June 1st, 2018

सहकारीमार्फत आर्थिक उपार्जनमा जुटे १६ सय महिला, यसरी पाउँदैछन् ‘सफलता’

राम खत्री/बैंकिङ खबर । जातीय विभेदका घटना बढ्दै गइरहेका बेला कैलालीको गोदावरीका महिलाहरु भने विभेद विर्सिँदै आर्थिक उपार्जनमा जुटेका छन् । नगरका ३८० दलित महिला, १५० जनजाती सहित १ हजार ६०० महिलाहरु आवद्ध भएर सहकारी मार्फत आर्थिक उपार्जनमा जुटेका हुन् । 

सात करोड पुग्यो पुँजी
२५ जना महिलाहरु मिलेर मासिक ५ रुपयाँ जम्मा गर्दै स्थापना गरेको सहकारी अहिले सात करोडसम्म पुगको छ भने नेतृत्व दलित महिलाको नै छ । सरुमा २५ जना महिलाहरु मिलेर मासिक ५ रुपयाँ जम्मा गर्दै स्थापना गरेको सहकारीको पुजी अहिले झण्डै सात करोड पुगेको गोदावरी नगरपालीका वडा नम्बर २ स्थित जिवनज्वती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सुमित्रा सोवले बताइन् । शिक्षामा पहुँच र चेतना स्तरमा आएको परिवर्तनका कारण जातीय छुवाछुत, लैङ्गिक विभेद, घरायसी कामकाज र चुलोचौकाबाट माथि उठ्दै महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् । महिलाहरु ठुला सहकारी हाँक्न सफल भएको सोवले बताइन् ।

सात सय महिला स्वरोजगार
सहकारीमा आवद्ध १ हजार ६०० महिला मध्ये ७०० जना स्वरोजगार बन्न सफल भएका छन् । सहकारीमा लागेपछि महिलाहरुले सहज र सजिलो सँग चाहिएको बेला ऋण मात्रै पाएका छैनन् विगतको अभावलाई पनि विर्सँदै गएको गोदावरी नगरपालीका १ वासपानीकी दलित महिला राजुदेवी विकले बताइन् ।

कृषि तथा पशुपालनमा आकर्षण
सहकारीमा आवद्ध महिलाहरु अहिले बाख्रापालन, कुखुरापालन तथा व्यवसायीक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकोले पनि सहकारीमा महिलाको आकर्षण बढ्दै गएको स्थानिय संगिता विश्वकर्मा बताउँछिन् । कुनै बेला लैङ्गिक र जातीय विभेदको मारमा परेको कैलालीको गोदावरीमा अहिले विभेद विर्सिँदै दलित तथा गैरदलित महिलाहरु आर्थिक उपार्जनमा जुटेका छन् । एकजुट भएर आर्थिक क्रियाकलापमा संलग्न महिलाहरुको जिवनस्तरलाई उकास्न गोदावरी नगरपालिकाले पनि सक्दो सहयोग गर्ने गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले बताइन् ।

दलित महिला संघ (फेडो) कैलालीले दलित महिलाहरुको  आर्थिक उपार्जनका लागि विभिन्न तालिम तथा सेमिनारहरुबाट  आर्थिक उपार्जनको सिप सिकेको दलित महिलाहरु बताउँछन् । अहिले देशभरमा अहिलेसम्म ९ हजार भन्दा बढी सहकारी सञ्चालनमा छन् भने प्रदेश नम्बर सातमा मात्रै २ हजार ४० वटा सहकारी सञ्चालनमा छन् । कैलालीमा अहिलेसम्म झण्डै साढे ६ सय भन्दा बढी सहकारी संघसंस्थाहरु दर्ता भएको जनाइएको छ । जसमध्ये महिलाले मात्रै ९७ वटा सहकारी चलाइरहेका छन् । जात जाती, भेषभुषा र धर्ममा कुनै विभेद नराखि आर्थिक उपार्जनमा लागेका महिलाहरुले समाजमा गतिलो सन्देश दिन सफल भएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]