ७.२ प्रतिशत छ । जीडीपी भने ११.२ प्रतिशतले वृद्धि भएको छ । तलब वृद्धिको मामिलामा अन्य विकसित मुलुकहरू यथावस्थादेखि मन्द वृद्धिको अवस्थामा देखिएका छन् । अस्ट्रेलियामा ५.९, फ्रान्समा ५.२, जर्मनीमा ५ र इटालीमा २.४ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

विश्वव्यापी पूर्वाधार विकासमा विश्व बैंक र ब्रिक्सको सहकार्य

agreementविश्वव्यापी पूर्वाधार आवश्यकतालाई सम्बोधन गर्न विश्व बैङ्क समूह तथा ब्रिक्स (ब्राजिल, रूस, भारत र चीन) राष्ट्रले स्थापना गरेको नयाँ विकास बैङ्क (एन्डीबी)बीच सकार्य हुने भएको छ । यी दुई समूहबीच आफ्नो सहकार्य विस्तार गर्ने एक सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतामा विश्व बैङ्कका अध्यक्ष जिम योङ किम र एन्डीबी अध्यक्ष के.भी. कामाथले हस्ताक्षर गरेका हुन् । विशेषगरी पूर्वाधारमा केन्द्रित रहने गरी दुई देशको सहकार्य विस्तार गर्न सो सम्झौता गरिएको बताइएको छ ।

‘यो सम्झौताले हाम्रा संस्थाहरूको सहकार्य विस्तारमा सहयोग पुग्छ र जब विश्वका बैङ्कहरू एकसाथ कार्य गर्न जुट्छन् र न्यून तथा मध्य आम्दानी भएका राष्ट्रमा समावेशी वृद्धिको प्रवर्द्धन गर्ने प्रकारको सहयोगको विकास हुन्छ तब गरीब तथा पिछडिएकाहरू पक्कै पनि लाभान्वित हुन्छन्,’ किमले भने । सम्झौताअनुसार विश्व बैङ्क र एन्डीबीले परियोजनामा लगानी गर्ने अवसरहरूको खोजी गर्ने बताइएको छ । यसका साथै ज्ञानको प्रसार र कर्मचारी स्थानान्तरणको सुविधासमेत रहने बताइएको छ । एजेन्सी

सिन्जो आबेको नीति लक्ष्य असफल हुँदै : सुस्तायो जापानी अर्थतन्त्र

shinzo-abeजापानी अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मुस्किलले वृद्धि भएको समीक्षात्मक तथ्यांकले देखाएको छ । यसले प्रधानमन्त्री सिन्जो आबेको नीति लक्ष्य असफल भएको देखाएको छ । उक्त अवधिमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र ०.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । यद्यपि यो गत महिनाको प्रारम्भिक अनुमान शून्य प्रतिशतको दाँजोमा सुधारसहितको राम्रो हो । कमजोर निर्यातका कारण जापानी अर्थतन्त्रमा मुस्किलको वृद्धि हासिल भएको हो । वार्षिक आधारमा हेर्ने हो भने अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ । यो प्रारम्भिक तथ्यांकले देखाएको ०.२ प्रतिशतको वृद्धिको दाँजोमा राम्रो हो । यो पहिलो त्रैमासमा भएको २.१ प्रतिशतको वार्षिक वृद्धिको दाँजोमा अझै पनि कम हो ।

प्रभाव : सेयर बजार र मुद्रामा
अबेनोमिक्से सुधारलाई सहयोग गर्ने अपेक्षा गरेका अर्थशास्त्री वृद्धिको यो अवस्थाबाट दबाबमा परेका छन् । समीक्षात्मक तथ्यांक घोषणापछि टोकियोको सेयर बजार ओरालो लागेर खुलेको छ । कारोबारको सुरुको अवस्थामा निकी ०.१८ प्रतिशतले घटेको छ । डलर सुरुको कारोबारमा १०१.८० येनमा कारोबार भएको छ । बुधबार डलरसँगको न्युयोर्कमा भएको कारोबारमा येन १०१.७३ थियो । बृहत् मौद्रिक सहजीकरण, सरकारी खर्च र विद्यमान अवरोध कम गर्नेलगायत मिश्रित रूपमा आएको आबेको योजनाले सुरुमा येनको कीर्तिमानी न्यून बिन्दुमा अवमूल्यन भएको थियो र धितोपत्र बजार पनि उकालो लागेको थियो ।

