March 23rd, 2018

बैंकहरुले रोजे घुमाउरो बाटो, निक्षेपको ब्याजदर १२.३६ प्रतिशत !

बैंकिङ खबर विशेष ब्यूरो । ब्याजदरको विषयमा केहि दिन अघिमात्रै बैंकिङ क्षेत्रमा ठूलो विवाद आइपर्यो । मुलुकमा सञ्चालित कमर्शीयल बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर एशोसिएसनको बैठकमा ब्याजदरका विषयमा भद्र सहमति भयो । बचतमा बढीमा ८ र मुद्धतिमा बढीमा ११ प्रतिशत मात्रै ब्याजदर लिने गरी भएको भद्र सहमति विपरित एनआईसी एशिया बैंकले ब्याजदर बढाएको भन्दै संघले आपत्ति जनायो । ब्याजदर बढाएको कारण देखाउदै संघले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन विपरित नै गएर एनआईसी एसिया बैंकसँग सम्बन्ध विच्छेदको घोषणा गरे । तर अहिले भने त्यो बिवाद मिलिसकेको छ ।  
एनआईसी एशियाले ब्याजदर घटाउने भए पछि संघ र बैंकबीचको बिवाद मिलेको थियो । तर, यो घटना पूर्ण रुपमा सेलाउन नपाउदै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका छन् ।

बैंकहरुको नयाँ आइडीया
बैंकहरुले यसपाली भने नयाँ आइडीया ल्याएर ब्याजदर बढाउने घुमाउरो विधि अपनाएका छन् । यो सँगै ब्याजदरमा बैकहरुबीच हुने प्रतिस्पर्धा भने रोकिने छाँट देखिएको छैन । अब बैंकहरुले ब्याजदर बढी दिएर निक्षेपमा आकर्षित गर्न घुमाउरो बाटो प्रयोग गर्न शुरु गरेका हुन् । बैंक अफ काठमाण्डूले शुरु गरेको ब्याजदर बढाउने घुमाउरो बाटो अब नबिल बैंक र एनआईसी एसिया समेत अंगालेको छन् ।
बैंहरुले अग्रिम ब्याजदर भुक्तानी दिने भन्दै बैंकहरुबीच पुनः ब्याजदरमा प्रतिस्पर्धा शुरु भएको हो । ११ प्रतिशत अग्रिम ब्याजदर भुक्तानी स्किमको वास्तविक ब्याजदर १२.३६ प्रतिशत हुन आउँछ । कुनैपनि बैंकले ११ प्रतिशतभन्दा मुद्दती खातामा बढी ब्याजदर नदिने निर्णय संघले  गरेको थियो । तर, अहिले बैंकहरुले यस्तो मुद्दति निक्षेप खाताको ब्याजदर घुमाउरो पमा १२.३६ प्रतिशत पुर्याएका छन् ।

बीओकेको पछिपछि नविल
सर्वप्रथम बैंक अफ काठमाडौंले यो नयाँ आइडिया पत्ता लगाएर ब्याजदर बढाउने घुमाउरो बाटो अपनाएको थियो । बैंक अफ काठमाडौंले सर्वप्रथप लघु मुद्दती खाता नामक नयाँ निक्षेप खाताको अफर गर्यो । जुन खातामा ११ प्रतिशत ब्याजदर दिने र बचत गरेको दिन नै ब्याजदर उपलब्ध गराउने बतायो । यस अफरलाई जनतासम्म पुर्याउन यस बैंकले सञ्चार माध्यममा विज्ञापन नगरी घरदैलो अभियान चलायो । जसको कारण यस विषयमा धेरै बाहिर हल्ला फैलिन पाएन ।
यस पछि नबिल बैंकले यो योजना सार्वजनिक गर्यो  र सँगै एनआईसी एशियाले पनि । एनआइसी एसियाले यो खातामा खाताखोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजदरका दरले हुन आउने ब्याजदरको अग्रीम भुक्तानी बैंकको बचत खातामा भुक्तानी पाउने बताएको छ ।
यो स्किमा मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना र १२ महिनाको लागि खोल्न सकिने बताएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले यो खाता खोल्न सक्नेछन् । यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग गर्न सकिनेछ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ ।
११ प्रतिशतभन्दा बढी मुद्दतिमा ब्याद नदिने भद्र सहमति गरेका बैंकरहरुले घुमाउरो बाटो अपनाउदै १२.३६ प्रतिशत ब्याजदर दिनुले बैंकहरुले नै आफ्नै निर्णयको वर्खीलाप गरेको देखिन्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]