June 25th, 2016

नेपालको जलविद्युत्मा लगानी गर्न विदेशी लगानीकर्ताको लर्को, ७५ आयोजनाका लागि स्विकृति माग

hydroनेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण अत्याधिक बढेको पाइएको छ । पछिल्लो समय जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी उत्पादन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिने क्रम बढेको पाइएको हो । हालसम्म स्वदेशी तथा विदेशी प्रवद्र्धकले ७५ आयोजनाको डीपीआर सम्पन्न गरी ५ हजार ४ सय ८२ मेगावाट विद्युत् उत्पादनका लागि औपचारिक स्वीकृति माग गरेको उर्जा मन्त्रालयले जनाएको छ । 

लाइसेन्स माग गर्ने कम्पनिहरु
उत्पादन लाइसेन्स माग गर्नेमा सात भारतीय र एक चिनियाँ प्रवद्र्धक छन् । भारतको भिल्बरा ग्रुपले बलेफी, जीएमआर इनर्जीले माथिल्लो मस्र्याङ्दी २ र पटेल इन्जिनियरिङले बूढीगण्डकी ‘क’ र ‘ख’का लागि आवेदन दिएका छन् । यस्तै, केएसके इनर्जी लिमिटेडले तिला १ र २ तथा एस्सर पावरले कालिगण्डकी कोवाङ आयोजना निर्माणका लागि विभागमा निवेदन दिएका छन् । चाइना हाइड्रो कर्पोरेसनले १ सय २ मेगावाटको माथिल्लो त्रिशूली २ आयोजना बनाउनका लागि निवेदन दिएको छ । यी आयोजनाका प्रवद्र्धकले डीपीआरका लागि मात्र करोडौँ रुपैयाँ लगानी गरेका छन् ।

हाल परेका आवेदनमध्ये १ देखि ६ सय मेगावाट क्षमताका छन् । लाइसेन्सका लागि आवेदन दिएका परियोजनामध्ये अधिकांश सात वर्षभित्रै सम्पन्न हुनेछन् । लाइसेन्सका लागि निवेदन दिएकामध्ये केही आयोजनाले लगानी जुटाई निर्माणको तयारीसमेत गरेका छन् । १०.५ मेगावाटको तल्लो मोदी क्यासकेड, ८ मेगावाटको माथिल्लो नौगाड, ४८.८ मेगावाटको खिम्तीलगायत आधा दर्जन आयोजना निर्माणको तयारीमा पुगेका छन् । हाल प्रचलित लागत प्रतिमेगावाट औसत १५ करोड रुपैयाँलाई आधार मान्दा ५ हजार ४ सय ८२ मेगावाट क्षमताका यी आयोजना बनाउन करिब साढे ८ खर्ब लगानी आवश्यक पर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]