दबाबमा केन्द्रीय बैंक
बैंक अफ जापानलाई कमजोर अवस्थाको वृद्धि तथ्यांकले दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । टोकियोले हालै मात्र वृद्धि उकास्नका लागि २७५ अर्ब डलरको प्याकेजको घोषणा गरेको थियो । “जापानी अर्थतन्त्रले यो कमजोर र धरमरको अवस्थाको वृद्धिलाई व्यवस्थापन मात्रै गरिरहेको छ,” मिझुहो सेक्युरिटिजका प्रमुख बजार अर्थशास्त्री यासुनारी एनोले भने, “निर्यात सुधारको माध्यम हुने देखिँदैन । कर्पोरेट नाफा पनि यो वर्ष ओरालो लाग्ने देखिन्छ । ज्यालावृद्धिले उपभोक्ता खर्च बढाउने तथा फर्महरूले आफ्नो लगानी बढाउने अवस्था देखिँदैन ।” 

खतरामा अर्थतन्त्र
येनमा हुने थप अधिमूल्यनले जापानी अर्थतन्त्रलाई मन्दीतर्फ लैजान सक्छ । अधिमूल्यनको अवस्थातर्फ लम्केको येनले कर्पोरेट जापानको आधारभूत लाइनलाई चुनौती दिँदै आएको छ । यसले वृद्धिप्रतिको चासो बढाएको छ । लगानीकर्ताले जापानी मुद्रालाई अस्थिरता र अनिश्चितताको समयमा सुरक्षित सम्पत्तिका रुरूपमा किन्ने गर्छन् । तर, यसले निर्यातलाई कम प्रतिस्पर्धी बनाउने र उनीहरूको नाफा पनि प्रभावित पार्छ । 

सोनी र टोयोटालगायत धेरैजसो परिचित फर्मले समीक्षा अवधिमा नाफा घटेको सार्वजनिक गरेका छन् । तर, अवरोध हटाउनेजस्ता कदम सुस्त गतिमा मात्रै अघि बढेको छ । यससँगै कुनै समयमा विस्फोटक अवस्थाबाट वृद्धि भएको जापानी अर्थतन्त्रलाई माथि उकास्ने आबेको योजना अवास्तविकजस्तो सावित भएको छ । वृद्धिका लागि गरिने खर्चको नीतिले जापानलाई अन्य समकक्षी मुलुकको तुलनामा पृथक् बनाएको जनाइएको छ । एजेन्सी

अरबौँ लगानी गरेर किन जोखिम मोल्दैछन् अम्बानी ?

ambaniभारतकै धनी मुकेश अम्बानीको लगानी रहेको रिलायन्स जियो सेवाले फोर जी नेटवर्क सुरु गरेको छ । न्यूनतम मूल्यमा सेवा उपलब्ध गराउने यी अर्बपतिको प्रतिबद्धताका साथै डाउनलोड गतिले ‘स्ट्रिमिङ’ भिडियोलाई सक्षम बनाउने देखिएको छ । भारतको ८० प्रतिशतभन्दा बढीको पहुँच पुर्याउने गरी फोर जी नेटवर्क सोमबार औपचारिक रूपमा सुरु भएको हो । भारतीयले यो वर्षको अन्त्यसम्म जियो निःशुल्क प्रयोग गर्न पाउने देखिएको छ । त्यसपछि डेटाका लागि मासिक १ सय ४९ भारु मात्रै तिर्नुपर्नेछ । “डिजिटलमा जान सक्ने कुनै पनि वा सबै चिज त्यसमै जाँदै छ । त्यो पनि ठूलो दरमा,” अम्बानीले गत साता लगानीकर्तालाई भनेका थिए, “जीवन डिजिटलमा जाँदै छ ।”

प्रविधि उद्योगले तोड्न खोजेको बजार
भारतमा समग्र वयस्कको २० प्रतिशतको मात्रै इन्टरनेटमा पहुँच छ । थोरै मात्र सार्वजनिक वाइफाइ छन् । तीव्र ब्रोडब्यान्ड सम्पर्कका लागि पूर्वाधार आवश्यक पर्छ, जुन सहरी क्षेत्रमा दुर्लभै छ । ग्रामीण क्षेत्रमा त यो अझै कम छ । जियो नेटवर्क सफल भयो भने अम्बानी ‘तरंगित रूपान्तरण’मा यसलाई पुँजीकरण गर्न सफल हुनेछन् । यसले गर्दा करोडौं भारतीय आगामी वर्षहरूमा अनलाइनमा जान सक्नेछन् । यो धेरैजसो स्मार्टफोनको माध्यमबाट हुनेछ । यो प्रविधि उद्योगले तोड्न खोजेको बजार हो । गुगलले भारतभरिका रेल स्टेसनमा निःशुल्क वाइफाई जडान गरेको छ । फेसबुकले पनि फ्री भर्सनको प्लेटफर्म ल्याउने प्रयास गरिरहेको छ ।

