August 7th, 2018

कस्तो कस्तो जोखिमको व्यवस्थापन बीमामार्फत गर्न सकिन्छ ?

बैंकिङ खबर । जोखिमसँग जोखिम व्यवस्थापनका कुरा जोडिएका हुन्छन् । जोखिमको व्यवस्थापन चरणबद्ध प्रक्रियामा गरिन्छ । सर्वप्रथम घटना हुन सक्ने सम्भावनाको पहिचान गरिन्छ तथा सम्भावित क्षतिको परिमाण खर्च कतिसम्म हुनसक्ने भन्ने मापन गरिन्छ । त्यसपछि घटना घटेमा आफ्नो सम्पत्तिको पुनस्र्थापना वा शोधभर्ना गर्ने क्षमता के छ र क्षतिको परिमाण आफ्नो अनुमान भन्दा फरक भई बढी भएमा वैकल्पिक स्रोत के छ यी सबैको  विश्लेषण गरिन्छ । 

दैवि प्रकोप तथा मानव सिर्जित विभिन्न जोखिम हुन्छन्, जसले सम्पत्ति तथा व्यक्तिको क्षति गर्न सक्छ । यस्तो अवस्थालाई पहिचान गरेर जोखिमलाई आफ्नै क्षमताभित्र बहन गर्न सकिन्छ भने आइपर्ने सक्ने क्षतिका लागि आफैंले पूर्वसोचाइ वा व्यवस्था गर्न सकिन्छ । यसका लागि बीमा कम्पनीलाई जोखिम अनुरुप तोकिएको बीमा शुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तारण गर्न सकिन्छ ।

न्युनतम खर्च (बीमाशुल्क बुझाई) आफ्नो सम्पत्ति, आम्दानी, पर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । यही आवश्यकताले नै बीमा क्षेत्रको विकास भएको हो । जोखिम छ, यसलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन, बीमा हुन जोखिमका विशेषता भएको हुन जरुरी छ । ती विशेषताहरुलाई यहाँ निम्न शीर्षक वर्णन गरिएको छ ः

१) मूल्य किटान गर्न सकिने : कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर, आगलागी हुदाँ, सवारी साधन दुर्घटना हुदाँ मर्मत खर्च कति लाग्ने हो, पसलमा राखिएको सामान चोरी भएमा पुनस्थापना गर्न खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीमा गरिएकोमा आफ्नो पति स्वर्गवास हुदाँ जीवित श्रीमतीले आफ्नो क्षमताले मृतक पतिले खरिद गरेको मूल्य बराबरको पाउने कति रकम छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरुलाई मूल्यमा किटान गर्न सक्नुपर्दछ । यी सबै क्षतिहरु मूल्य मापनका मापदण्डहरु हुन् । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रुपमा नै मूल्य किटान भइरहेको हुन्छ ।  

२) निश्चित बीमाशुल्क निर्धारण गर्न सकिने : जोखिम हस्तान्तरणको लागि निश्चित बीमाशुल्क बुझाउनु पर्दछ । बीमाशुल्कको निर्धारणका आधारहरु धेरै कुरामा आधारित हुन्छन् । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्नसक्ने दायित्वको सीमा, जीवन बीमामा बीमा गर्ने उमेर, स्वास्थ्यको स्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणहरुका आधारमा बीमाशुल्क निर्धारणको निम्ति उस्तै प्रकारका धेरै जोखिमहरुको प्रस्ताव प्राप्त हुनुपर्दछ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुईवटा मात्र छन् भने बीमाशुल्कको निर्धारण बढी हुन्छ ।   

३) घटना अनिश्चित हुनुपर्ने : जोखिम हस्तान्तरण गरिएका पक्षहरुमा घट्न सक्ने अनिश्चित हुनुपर्दछ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ, सो पनि अनिश्चित हुनुपर्दछ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन अर्थात् घटना बीमा  गर्ने व्यक्ति वा संस्थाको काबुभन्दा बाहिर हुनुपर्दछ । जीवन बीमा गर्नेको कुनै एक दिन मृत्युु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । जीवन बीमा गर्नेले बीमा गराउँदै तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्दछ । 

४) हस्तान्तरण गर्न बीमायोग्य हित हुनुपर्ने : बीमाको माध्यमद्धारा जोखिम हस्तान्तरण गरिँदा आइपर्ने सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषयवस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्दछ, जोखिम घटेमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्र क्षर्तिपूर्ति पाउनु पर्दछ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, पर्ने दायित्व तथा अरुको जीवनमा बीमा गर्न मिल्दैन ( कुनै कुनै अपवाद अवस्था बाहेक), यसलाई बीमायोग्य हित सिद्धान्त सम्बन्धी शीर्षकमा छुटै व्यख्या गरिएको छ ।

५) जनाहितविरुद्ध हुने गरी हस्तान्तरण गर्न नहुने : जोखिम अनिश्चित हुनुपर्दछ भनिँदा बीमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु, बिगार्नु र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यता विपरित हुन्छ । सवारी दुर्घटनामा चालकलाईं सम्बन्धित प्रहरीले गर्ने जरिवाना बापत बीमाबाट क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]