February 22nd, 2017

राष्ट्रिय बीमा संस्थानको स्वर्ण जयन्ती : बीमांकीय मूल्यांकन छिटै अघि बढाउने प्रतिवद्धता

राष्ट्रिय बीमा संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने बताएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बीमांकीय मूल्यांकन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बीमांकनबाट बीमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्यांकनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।

संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ विश्वास दिलाउँछु ।’ संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले बताएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए । 

संस्थानले  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा रू. १५ अर्ब लगानी गरेको छ ।

अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुन्यप्रसाद रेग्मीले बीमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बीमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]