May 25th, 2018

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मुक्तिनाथ विकास बैंकका दुई शाखा एकै साथ

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आफ्ना दुई शाखा कार्यालय विस्तार गरेको छ । मुक्तिनाथ विकास बैंक लि.ले तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राईभरटोल र वडा नं १५ कोटिहवामा क्रमशः ८१ औं र ८२ औं शाखा विस्तार गरेको छ । 

ड्राईभरटोल शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले गरे । घिमिरेले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका वित्तीय सेवाहरुका साथै सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत वित्तीय साक्षरता, क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमा निर्माण गर्नमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, आनन्दबन शंकरनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष श्री केशवराज न्यौपानेले लगायतले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

त्यस्तै, शाखा कार्यालय कोटिहवाको समुद्घाटन सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले गरे । शाखा उद्घाटन समारोहमा न्यौपानेले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने भन्दै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा ओमसतीया गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल), तिलोत्तमा न.पा. वडा नं १५ का वडा अध्यक्ष श्री खेमराज गुरुङ्ग लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । सो क्रममा उनले रुपन्देहीमा रहेका विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । साथमा बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  

मुक्तिनाथ विकास बैंकका शाखाहरु रुपन्देही जिल्लामा बुटवलको ट्राफिक चाक, भैरहवाको गल्लामन्डी, हरैया र रामापुर कोलोनीमा यसअघि नै शाखाहरु संचालनमा आईसकेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]