April 18th, 2018

धमाधम डिजिटल बन्दै टेलिभिजनहरु, काठमाडौँ र ललितपूरमा पूर्ण रुपमा लागू

बैंकिङ खबर । एनालग केबल टेलिभिजनहरु धमाधम डिजिटल प्रविधिमा रूपान्तरण हुन थालेका छन् । सूचना तथा संचार प्रविधि मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ महानगरपालिका र ललितपूर महानगरपालिकामा पूर्ण रुपमा डिजिटल प्रविधि लागू भइसकेको छ । भरतपूर, विराटनगर, पोखरा र वीरगञ्जमा भने एनालग केबल टेलिभिजनहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । यसबाहेक, अन्य क्षेत्रहरुमा पनि डिजिटल प्रविधि लागू गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । 

टिभीलाई डिजिटलाइेसन गर्ने म्याद असार मसान्तसम्म तोकिएको छ । सो समयसम्ममा क्रमशः अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा पनि डिजिटल प्रविधि जडान गरिने मन्त्रालयको भनाइ छ । ग्रामिण क्षेत्रहरुमा भने केहि समयको लागि एनालग केबल टिभी सेवा प्रशारण गर्न दिने र त्यसलाई पनि क्रमशः डिजिटाइजेशनमा लागे मन्त्रालयको योजना छ । ग्रामिण भेगमा डिजिटाइसेजनको लागि अनुदान दिने वा अन्य कुनै उपायबाट डिजिटाइजेसन गर्ने भन्ने बारेमा भने अझै कुनै ठोस निर्णय मन्त्रालयले गर्न सकेको छैन ।

डिजिटल प्रविधिका फाइदाहरु
डिजिटल प्रविधिले विद्यमान टिभी प्रसारणको गुणस्तरमा आमुल परिवर्तन आउने अपेक्षा गरिएको छ । हाल ग्राहकले अपनाइरहेको एनालग प्रविधिको तुलनामा डिजिटल प्रविधिबाट टिभीको आवाज, भिडियो तथा पिक्चर क्वालिटी तुलनात्मक रुपमा गुणस्तरीय हुनेछ । सेट­अप बक्स जडान गर्दा त्यसले अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल दिन्छ ।
 
सेटटप बक्समार्फत इन्टरनेट जोडेर टिभीबाटै म्यासेज आदानप्रदान गर्ने, युट्युबबाट भिडियो हेर्न, इन्टरनेट चलाउन र अनलाइन च्यानल हेर्न समेत पाइनेछ । आफूलाई हेर्न मन लागेका कार्यक्रम रेकर्ड गरेर आफूलाई फूर्सद भएको समयमा हेर्न सकिने सुविधा समेत यस प्रविधिमा पाइन्छ ।
 
सरकारले आउँदो एक वर्ष भित्रमा देशभरीबाट एनालग प्रविधिलाई विस्थापित गरेर डिजिटल प्रविधिलाई अनिवार्य बनाउने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]