May 16th, 2018

लघुवित्तको कर्जा सदुपयोग गर्दा बनिन्छ उद्यमी, दुरुपयोगको नतिजा के हुन्छ ?

सुरेन्द्र भण्डारी – राममाया मध्यम बर्गीय परिवारकी व्यक्ति हुन् । धेरै नपढे पनि ३ कक्षा सम्म पढेकी राममायाको श्रीमान विदेशमा काम गर्छन् । राममाया भने एउटा सामान्य गृहिणी हुन् । एक दिन  गाउमा एउटा लघुवित्त वित्तीय संस्था आयो । केहि काम गर्नको लागि गाउँ घरबाट ऋण चलाउँदा सयकडा तीन रुपैयाँदेखि पाँच रुपैयाँसम्म तिरेकी राममायालाई लघुवित्त वित्तीय संस्थाको सबै उद्देश्य र गाउँघरको भन्दा सस्तो ब्याजदरले आकर्षित गर्यो । अनि गाउँ घरका सबै दिदि बहिनिहरुसँगै उनी संस्थाको सदस्य भइन् । लघुवित्तबाट उनले सानो कर्जा लिएर कुखुरा पालिन् । ऋण लिएको पैसा तिर्नुपर्ने अनि ब्यबसाय पनि अगाडी बढाउनुपर्ने कुराले उनलाई रातदिन आफ्नो कामप्रति सचेत हँुदै मिहेनतका साथ काम गर्न हौसला दियो । यही हौसलाका साथ उनले संस्थाको ऋण मासिक रुपमा कम गर्दै लगिन् । 

राममायाको सफलता देखेर सबै जना अचम्मित भए । हिजो सानो ऋण लिएर कुखुरा पालन थालेकी राममायाले बिस्तारै मासु ब्यबसायलाइ पनि अगाडी बढाइन् । समय बित्दै गयो, राममायाको सफलता दिन दुई गुना रात चौगुना थप हुँदै गयो । त्यसैबेला गाउँमा अन्य लघुवित्त संस्था आए । राममायाले पैसा अनि संस्था भन्दा धेरै कर्म मा विश्वास गरि आफ्नो कामलाई अगाडी बढाउँदै लागिन् । आजको दिनसम्म आइपुग्दा उनले  खोलाको किनारमा गिट्टी कुट्ने सुन्तली आन्टी, रामु काकालाई आफ्नै काममा सहयोगी बनाई काम दिइरहेकी छिन् । बिदेशमा दिनरात दुःख गरिरहेका श्रीमानसँग राममायाको कुरा बेलाबखत भइरहन्छ । अब श्रीमान पनि स्वेदेशमै आएर राममाया संगै मिलेर काम गरि सुखी जिबन बिताउने रहर बर्सौ देखि बिदेशिएका श्रीमान्को मनमा पलाएको कुरा फोन बाट बताई रहन्छन् ।

कर्जा दुरुपयोगको नतिजा
राममायाकै गाउँमा सुनाकाली पनि बस्थिन् । दुवै जनासँगै लघुवित्त वित्तीय संस्थाका सदस्य भएका थिए । राममायाको श्रीमान विदेश भए पनि सुनाकालीको श्रीमान् गाउँमै किराना पसल चलाएर राम्रै गुजारा चलाई बसेका थिए । सुनाकालीले पसललाई राम्रोसँग चलाउन भनेर संस्थाबाट ऋण लिइन् । ऋण लिएर केहि रकम पसलमा लगाइन् भने केहि रकम घर खर्च चलाएर सिध्याइन् । दुइ चार महिनासम्म राम्रै चल्यो । तर, बिस्तारै सुनाकलिलाई संस्थाको ऋण तिर्न गार्हो हुँदै गयो । त्यसै बेला गाउमा अरु संस्था आए । 

सुनाकाली लगायत केहि दिदी बहिनि दुई तिन वटा संस्थामा बसे । साथै ऋण निकाल्दै सुरुमा आएको संस्थामा तिर्दै गए । बिस्तारै बिस्तारै आफ्नो काम भन्दा पनि अरु चिजमा बढी समय बिताउँदै गइन् सुनाकाली । पछि पछि संस्थाले सजिलै ऋण दिने भएकोले सँधै यस्तै चलिहाल्छ भन्ने सोचेर सुनाकाली बिलासिता जिबन बिताउन लागिन् । सबै संस्थाबाट ऋण निकालेर महिनाको हजारौँ रकम चुक्ता गर्नुपर्ने भयो । किराना पसलको कमाईले खान लाउनसम्म ठिक्क हुन्थ्यो । अवस्था झन् झन् बिगँ्रदै गयो । एउटा संस्थामा किस्ता रोकिने बितिक्कै सबै संस्थाले कर्जा दिन छोड्दै गए । अन्तिममा पसल समेत बेच्नुपर्यो । त्यति गर्दा पनि सबै संस्थाको कर्जा चुक्ता गर्न सकिनन् र श्रीमानलाई फेरि गाउँ घरबाट कर्जा निकालेर विदेश पठाउन बाध्य भइन् । आफु भने खोला किनारमा गिट्टी र बालुवा चाल्दै साँझ बिहानको छाक टार्दै बसेकी छिन् । (लेखक हाल नेपाल एग्रो माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडमा कार्यरत छन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]