July 15th, 2016

‘मौद्रिक नीतिमा कायम गरिएको स्प्रेडले लघुवित्त संस्था संचालन गर्न गाह्रो हुन्छ’

dharmaraj pandeyबिहिबार राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त संस्थाहरुले स्प्रेड रेटबारे तिव्र विरोध जनाएका छन् । यसै सन्दर्भमा लघुवित्त बैंकर्स संघका अध्यक्ष धर्मराज पाण्डेसंग बैंकिङ खबर डट कमका लागि सहकर्मी नवराज कुँवरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

लघुवित्त संस्थाहरुको हकमा मौद्रिक नीति कस्तो आयो ?
हामीले जे जति अपेक्षा गरेका थियौँ, ती कुराहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्न खाजेजस्तो त हामीलाई लागेको छ । तर सिधा अर्थमा भन्दा हामीलाई मौद्रिक नीतिमा आएका केही कुराले निकै हतोत्साहित गरेको छ । 

के कुराले हतोत्साहित गर्यो ?
लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा ग्राहकसँग लिने ब्याजदर सम्बन्धित संस्थाको कोषको लागतमा बढीमा ७ प्रतिशत स्प्रेड कायम गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइनेछ भनिएको छ । यो हाम्रो लागि निकै चुनौतिपूर्ण छ । यो अवस्थामा लघुवित्त कम्पनीहरु संचालन हुन गाह्रो हुन्छ ।

भनेपछि यही स्पे्रड रेट प्रतिशत लागु हुने हो भने लघुवित्त कम्पनीहरु बन्द हुने अवस्थामा पुग्छन् ?
बन्दै हुन्छन् भन्दा पनि चल्न सक्दैनन् भन्ने शब्द प्रयोग गर्दा जाति हुन्छ ।

किन चल्न सक्दैनन् ?
बाणिज्य बैंकहरुमा ग्राहक आउँछन् तर लघुवित्त संस्थाहरु ग्राहक भए ठाउँ जान्छन् । हामीहरुको लेण्डिङ कस्ट बढी हुन्छ । त्यसैले यति स्प्रेट रेट हाम्रो लागि गार्हो हुन्छ ।

कति प्रतिशत स्प्रेड रेट हुनुपथ्र्यो ?
हामीले लघुवित्त संघमा पनि एउटा कमिटी बनाएका थियौँ । त्यसले अध्ययन गरेर हामीले अहिलेको अवस्थामा १८/२० प्रतिशतभन्दा बढी लगानी नगर्नु भनेर सदस्यहरुलाई पनि भनेका थियौँ । र कस्टको आधारमा घटाउँदै जाने हो । हाम्रो प्रशासनिक कस्ट धेरै छ । यो १०/११ सम्म छ । त्यस्तै फण्ड कस्ट ६/७ सम्म पर्न जान्छ । यी सब कुराहरु हिसाब गरेर भन्ने हो भने हामी १७/१८ प्रतिशतभन्दा यता त गर्नै सक्दैनौँ ।

मौद्रिक नीतिमा यी व्यवस्था त आइसके अब के गर्छन् लघुवित्त संस्थाले ?
हामी एकपटक कुरा राख्छौँ । किन भने लघुवित्त संस्थाहरु जन्माउने राष्ट्र बैंकनै हो । त्यसैले उसले हाम्रो कुरा सुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

अनि बैंकहरुले विपन्न वर्गमा २ प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थाले यहाँहरुलाई कति प्रभाव पार्छ ?
यसमा पनि हाम्रो असन्तुष्टि नै छ । हामीहरुलाई डिपोजिट लिनका लागि अनुमति छैन । हाम्रो श्रोत भनेको ‘क’ ‘ख’ ‘ग’ बैंक नै हुन् । त्यसमा पनि दुई प्रतिशत उनीहरुले नै गर्ने भनेपछि हाम्रो श्रोत घट्ने देखिएको छ । यो कुराले पनि हामीले असर पुर्याएको छ ।

भनेपछि तपाईहरुको मुख्य असन्तुष्टि स्पे्रट दर प्रतिशत र विपन्न कर्जामा ठूला बैंकहरुको लगानी प्रतिशत मात्रै हो ?
हो, यी दुई विषयबाहेक अन्य कुराहरुप्रति हामी सकारात्मक छौँ । हाम्रा लागि अन्य कुराहरु स्वागतयोग्य नै छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]