September 6th, 2018

कसरी भयो बीमाको सुरुवात ? यस्तो छ विकासक्रम

बैंकिङ खबर । बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ई.पू. ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् । त्यसबेला यी दुई राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामूहिक रुपमा कोषको निर्माण गरेका थिए । त्यहि कोषबाट यस्ता जोखिमहरुको क्षतिपूर्ति गर्दथे । ई.पू. अठारौं शताब्दीमा बेबोलोनियाका राजा हम्मुरवीले त कानुन नै बनाएर व्यापारिक क्षतिको क्षतिपूर्ति व्यवस्था गरेको इतिहास पाइन्छ । यस कानुनलाई ‘हम्मुरवी कानुन’ भनिन्छ । यसमा सामुद्रिक मार्गमा हुने चोरी डकैतीबाट हुने नोक्सानीको क्षति पूर्तिमा व्यवहारिक पक्षहरु उल्लेख गरिएका थिए । जस्तै, समुद्री मार्गबाट व्यापार गर्ने व्यापारीको सामान चोरी भएमा चोरी भएको सामान बराबरको पैसा उपलब्ध गराउने र ऋण भए मुक्त गराउने व्यवस्था कानुनमा नै उल्लेख गरिएको थियो ।

साथै, ई.पू. ६ सय वर्षअघि यस्तै व्यवस्था भारत वर्षमा पनि थियो भन्ने कुरा बैदिक ग्रन्थहरुमा उल्लेख छ , भने ग्रिसमा ई.पू. ४ सय वर्षअघि यस्तो व्यवस्था रहेको भनाई छ । रोमेली समाजमा चाँही यस व्यवस्थालाई कानुनी आधार मानी राज्यले नै यस्तो बचत कोषको व्यवस्था गरी क्षतिपूर्ति दिने कुरा उल्लेख गरिएको थियो । रोममा मानिसको मृत्यु हुँदा समुदायका सदस्यबाट दाह संस्कार तथा क्रियाखर्च दिन पैसा संकलन गर्ने परम्परा थियो । फानेसिया (वर्तमान लेवनान) मा व्यापारीहरुले ई.पू. १२ औं शताब्दीमा बीमाको प्रचलन प्रारम्भ गरेको पाइन्छ । यी व्यवस्थामा व्यापारीहरुलाई समुद्री यात्राका लागि ऋण मिनाहा गरिन्थ्यो । यसरी लिने व्याजको दर सामान्य दरभन्दा केही बढि हुन्थ्यो । यात्रा सफल नभएमा यस्तो ऋण मिनाहा गरिन्थ्यो ।

यसरी नै बीमाको यस्तो प्रचलन एसियाका अन्य भागमा चाँैथो शताब्दीमा पनि प्रयोगमा ल्याइएको पाइन्छ । पाश्चात्य सभ्यताको मध्य युुग पाँचौदेखि पन्ध्रौं शताब्दीसम्मको समय हो । यस समयका बेलायत र इटालीमा कारखानामा काम गर्ने मजदुर विरामी भएका वा मरेमा परिवारका सदस्यलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

बीमाको आधुनिक कालको विकास
बेलायतमा ई.स १७ सय को प्रारम्भमा सामुद्रिक व्यापारीहरुको जोखिम कम गर्न क्षतिपूर्ति दिने व्यवस्थाबाट प्रारम्भ भएको पाइन्छ । नदिको किनार जहाँबाट समुद्रमा जहाज जान्थ्यो, त्यहाँ एकदिन व्यापारीहरु भेला भए । जहाज डुब्ने, सामान खेर जाने समस्याबाट पीडित ती व्यापारीहरुले उक्त भेलामा दुःख पोखे । भेलाले जहाज डुबे तथा सामान नष्ट भएका मानिसहरुलाई सबै मिलेर केहि राहत दिने निर्णय गरे । त्यस्तै, नदि किनारमा रहेको कफि हाउसमा कुन जहाज कहाँ जान्छ, कहाँ दुर्घटना हुन्छ त्यसको विवरण टाँस्ने गरिन्थ्यो । सो विवरण हेर्न आउने मान्छेको कारण कफि हाउसमा भिड लाग्न थाल्यो र व्यापारसमेत वृद्धि हुन थाल्यो । विस्तारै उनीहरुले यो सहयोगको भावनालाई लिखितमा राख्न थाले । यसो गर्दागर्दै उनीहरुले तल सहि गर्ने ‘अन्डर राइटर’ भन्ने शब्दको विकास गरे । त्यो कफि हाउस थियो ‘एडबर्ड लायडस’ । जहाँ व्यापारीहरुले जोखिमबारे कुरा गर्ने, बीमाको प्रयोग सुरु गरेको हुँदा पछि यसलाई ‘लायडस’ नाम पनि दिइयो र यसले ‘लायडस अफ लन्डन’को नामबाट नै औपचारिक संस्थाको रुप प्राप्त गरेको हो । सामुद्रिक बीमाको औपचारिक स्थापनाको रुपमा यसैलाई लिने गरिन्छ । यसरी नै उनीहरुले यसलाई आवश्यकताको रुपमा लिए र संस्थागत गर्नुपर्छ भनेर लागे । यसरी नै बीमा संस्थागत हुँदै गएको देखिन्छ ।