नेटवर्क निर्माणमा जोखिम
अम्बानीले नेटवर्क निर्माण गरेर ठूलो जोखिम मोलेका छन् । भारतभर १ लाख दूरसञ्चार टावर निर्माणमा उनले अर्बौं लगानी गरेका छन् । जियोले सुरुमै १८ हजार सहर र २ लाख गाउँलाई समेटेको अनुमान उनको छ । सन् २०१७ मार्चदेखि उनले ९० प्रतिशत जनसंख्यामा आफ्नो पहुँच पुर्याउने लक्ष्य लिएका छन् । स्क्र्याचबाट राष्ट्रिय फोर जी नेटवर्कको निर्माण गर्नु उनका लागि ठूलो जोखिमका रूपमा देखिन्छ ।

उनले १५ वर्षअघि भाई अनिलसँगको विवादपछि दूरसञ्चार क्षेत्र प्राप्त गरेका थिए । यी दाजुभाइसँग संयुक्त गरेर २६ अर्ब डलरको सम्पत्ति रहेको अनुमान छ । जियोले रिलायन्स कम्युनिकेसन्सको स्वामित्वमा रहेको रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न पाउनेछ । प्रतिद्वन्द्वी नेटवर्कले पनि विशेष छुटको प्रस्ताव गरेर रिलायन्स जियोको सुरुवातीको प्रतिक्रिया दिएका छन् । यसले मूल्य प्रतिस्पर्धाको अवस्था ल्याएको छ । एयरटेलले थ्रीजी र फोरजी सेवाको मूल्य ८० प्रतिशतले घटाएको छ । भोडाफोनले पनि डेटाको परिमाणलाई झन्डै ७० प्रतिशतले बढाएको छ । एजेन्सी

अब युआन र डलरको अवमूल्यन नहुने : चीन र अमेरिकाले गरेर यस्तो सहमती

yuan dollorचीन र अमेरिकाले प्रतिस्पर्धात्मक रूपमा मुद्रा अवमूल्यन नगर्ने प्रतिबद्धता जनाएका छन् । चीनले क्रमिक रूपमा आफ्नो मुद्रा युआनको बजारमुखी विनिमय दर कायम गर्ने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका चिनियाँ समकक्षी सी जिनपिङले यस विषयमा संयुक्त रूपमा ‘फ्याक्ट सिट’ पनि जारी गरेका छन् । सूचना तथा सञ्चार प्रविधिका उत्पादन तथा सेवाको व्यापारिक बिक्रीमा विदेशी आपूर्तिकर्तालाई अनावश्यक रूपमा नरोकिने जनाइएको छ । दुवै मुलुकले प्रतिस्पर्धात्मक अवमूल्यनको अवस्था आउन नदिने र प्रतिस्पर्धात्मक उद्देश्यका लागि विनिमय दरलाई निसाना नबनाउने बताएको फ्याक्ट सिटमा उल्लेख छ । 

वित्त नीतिको प्रयोगमा जोड
फ्याक्ट सिटले दुवै पक्षले आईसीटीको व्यापारिक बिक्री अवसरका लागि रोक्न नहुने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । दुवै पक्षले सबै नीतिगत विधि मौद्रिक, वित्त र संरचनाको प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसले विश्वास बढाउने र वृद्धिलाई बलियो बनाउने दाबी उनीहरूको छ । वृद्धि बलियो बनाउन, रोजगारी सिर्जना गर्न र घरधुरीको माग बढाउनका लागि वित्त नीतिको प्रयोग गरिनुपर्ने भनाइ दुवै पक्षको रहँदै आएको छ ।

साइबर नियम पारित हुने
विदेशी व्यावसायिक समूहले चीनको रोकिएको साइबर नियम यो वर्ष पारित हुने बताएका छन् । नियमनले विदेशी कम्पनीलाई बजार प्रवेशमा अवरोध सिर्जना गर्ने र प्रविधिलाई आउन नदिएर देशको सुरक्षालाई कमजोर बनाउने उनीहरूले बताएका छन् । वित्त, सूचना प्रविधि, बीमा र उत्पादनमूलक क्षेत्रलाई विस्तार गरिरहेका विश्वव्यापी व्यावसायीक समूहले चीनलाई भ्रष्टाचारको नियम समीक्षा गर्न आग्रह गरेका छन् । अमेरिकाले यो मुद्दालाई अगाडि बढाउन बेइजिङलाई दबाबसमेत दिएको छ ।

