September 7th, 2018

नेपालमा बीमाको सात दशक लामो इतिहास : सुरुवात र विकासक्रम

बैंकिङ खबर ।  नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन । वि.सं. २००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए । तिनको वित्तीय सहयोगको निमित्त नेपाल बैंक लिमिटेड वि.सं. १९९४ मा स्थापना भएपछि औधोगिक प्रतिष्ठानको स्थापनाको साथै बीमा कम्पनिको आवश्यकता महसुस भएको थियो । बैंकले कर्जा प्रवाह गर्दा केही भारतीय बीमा कम्पनिले नेपालमा निर्जिवन बीमा सुरु गरेको पाइन्छ । 

२००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । यो संस्था नेपाल कम्पनी ऐन अन्तर्गत पाँच लाखको मुल धनमा नेपाल बैंक लिमिटेडले पुर्ण स्वामित्वमा स्थापना भएको थियो । २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो यसलाई वि.सं २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुरा नाममा पुर्णरुपले निर्जिवन बीमाको कार्य गर्ने गरी पुनः नामाकरण गरियो । वि.सं २०२४ साल पौष १ गते रु.एक करोडको अधिकतम पुँजीमा राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो ।

वि.सं. २०२९ मा राष्ट्रिय बीमा संस्थानले जीवन बीमा व्यवसाय थालनी गरेसँगै बीमाको संस्थागत विकास सुरु भएको मानिन्छ । त्यसपछि करिब डेढ दशकसम्म नेपाली बीमा बजारमा उक्त संस्थानको एकाधिकार रह्यो । राज्यले उदार अर्थनीति अवलम्बन गरेपछि नयाँ बीमा कम्पनी थपिने क्रम बढ्यो । यसरी बीमा कम्पनीको संख्यामा वृद्धि भएपनि बीमा बजार विस्तार भने अझै पनि सन्तोषजनक रहेको पाईदैन् ।

‘बीमा ऐन २०४९’ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’ त्यसैले प्रत्येक व्यक्तिले जीवन बीमाको महत्व बुझेर बीमा गर्नुपर्छ । अहिले प्रत्येक गाउँ, सहरमा बीमा अभिकर्ता पनि रहेका छन् ।

२०२५ साल अघिसम्म स्थायी रुपमा रहेको बीमा कम्पनीमध्ये रुवि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (हाल नेसनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्न्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आदि प्रमुख थिए ।

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि यसलाई राष्ट्रिय बीमा संस्थानमा परिर्वतन गरियो । यसले स्थापनाको प्रारम्भमा निर्जिवनमा बीमाको कार्य गरी २०२९ देखि जीवन बीमा प्रारम्भ गर्यो । वि.सं.२०४६ साल अगाडी बीमा व्यावसाय गर्ने निजी स्तरको कम्पनीको रुपमा २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र स्थापना भएको थियो यसले सुरुमा निर्जिवन बीमा व्यावसाय र त्यसको दुई बर्षपछि मात्र जीवन बीमा व्यवसाय गर्न स्वीकृति पाएको थियो ।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात २०४६/४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप विभिन्न निर्जीवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए । त्यस अनुसार हाल सम्म २० वटा निर्जिवन, १८ वटा जीवन र १ जीवन र निर्जिवन दुवै व्यावसाय गर्ने बीमा कम्पनीहरु नेपालको बीमा बजारमा सेवारत रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]