May 25th, 2018

बैंकिङ शाखा विस्तारले ग्रामीणमुखी अर्थतन्त्र निर्माण हुँदै

बैंकिङ खबर । गाउँगाउँमा बैंक शाखा पुग्न थालेपछि ग्रामीण अर्थतन्त्र निर्माण हुन थालेको छ । हरेक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति अनुरुप बैंकहरुले धमाधम शाखा विस्तार विस्तार हुन थालेसँगै ग्रामीण भेग पनि आर्थिक रुपले समृद्ध हुँदै गएको छ । बैंकहरु गाउँगाउँमा पुग्दा ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि अर्थतन्त्रमा जोडिन पुगेका छन् ।

एक महिनामा ३० शाखा थप
गत चैत्र महिनामा मात्रै वाणिज्य बैंकका ३० शाखा थपिएका छन् । फागुन मसान्तमा ३९४ वटा स्थानीय तहमा मात्रै बैंक पुगेकोमा चैत्र महिनामा मात्रै ३० शाखा थपिएका छन् । जसअनुसार, संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये ४२४ स्थानीय तहमा बाणिज्य बैंकहरुको उपस्थिती पुगेको छ । यो तथ्यांक गत चैत्र मसान्तसम्मको हो । वैशाख लागेपछि बैंकहरुले शाखा विस्तारलाई अझ तीव्र गति दिएका छन् । 

कुन प्रदेशमा कति छन् बैंक शाखा
नेपाल राष्ट्र बैंकको चैत्र मसान्तसम्मको विवरण अनुसार, प्रदेश नं. १ मा वाणिज्य बैंकका सबैभन्दा धेरै शाखा पुगेका छन् भने प्रदेश नं. ५ सबैभन्दा कम पाइएको छ । प्रदेश नं.का १३७ स्थानीय तहहरुमध्ये, ८२ वटा वाणिज्य बैंकको उपस्थिती रहेको छ । प्रदेश नं. ६ मा ७९ स्थानीय तह रहेकोमा ३० वटामा बैंक पुगेका छन् ।
यसबाहेक, प्रदेश नं. २ का १३६ स्थानीय तहमध्ये ७१ वटामा, प्रदेश नं. ३ का ११९मध्ये ७६ स्थानीय तहमा, प्रदेश नं. ४ का ८५ मध्ये ५५ वटामा, प्रदेश नं. ५ का १०९मध्ये ७४ वटामा र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये ३६ वटामा वाणिज्य बैंकहरुको शाखा विस्तारित भइसकेका छन् । 

विकास बैंक र लघुवित्त पनि गाउँगाउँमा
राष्ट्र बैंकले असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंकको उपस्थिती पुग्ने दाबी गरिरहेको छ । वाणिज्य बैंकहरुले पनि पूर्वाधार नभएको स्थानीय तहमा शाखा संचालन गर्न कठिनाई हुने भन्दै न्युनतम पूर्वाधार उपलब्ध हुने स्थानीय तहहरुमा धमाधम शाखा संचालनमा ल्याइरहेका छन् । वाणिज्य बैंक मात्र नभएर विकास बैंकहरु पनि गाउँगाउँमा पुगिरहेका छन् । साथमा लघुवित्त वित्तीय संस्थाहरुले पनि थुप्रै ग्राहकलाई उद्यमी बनाएका छन् ।

वित्तीय चेतना बढ्दै
विस्तारै वित्तीय चेतना पनि बढिरहेको छ । गाउँमै बैंक पुगेपछि मानिसहरु यसबारेमा जिज्ञासा राख्न थालेका छन् । के रहेछ बैंक ? यसले के काम गर्ने रहेछ ? बैंक हाम्रो गाउँमा किन आएको रहेछ ? बैंकमा पैसा राख्दा के फाइदा हुने रहेछ ? लगायतका जिज्ञासा जनतामा विस्तारै पैदा हुँदै गएको छ । बैंकहरु पनि बैंकको आवश्यकता र महत्वका विषयमा जनतालाई बुझाउन तत्पर छन् ।

वित्तीय गतिविधिमा वृद्धि
यसरी शाखाहरु विस्तार हुँदै जाँदा ग्रामीण भेगमा वित्तीय गतिविधिहरु बढेको छ । सिरानीमुनी पैसा राख्ने मानिस अब बैंकमा जम्मा गर्न थालेका छन् । साहुबाट महँगो व्याजमा कर्जा लिएर चलाइरहेकाहरु बैंकबाट पैसा लिएर उद्यम सुरु गरी आफैँ कमाउने भएका छन् । ग्रामीण भेगका जनताले बैंकमार्फत कारोबार गरेका कारण उनीहरुको पुँजी पनि राष्ट्रिय अर्थतन्त्रमा जोडिन पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]