स्पष्ट नीति 
चीनले बजारमुखी विनिमय दर निर्धारणलाई क्रमिक रूपमा प्राथमिकता दिने र दुई किसिमले लचिलो हुने बताइएको छ । मुद्रा अवमूल्यनको कुनै आधार नभएको विषयमा चीनले जोड दिएको छ । दुवै पक्षले स्पष्ट नीति सञ्चारको महत्वलाई जोड दिएका छन् ।

चीनले सन् २०१५ को अगस्टमा युआनलाई अवमूल्यन हुन दिएर विश्व बजारलाई चोट पुर्याएको थियो । यो वर्ष पनि झिनो अन्तरले भए पनि अवमूल्यन हुन अनुमति दिएको थियो । चिनियाँ मुद्रा अझै अमेरिकी डलरसँगको विनिमयमा ६ वर्षकै न्यून नजिक रहँदै आएको छ ।

सकियो रघुराम राजनको कार्यकाल : उर्जित पटेलले सम्हाले गभर्नरको कार्यभार

urjit patelभारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)का गभर्नर रघुराम राजनको तीन वष्र्ने कार्यकाल सकिएको छ । कार्यकाल सकिएसँगै उनले अवकाश पाएका छन् । साथै, गभर्नरको कार्यभार उर्जित पटेलले सम्हालेका छन् । 

सरकारले केही साताअघि पटेललाई आरबिआइको २४औं गभर्नरका रुपमा नियुक्ति दिइसकेको छ । अबको तीन बर्ष पटेलको नेतृत्वमा आरबिआइ चल्ने छ । यसअघिसम्म, गत जनवरीबाट उनी डेपुटी गभर्नरमा दोस्रो कार्यकाल सम्हालिरहेका थिए ।

आर्थिक मुद्दामा केन्द्रित ‘जी २०’ सम्मेलन

downloadविश्वका २० ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलन आईतबारबाट चीनमा सुरु हुँदै छ । जी २० भनिने सो सम्मेलनमा यसपटक खासगरि विश्व अर्थतन्त्रको ताजा अवस्था र जलवायु परिवर्तनसम्बन्धी मुद्धामाथी प्राथमिकताका साथ छलफल हुने बताइएको छ । 

सम्मेलनमा भाग लिन २० शक्ति राष्ट्र चीनको हाङजुमा भेला हुँदैछन् । सम्मेलनको पूर्वसन्ध्यामा शनिबार अमेरिका र चीनले उत्सर्जन कटौती गर्ने वाचा गरिएको पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन । अमेरिका र चीन विश्वमा भइरहेको कूल कार्बन उत्सर्जनको ४० प्रतिशतका लागि जिम्मेवार छन् । चीन र अमेरिकाले उत्सर्जन कटौती गर्ने वाचासहितको पत्रमा हस्ताक्षर गरेलगत्तै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले मुक्तकण्ठले दुई राष्ट्रको सो कदमको प्रशंसा गरेका छन् । उक्त कदम पेरिस जलवायु सम्झौतालाई वास्तविकतामा परिणत गर्न कोशेढुङ्गा हुनसक्छ ।

अरु देशहरुमा उक्त सम्झौता अनुमोदनबारे अझै पनि विवादहरु छन् । तर चीन र अमेरिकाको यो कदमले जी २० सम्मेलनका क्रममा खनिज इन्धनमा दिइदैँ आएको छुट हटाउने आफ्ना प्रतिबद्धता चाँडै पूरा गर्न दबाब बढ्ने देखिन्छ ।पेरिस सम्झौता अनुमोदन भएपछि प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अमेरिकी राष्ट्रपति बराक ओबामा र चिनियाँ राष्ट्रपति सि जीनपिङ दुवै दुरदर्शी, साहसी र महत्वाकांक्षी नेताहरु भएको बताए । 
 

डलरको मजबुतीले यसरी समस्यामा पार्दैछ विश्व बजारलाई

dollorविश्वव्यापी व्यापारको आकार गत वर्षको तुलनामा चालू वर्षको जुनमा ०.१ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो सन् २००९ यताकै न्यून मासिक वृद्धि दर हो । अमेरिकी तथ्यांक विभागले जुलाईमा आफ्नो व्यापारको आँकडा सार्वजनिक गर्नुभन्दा एक दिनअघि विश्वव्यापी अवस्थाको खबर आएको हो । 

