January 22nd, 2018

दोस्रो बैंकिङ एक्स्पोमा केके हुँदैछ ?

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा यही माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना हुँदैछ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई लक्षित गरेको संयोजक माधव निर्दोषले जानकारी दिए ।

झन्डै ७० वटा सूचनामूलक स्टल
काठमाडौँमा दोस्रोपटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोमा यसपटक झन्डै ७० वटा सूचनामूलक स्टलहरु रहने भएका छन् । एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गर्नेछन् । सम्बन्धित संस्थाको स्टलमा गएर अवलोकनकर्ताहरुले उक्त संस्थाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्नेछन् । दुवै दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म स्टल अवलोकन गर्न पाइनेछ । 

गोष्ठी संचालन
एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन हुनेछ । यसपालीको एक्स्पोमा सेयर बजार र बैंकिङ प्रविधिलाई फोकस गरेर गोष्ठी संचालन गरिनेछ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुद्धारा अत्यावश्यकीय जानकारी दिइनेछ भने सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन पनि गरिनेछ । 

प्रवेश निशूल्क
एक्स्पोमा सहभागी हुनका लागि कुनै किसिमको शूल्क लाग्ने छैन । कार्यक्रम अवधिभर निशूल्क रुपमा प्रवेश गरी सहभागीहरुले बैंकिङ नलेज प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले केकस्ता सेवा दिन्छ ? धितोपत्र बोर्डले केके काम गर्छ ? युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? बैंकले के आधारमा कर्जा दिन्छ ? कुन बैंकमा पैसा राख्दा कति व्याज आउँछ ? कस्तो प्रकारको बैंकले दिने सेवा सुविधा कस्तो हो ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु बैंकिङ एक्स्पोमा प्राप्त गर्न सकिनेछ । बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहने वा आफैँ उद्यमी बन्न चाहने सबैका लागि बैंकिङ एक्स्पो एक महत्वपूर्ण अवसर सावित हुने अपेक्षा गरिएको छ ।

मेनेजमेन्ट स्टुडेन्टका लागि अपरिहार्य
अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी पाइएको छ । मेनेजमेन्ट अध्ययन गरेर बैंकमा जागीर खाने सपना देखेका युवाहरुका लागि वित्तीय चेतना अत्यन्तै आवश्यक छ, जुन आवश्यकता बैंकिङ एक्स्पोले पूरा गर्नेछ । त्यस्तै, मेनेजमेन्ट पढेर आफैँ उद्यम सुरु गर्ने सोचिरहेका युवाहरुका लागि पनि उद्यम सुरु गर्ने, लागत जुटाउने, व्यवसाय बढाउने लगायतका आइडियाहरु बैंकिङ एक्स्पोले प्रदान गर्नेछ । 

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्दैछ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]