November 7th, 2019

बैंकिङ क्षेत्रमा कसरी उत्कृष्ट कर्मचारी बन्ने ?

बैंकिङ खबर । सर्वसाधारणले थोरै थोरै गरी जम्मा गरेको पैसाको जतन गर्ने, सही ठाउँमा लगानी गर्ने, बचत गर्नेलाई व्याज दिने, आवश्यक परेका व्यक्ति, संस्था तथा आयोजनाहरुलाई कर्जा उपलब्ध गराउने संस्था बैंक हो । पैसाको व्यवस्थित कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा जागीर खान धेरै कुरामा सक्षम हुनुपर्छ । क, ख, ग र घ गरी नेपालमा चार वर्गका बैंकहरु संचालनमा छन्, जसका आआफ्नै काम, कर्तव्य र अधिकार छन् । संस्थाको काम, कर्तव्य र अधिकारभित्र रहेर त्यहाँका कर्मचारीहरुले काम गर्नुपर्ने हुन्छ ।

शाखा विस्तार गरी गाउँगाउँसम्म पहुँच बढाइरहेका बैंकहरुले समयसमयमा आवश्यकताअनुसार कर्मचारी मागिरहेका हुन्छन् । त्यसमाथि बैंकिङ प्रविधिहरु भित्रिने क्रम जारी छ । सो प्रविधिको व्वस्थापन गर्ने कर्मचारीहरु पनि आवश्यक परिरहन्छ । पद र पदीय जिम्मेवारीअनुसार मागिने योग्यता एवम् दक्षताका कुराहरु छुट्टै छ । कुनै पनि वित्तीय संस्थामा उत्कृष्ट कर्मचारी बन्नका लागि अन्य थुप्रै कुराहरुको पनि आवश्यकता पर्दछ ।

छिटो सिक्ने क्षमता
नेपालको बैंकिङ क्षेत्र प्रगतिको पथमा छ । अन्तर्राष्ट्रिय परिवेशअनुसार थुप्रै प्रविधिहरुको विकास भइरहेको छ । यस्तो अवस्थामा, परिवर्तन अनुसार आफूलाई तुरुन्तै ढाल्न सक्ने र आवश्यक परेको खण्डमा तुरुन्तै सिकेर जिम्मेवारी सम्हाल्न सक्ने व्यक्ति बैंकमा हुनुपर्छ ।

वित्तीय अनुशासन
वित्तीय अनुशासन हरेक कर्मचारीमा हुनुपर्छ । पैसाकै कारोबार गर्ने भएपछि मानिसहरुमा लोभ पलाउनु स्वभाविक कुरा हो । छोटो समयमा धेरै कमाउने चाहनाले मानिसलाई गलत बाटोतर्फ डोहोर्याउँछ । यसकारण, वित्तीय अनुशासन भएका कर्मचारीहरु मात्रै बैंकमा टिक्न सक्छन् ।

वित्तीय ज्ञान
वित्तीय संस्थामै काम गर्ने भएपछि वित्तीय क्षेत्रको ज्ञान त चाहियो नै । आफ्नो पद र जिम्मेवारीसँग सम्बन्धित विषयमा गहिरो ज्ञान हुनुपर्छ । साथमा त्यसबाहेकका विषयमा पनि जानकारी हुनुपर्छ । कम्तीमा कसैले बुझ्न चाहेमा बुझाउन सक्ने क्षमता हुनुपर्छ ।

नम्र व्यवहार
बैंक तथा वित्तीय संस्थामा सेवा लिन धेरै प्रकारका मानिसहरु आउँछन् । कहिलेकाहीँ कामको लोेड ज्यादा हुँदा दिक्क पनि लागिरहेको हुन सक्छ । यस्तो अवस्थामा पनि नम्र भएर आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने हुनुपर्छ । पढेलेखेकहरुले त आफैँ पनि प्रक्रियाहरु बुझेका हुन सक्छन् । तर, कोही निरक्षर एवम् बैंकिङ प्रक्रियाका विषयमा नबुझेका ग्राहकहरुलाई पनि धैर्यताका साथ बुझाएर सेवा दिन सक्ने हुनुपर्छ ।

निर्णयात्मक क्षमता
आफूले पाएको जिम्मेवारीका क्रममा कुनै निर्णय लिनुपर्ने भएमा तुरुन्तै र सही निर्णय लिने क्षमता हुनुपर्छ । कहिलेकाहीँ सोचेर लिएको निर्णय पनि गलत हुन सक्छ । यस्तो समयमा आफैँ जवाफदेही बनने क्षमता पनि हुनुपर्छ ।

समयको महत्व बुझ्ने
विकसित देशका मानिसहरु एवम् धनाढ्यहरु समय नै पैसा हो भन्ने हिसाबले चल्छन् । वित्तीय क्षेत्रका कर्मचारीले पनि यही सोच राख्नुपर्छ । समयमा नै कार्यालयमा हाजिर हुने, समयमा नै कार्य सम्पन्न गर्ने गर्नुपर्छ ।

प्राविधिक ज्ञान
अहिलेको समयमा प्रविधिको महत्व निकै बढिसकेको छ । प्रविधिको प्रयोग गर्न नजान्नेहरुका लागि जागीर पाउन नै गाह्रो भइसकेको छ । त्यसमाथि, दिनदिनै नयाँ नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । नयाँ नयाँ प्रविधिहरु भित्रिरहको वित्तीय क्षेत्रमा उत्कृष्ट कर्मचारीको पहिचान बनाउनका लागि प्रविधिको प्रयोगमा दखलता हुनुपर्छ । प्रविधिको प्रयोगबाट धेरै समयको काम थोरै समयमा सकिने, धेरै जनाले गर्नुपर्ने काम एकै जनाले गरिने र गाह्रो काम पनि सहजै हुने हुँदा प्रविधिको प्रयोगका सम्बन्धमा पोख्त हुनुपर्छ ।

यसरी, बैंकमा जागीर खाइसकेपछि लामो समय टिक्न र पदोन्नति हुनका लागि पनि धेरै मिहिनेत गर्नुपर्छ । बैंकमा आफूभन्दा माथिल्लो र तल्ललो तहका कर्मचारी, व्यवस्थापकीय टीम, संचालक समिति मात्रै नभएर ग्राहकहरु, सेयरहोल्डरहरु सबैलाई सन्तुष्ट बनाउने खालको कार्यसम्पादनबाट उत्कृष्ट कर्मचारी बन्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]