July 6th, 2018

कालिकोटमा हजारौँ उद्यमी जन्माउँदै लघुवित्त

रेखा चन्द/बैंकिङ खबर । अतिविकट भनिएको कालिकोट जिल्लामा बैंकिङ पहुँचको अवस्था अत्यन्तै कमजोर रहेको छ । ठूलो बैंकको त कुरै छोडौँ, लघुवित्तहरु समेत निकै कम संख्यामा पुगेका छन् । किसान माइक्रोफाइनान्सको रासकोट शाखाका प्रबन्धक गणेश कुमार शाहीका अनुसार, कालीकोटमा लघुवित्त वित्तीय संस्थाहरुका जम्मा पाँच वटा शाखा विस्तारित भएका  छन् । ती पाँच शाखामध्ये, तीन वटा शाखा किसान माइक्रोफाइनान्सकै रहेका छन् । किसानले जिल्लाको तिर्पु, रासकोट र मान्मामा शाखा संचालन गरि त्यहाँका सर्वसाधारणलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । आजसम्म कालिकोट जिल्लामा नै केन्द्रीय कार्यालय राखेर भने कुनै पनि माइक्रोफाइनान्स संचालनमा आएका छैनन् ।

कालिकोटमा बैंकको उपस्थिती नभएपनि लघुवित्तहरुमार्फत हजारौँ सर्वसाधारण उद्यमी बनेका छन् ।  औसतमा त्यहाँ संचालनमा रहेका लघुवित्तको एउटा शाखाले एक हजार लाई उद्यमी बनाएको छ । किसान माइक्रोफाइनान्सको रासकोट शाखाले १४ सयलाई उद्यमी बनाइरहेको शाखा प्रबन्धक शाहीले जानकारी दिए । त्यस्तै, सोही लघुवित्तको तिर्पु शाखाबाट कर्जा लिएर छ सय जना उद्यमी बनेका छन् भने मान्मा शाखाले एक हजार उद्यमी जन्माएको छ ।

शाहीका अनुसार, किसान माइक्रोफाइनान्सको रासकोट शाखाबाट ७५० जनाले कर्जा लिएर उपभोग गरिरहेका छन् भने तिर्पु शाखाबाट १४६ जनाले कर्जा उपभोग गरिरहेका  छन् । त्यस्तै, माइक्रोफाइनान्सको मान्मा शाखाबाट छ सय जनालाई कर्जा प्रवाह गरिएको छ । लघुवित्तबाहेक, जिल्लामा केही सहकारी संथाहरु पनि संचालनमा छन् । यद्यपि, सहकारीको तुलनामा लघुवित्त संस्थाहरुले उद्यमशीलता विकासमा बढी योगदान पुर्याएका छन् । त्यहाँका लघुवित्तहरुको दाँजोमा सहकारी संस्थाहरु पुग्न सकेका छैनन् । 

लघुवित्त मार्फत उद्यमशीलता विकास गर्ने कार्यमा जिल्लाका अधिकांश स्थानीय निकायहरुले पनि सहयोग गरिरहेका छन् । केही स्थानहरुमा भने लघुवित्तहरुले विभिन्न समस्या तथा चुनौतीहरु भोगिरहेका छन् । किनकि, स्थानीय निकायहरु लघुवित्तभन्दा पनि सहकारी सहकारी संस्थालाई नै प्रवद्र्धन गर्नुपर्नेतर्फ जोड दिन्छन् । बाहिरबाट लघुवित्त आएर व्यवसाय गर्नुभन्दा स्थानीय स्तरकै सहकारीलाई प्रवद्र्धन गर्नुपर्नेतर्फ स्थानीय निकायहरुको जोड हुने गरेको छ । यस किसिमका दबाबका कारण केही लघुवित्तहरुलाई अप्ठेरो भइरहेको छ ।

सर्वसाधारणले भने त्यहाँका लघुवित्तबाट राम्रै फाइदा लिइरहेका छन् । विशेष गरि खुद्रा पसल, बाख्रापालन, गाईपालन, भैंसिपालन, साना साना दालमोट उद्योगहरु एवम् अन्य साना व्यापारको लागि कालीकोटका लघुवित्तमार्फत कर्जाको लगानी भईरहेको छ । एकातर्फ, लघुवित्तको कर्जाबाट हजारौँ उद्यमी पैदा भइरहँदा अर्कोतर्फ कर्जाको दुरुपयोग गर्नेहरु पनि उत्तिकै बढेका छन् । जिल्लामा कर्जाको दुरुपयोग लगभग ५० प्रतिशत नै हुने गरेको किसान माइक्रोफाइनान्स रासकोट शाखाका प्रबन्धक शाही बताउँछन् । उनी भन्छन्, ‘मानिसहरुले एउटा कामको लागि भनेर कर्जा लिन्छन्, र अर्कै कार्यमा खर्च गर्दछन् ।’ संस्थाबाट बाख्रापालनको लागि भनेर कर्जा निकालेको कर्जा गाउँमा नै अर्को व्यक्तिलाई महँगोमा व्याजमा लगाउने गरेको समेत पाइएको उनले बताए । जिल्लामा एउटै व्यक्ति धेरै संस्थाको सदस्य बन्ने समस्या भने नदेखिएको शाहीको दाबी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]