यस्तै, इटालीका यहुदीहरुले १२ औं शताब्दीमा मुनाफाकै आधारमा सुरु गरेको सामुद्रिक बीमाले विस्तारै अन्य क्षेत्रमा पनि प्रवेश ग¥यो । इटालीबाट निर्वा्सित यी यहुदीहरु पोर्चुगल, स्पेन फ्रान्सलगायतका देशमा बस्न थालेपछि बीमाको प्रचलन आधुनिकरुपमा नै सुरु हुन भएको पाइन्छ । बेलायतमा १६ देखि १८ औं शताब्दीका बीचमा बीमाको प्रचलनको आधुनिक रुपहरु तयार भए । बेलायतमा १५ सय ई. को अन्त्यतिर पहिलो पटक बीमा नीति लिखित रुपमा आएको पाइन्छ । ‘मित्रता समाज समुदाय’ नामक समुदायले अन्य कार्यका अतिरिक्त बीमाको कार्य पनि गर्दथ्यो । त्यस्तैगरी प्रारम्भमा गलत र कमजोर व्यवस्थापनका कारण यस्तो धरै समाज टाट पल्टिए पनि पछि १७९३ मा बेलायत सरकारले मित्रता समाज सम्बन्धि कानुनको व्यवस्था नै ग¥यो ।

औद्योगिक विकास र सहरीकरणका कारण युरोप र उत्तरी अमेरिकाको जीवन र आर्थिक कारोबारमा नयाँ–नयाँ जोखिमहरु थपिन थालेपछि यसले अझै बृहत रुप लिन पुगेको पाइन्छ । त्यस्तै, १६६६ मा लन्डनमा ठूलो आगलागीको घटना भएको थियो । पाँच दिनसम्म भएको उक्त आगलागीले ८५ प्रतिशत घरहरु नष्ट भए । त्यसपछि अग्नि बीमाको शुरुवात भयो । र तुरुन्तै बेलायतमा अग्नि बीमाले व्यापकता पायो । १८औं शताब्दीको औद्योगिक क्रान्तिले युरोपलाई झन् नयाँ उचाइमा लग्यो । यातायात कलकारखानाको विकाससँगै मजदुर वर्गको संख्यामा पनि भारी वृद्धि भयो । त्यसपश्चात शहरीकरणले अरु गति लियो । औद्योगिक नगरीहरु जस्तै युरोपको लन्डन ह्यामवर्ग, फ्रान्सको पेरिस, रुसको सेन्ट पिटसवर्ग, अमेरिकाको फिलाडेल्फिया र न्युयोर्कको जनसंख्यामा अत्याधिक बढोत्तरी भयो । सँगै बीमाको आवश्यकतालाई महसुस गरिएको पाइन्छ । यता १८ औं शताब्दीबाट नै अमेरिकामा पनि बीमाको विकास भयो । सन् १७२० मा बेन्जामिन फ्रन्किलिनले फिला डेल्फियामा भएको भीषण आगलागीबाट भएको घरहरुको क्षतिको बीमा रकम उपलब्ध गराएको पाइन्छ । यस्तै १७९२ मा अमेरिकामा ६ लाख डलरको लगानीसहित बीमा कम्पनी स्थापना भयो । जुन सामुद्रिक बीमा थियो । १८ सयपछि अमेरिकामा जीवन बीमा तथा अन्य प्रकारका बीमा कम्पनी खुल्ने क्रमले गतिलिएको पाइन्छ । १८६९ मा अमेरिकाको सर्वोच्च अदालतले राज्य तथा संघहरुमा बीमा कानुन ल्याउने आदेश दियो । र सबै राज्यहरुले बीमा विभाग स्थापना गरी बीमा कानुन ल्याउने आदेश पनि दियो । यसरी अमेरिकामा बीमा राज्यको एउटा महत्वपूर्ण अंग बनेको थियो । १९ र २० औं शताब्दीमा अमेरिका र युरोपका औद्योगिक देश तथा अन्य विकसित देशहरुमा बीमाका नयाँ क्षेत्रहरु विकसित भए ।

औषधि विज्ञानमा आएको प्रगतिसँगै उपचार बीमा पनि शुरु भयो । यातायात मजदुर, बेरोजगार बीमा र स्वास्थ्य बीमा जस्ता विषयहरुले त्यतिबेला देखि नै प्राथमिकता पाएको थियो । अमेरिकामा नै १८९७ मा अटोमोवाइल बीमाको सुरुवात भएको हो । यसै क्रममा रेल्वे, हवाइ, दुर्घटना, चोरी बीमा र जहाजी यात्रुको पनि बीमाको शुरुवात भएको हो । १९५० भन्दा अगाडी सम्पत्ति वा दायित्व सम्बन्धि बीमा मात्र कार्यन्वयनमा थिए, भने त्यसपछि बीमामा प्याकेज नीति नै प्रारम्भ भयो । यस्तै, १९६५ मा अमेरिकी कंग्रेसले स्वास्थ्य बीमाको सामाजिक सुरक्षा व्यवस्थालाई बलियो बनाउने बीमा नीति नै ल्यायो । यसरी नै क्रमशः बीमा बजार फैलिदै आजको अवस्था आएको देखिन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]