अघिल्लो वर्षको दाँजोमा जुनमा अमेरिकी निर्यात ५ प्रतिशतले ओरालो लागेको छ । व्यापार सन्तुलत लगातार तेस्रो महिना ओरालो लागेको सेन्ससको तथ्यांकले देखाएको छ । अर्को क्षेत्र ल्याटिन अमेरिकाले पनि विश्वव्यापी व्यापारलाई तल झारेको छ । यो क्षेत्रको कुल व्यापार जुनमा पनि ओरालो लागेको छ ।

मजबुत डलरले अमेरिकी कम्पनीलाई समस्या
विशेष गरी मजबुत डलरले अमेरिकी कम्पनीलाई समस्यामा पारेको छ । अमेरिकी कम्पनीले कम्प्युटर, कार र अन्य उत्पादन विदेशमा बिक्री गर्दै आएका छन् । डलरको मजबुत अवस्थासँगै अमेरिकी सामान विदेशमा महँगो पर्न जाने र विदेशी खरिदकर्ताका लागि कम आकर्षक हुन जान्छ । चीनको सुस्त आर्थिक वृद्धि, केही विकासशील मुलुकको मन्द वृद्धि र न्यून मागलगायत कारण पनि व्यापार प्रभावित छ । विश्वव्यापी व्यापारमा सबै मुलुक नै ओरालो लागेका छैनन् । अमेरिकन एक्सप्रेस र इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्भेले ६६ प्रतिशत अन्तरराष्ट्रिय फर्महरूले अमेरिकासँगको व्यापार आगामी केही वर्षमा बढ्ने विश्वास लिएको देखाएको छ ।

ब्रेक्जिटको प्रभाव विश्वव्यापी बजारमा
बेलायतले युरोपेली संघ (ईयू) छोड्ने पक्षमा गरेको मतदानले पनि विश्वव्यापी व्यापारमा प्रभाव पार्ने देखिएको छ । बेलायतले अन्य मुलुकसँगको व्यापार सम्झौताम पुनर्विचार गर्नुपर्ने अवस्था आउने भएकाले यसले विश्वव्यापी प्रभाव पार्ने आँकलन गरिएको छ । यसले पहिले नै धरमरको अवस्थामा पुगिसकेको विश्व अर्थतन्त्रलाई नराम्रो असर पार्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एजेन्सी

एकै महिनामा चीनलाई २२.५ अर्ब डलरको सेवा व्यापारघाटा

CHINA-ECONOMY-MANUFACTURINGजुलाई महिनामा चीनको सेवा व्यापारघाटा बढेको छ । तथ्यांकअनुसार गत महिना सेवा क्षेत्रबाट भएको आम्दानी र व्यापार २३.१ अर्ब डलर रहेकोमा खर्च भने ४५.६ अर्ब डलर पुगेको छ । आम्दानी र खर्चको यो अवस्थाले चीनले जुलाईमा २२.५ अर्ब डलरको सेवा व्यापारघाटा बेहोरेको देखाएको छ । यो घाटा जुनको कुल १९.४ अर्ब डलर र मेको १९.१ अर्ब डलरको दाँजोमा बढी हो । यातायात, पर्यटन, दूरसञ्चार, निर्माण, विज्ञापन, कम्प्युटिङ र लेखालगायतलाई सेवा व्यापारमा समावेश गरिएको छ ।

सेवा व्यापारको आकार सन् २०१० को ३६२.४ अर्बबाट बढेर सन् २०१५ मा ७१३ अर्ब डलर पुगेको थियो । यो अन्तरराष्ट्रिय औसत वृद्धि गतिको दाँजोमा दोब्बर हो । चीनले आगामी सन् २०२० सम्म सेवा व्यापारको आकारलाई १० खर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । स्टेट काउन्सिलले व्यापार र सेवाको विकासमा सुधार ल्याउने नीति घोषणा गर्ने जनाएको छ । यसमा वित्त, शिक्षा, संस्कृति र चिकित्सालगायतका क्षेत्रलाई खुला गरिने बताइएको छ ।

सेफले शोधनान्तर तथ्यांकमा पारदर्शिताको अवस्थामा सुधार गर्न २०१४ को जनवरीबाट सेवा र व्यापारको मासिक तथ्यांक सार्वजनिक गर्न सुरु गरेको थियो । जुलाईमा चीनले सामानको व्यापारमा ५० अर्ब डलर बचत गरेको थियो । यो जुनको ४५.१ अर्ब डलरको दाँजोमा बढी भएको सेफले जनाएको छ ।