June 27th, 2016

लघुवित्त बैँकको सहयोगमा उद्यमी बनेका महिलाहरुको ‘सफलताको कथा’

buffस्वरोजगार लघुवित्त विकास बैँकले महिला उद्यमीहरुलाई अगाडी बढाइ व्यावसायिक रुपमा आय र स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको समूह नं.१०७१ जोकीथुम्का पाँचखालमा समूह बनेको ३ वर्ष भयो । ३३ जना सदस्य रहेको समूहमा सबै महिला उद्यमी छन् । जिल्लाको पाँचखाल नगरपालिकाका महिला उद्यमीहरु स्वरोजगार लघुवित्त विकास बैँकको समूहमा आबद्ध भएपछि जीवन नै परिवर्तन भएको बताउँछन् । त्यस ठाउँमा समूहबाट २ वटा डेरीमा दूध बेचिने गरेको छ । समूहबाट मात्रै दैनिक ६ सय लिटर भैँसीको दूध ७० रुपैँयाका दरले ४२ हजार र ४ सय लिटर गाईको दूध ५० रुपैँयाका दरले २० हजार गरी कुल ६२ हजार रुपैँया बराबरको दूध विक्रि हुने गरेको तथ्यांक छ । उनीहरुलाई स्वराजेगार लघुवित्त विकास बैंकले पेन्सन, व्यक्तिगत र समूह बचत गर्नेबाट १४ लाख लगानी गरी २५ वटा भैँसी र २० वटा गाई पाल्न सहयोग गरेको छ । 

स्वरोजगार लघुवित्त विकास बैंकले महिला उद्यमीहरुलाई अगाडि बढाइ व्यवसायिक रुपमा आय र स्वरोजगारमूलक कार्यक्रमहरु गर्ने लक्ष्यअनुरुप न्यून आयवर्गमा जनसमुदायहरुलाई आर्थिक उन्नतिका लागि प्राविधिक सहयोग गर्दै आएको छ । बैंकले नै बैंकिङ सेवा विस्तारका लागि व्यावसायिक योजनाहरु सिकाउने, व्यवसायीहरुबिच समन्वय गराउने र उत्पादन, वितरण, भण्डारण र बजारीकरणको व्यवस्था मिलाउने कार्य गरिरहेको छ । महिला उद्यमीहरुलाई व्यवसाय गर्न अगाडि बढाइ आय र स्वरोजगारमूलक कार्यक्रमहरु गर्ने लक्ष्यअनुरुप न्यून आयवर्गमा जनसमुदायहरुलाई आर्थिक उन्नतिका लागि स्वरोजगार लघुवित्त बैंकले सहयोग गरेको हो । 

भैँसी र गाइपालन तालिम लिने अवसर पाएँ 
विन्दा कार्की
म पाँचखाल नगरपालिकाको महिला समूहमा संयोजक छु । मैले समूहमा आवद्ध भएर त्यसबाट सरल रुपमा पाउने ऋण लिएँ । साथै, भैँसी र गाइपालन तालिम पनि लिएँ । त्यसपछि मैले ४ वटा गाई किनेर पाल्न थालेँ । अहिले दैनिक ४० लिटर दूध बेच्ने गरेको छु । मैले बाख्रा र कुखुरा पनि बैंकबाटै ऋण लिएर पालेकी छु । दूधबाट वार्षिक ५ लाखदेखि साढे ५ लाख, बाख्रापालनबाट वार्षिक ५० हजार र कुखुरापालनबाट वार्षिक ४० हजार कमाउँछु । साथै, कम्पोष्ट मलबाट समेत वार्षिक ५० हजार कमाउँछु ।  मलाई लाग्छ, काम गरेर खट्न सके विदेश जानै पर्दैन । जाँगर चाहिँ चाहिन्छ, कमाई गाउँमै हुन्छ । मैले यहि गाउँमा झन्डै ६ लाख ५० हजार त एकै वर्षमा कमाउने गरेको छु । वार्षिक साढे ३ लाखदेखि ४ लाख त बैंकमा नै जम्मा गर्ने गरेको छु । बाँकी पैसा भने वस्तुलाई पराल, दाना, ढुटोपिठो र घरखर्चमा लगायतमा खर्च गर्छु ।

उद्यम विस्तार गर्न आँट दियो लघुवित्त बैंकले
अञ्जु तामाङ
म महिला समूहमा सदस्य छु । मैले स्वरोजगारबाट १ लाख रुपैँया ऋण लिएर २ वटा भैँसीपालन सुरु गरेको हुँ । म अहिले मासिक १० हजार रुपैँयाभन्दा बढी कमाउने भइसकेको छु । मैले एक पटक लिएको ऋण भैँसी पालेरै तिरिसकेँ । अर्कोपटक लिएको ऋणको किस्ता तिर्दै आएको छु । जाँगर चाहिँ हुनुपर्यो काम गर्न अन्त जानै नपर्ने रहेछ । अब बाख्रा समेत पाल्ने सुर गरेको छु । स्वरोजगारबाट ऋण लिँदा बिमा पनि सँगै हुन्छ । यसले हामीलाई झन् सजिलो बनाएको छ । गत वर्ष मात्रै मेरो एउटा भैँसी मर्यो । बिमावापत मैले ५६ हजार रुपैँया पाएँ । मलाई धेरै नोक्सान भएन । अहिले महिनामा ३ सय केजी ढुटो, १ सय केजी दाना, १ सय केजी पिठो र पराल खरिद गरेर पनि मासिक १२ देखि १३ हजार चोखो कमाइ भइरहेको छ । अब बाख्रा र लोकल कुखुरा पनि पाल्ने सोचिरहेको छु । त्यसैले अर्को वर्षदेखि मेरो आम्दानी अझै बढ्छ ।

समूहमा आवद्ध हुँदा लघुवित्त बैंकबाट ऋण लिन लिन झनै सहज भयो 
शान्ति लामा
मैले पनि स्वरोजगारबाट ऋण लिएर भैँसी पालन सुरु गरेकी हुँ । मैले बैंकबाट ३ पटक भैँसीपालन ऋण लिएर ३ वटा भैँसी किनेर पालिरहेको छु । अझै ८० हजार ऋण तिर्न बाँकी छ । दैनिक २५ लिटर दूध बेचेर सबै खर्च कटाएर मासिक ३५ हजार रकम बचाउने र अर्को भैँसी थप्ने योजना बनाएको छु । समूहमा आवद्ध भएका महिलाहरुलाई लघुवित्त बैंकले निकै सहयोग पुर्याएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]