August 10th, 2016

सहकारीमा चल्यो अब मर्जरको लहर 

mergerबागलुङ जिल्लाका सात सहकारी एकीकरण भएका छन् । एकीकरण हुनेमा तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी, बागलुङ नगरपालिका– ३ को सिवाइसी बचत तथा ऋण सहकारी, पैंयूपाटाको कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी, महिला जागरण सहकारी, बिहुँको दहपानी महिला आयआर्जन बचत तथा ऋण सहकारी, परिवर्तन बचत तथा ऋण सहकारी र कुसिमसेराको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

यस्तै सिगानाको हाम्रो बहुउद्देश्यीय सहकारी सदरमुकामस्थित नबरत्न बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण भएको छ । ग्वालीचौरको मातापिता सहकारी दुगातुम्डाँडाको सुरक्षा बचत तथा ऋण सहकारीसँग गाभिएको छ । सातमध्ये चार सहकारी सिवाइसी बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएका छन् । सिवाइसीले एकीकरण अभियान चलाएको हो ।

एकीकरण सम्बन्धी कार्य्विधिले निर्दिष्ट गरेका उद्देश्य प्राप्तिका लागि सहकारी एकीकरण हुन थालेको डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एउटै कार्यक्षेत्रभित्र रहेका, एउटै विषय तथा उद्देश्यले खोलिएका र फरक जिल्ला भएर पनि कार्यक्षेत्र जोडिएका संस्था एकीकरण हुनसक्ने उहाँको भनाइ छ ।

सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पुँजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, सङ्घ/संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । “एकीकरण हुन सहमत कुनै दुई सहकारीबीच विभिन्न चरणको प्रक्रिया पूरा गरेपछि एकीकरणको निर्णय कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो ।

यसैगरी जिल्लामा रहेका सहकारी सङ्घरसंस्थाको पाश्र्व्चित्र (प्रोफाइल) नामक पुस्तक प्रकाशन भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले प्रकाशन गरेको सो पुस्तकमा जिल्लाभरका सहकारी संस्थाको विवरण समावेश गरिएको छ । संस्थाको पृष्ठभूमिसहित उद्देश्य, वित्तीय अवस्था, साङ्गठनिक स्वरुप, लगानीका क्षेत्र जस्ता विषय उक्त पुस्तकमा उल्लेख भएका सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो । आव २०७१/७२ सम्मको तथ्याङ्क पुस्तकमा समेटिएको छ ।

जिल्लामा हालसम्म ४६० सहकारी दर्ता छन् । सहकारीले वार्षिक रु सात अर्ब बढीको कारोबार गर्ने गरेका छन् भने सात सय जनालाई प्रत्यक्ष रोजगारी दिएका सहकारीमा करिब ७३ हजार जना सेयर सदस्य रहेका बताइएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]