December 13th, 2017

पोखराले जन्माएका बैंकहरु, जो झाँगीदै छन् देशैभरी

रुपा कोइराला/बैंकिङ खबर । अहिले नेपालमा २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक, २८ वटा वित्त कम्पनीहरु, ५३ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । जसमध्ये, २८ वटै वाणिज्य बैंकहरुको प्रधान कार्यालय राजधानी सहर काठमाडौँमा नै रहेको छ भने प्रायः ठूला विकास बैंकहरु पनि काठमाडौँमा नै छन् । केही बैंकहरु भने पोखरामा स्थापना भएर विस्तार हुँदै मुलुकभर फैलिएका छन् ।

माछापूछ्रे बैंक लिमिटेड
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको माछापूछ्रे बैंक लिमिटेड हालै काठमाडौँको लाजिम्पाटमा सरेको छ । पोखरामा छँदै राम्रो कारोबार गरिरहेको माछापूछ्रेले राजधानीमा सरेर झन् राम्रो प्रगति गरिरहेको छ । गत आर्थिक वर्षदेखि त माछापूछ्रेले अर्बमाथि नाफा कमाएर अर्वपति क्लबमा नै प्रवेश गरिसकेको छ । बैंकले राष्ट्र बैंकको निर्देशनबमोजिम आठ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याइसकेको छ । हाल, माछापूछ्रे बैंकको चुक्तापुँजी आठ अर्ब पाँच करोड रुपैयाँ रहेको छ । माछापुछ्रे बैंकले देशैभरि छरिएर रहेका आफ्ना ६२ वटा शाखा, ८४ वटा एटिएम, चार वटा एक्सटेन्सन काउन्टर र सात वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिइरहेको छ ।

सात ठूला विकास बैंकहरु
पोखराले जन्माएको वाणिज्य बैंक एउटा मात्रै भएपनि विकास बैंकहरु थुप्रै छन्, जसले अहिले राम्रो प्रगति गरिरहेका छन् । 

कैलाश विकास बैंक लिमिटेड
पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर बनेको कैलाश विकास बैंक लिमिटेडको प्रधान कार्यालय पोखराको न्युरोडमा थियो । पछि, यो बैंक राजधानीमा सर्यो । हाल, कैलाशको केन्द्रीय कार्यालय काठमाडौँको न्यूप्लाजामा रहेको छ । यो राष्ट्रिय स्तरको विकास बैंक हो । उपत्यकाभित्र ११ र उपत्यकाबाहिर ३० गरी कैलाशका कुल ४१ शाखा कार्यालय छन् भने २० वटा एटीएम रहेका छन् । राष्ट्र बैंकको निर्देशनअनुरुप दुई अर्ब ५२ करोड रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको बैंकले आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग तथा आस्वा जस्ता सुविधा प्रदान गर्दै आएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
पोखराको न्युरोडमा स्थापना भएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड पनि राजधानी सहरमा नै पसेको छ । हाल यो बैंकको केन्द्रीय कार्यालय काठमाडौँको बालुवाटारमा रहेको छ । कुल ३५ शाखा १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा रहेको बैंकले करिब १ लाख ८० हजार भन्दा बढि ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग प्रदान गर्दै आइरहेको जनाइएको छ । एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार नौ सय रुपैयाँ चुक्तापुँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले १० बराबर आठको अनुपातमा हकप्रद सेयर जारी गरेर दुई अर्ब ४४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेड
धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्रिय स्तरमा स्तरोन्नति भएको मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय पोखराको पृथ्वीचोकबाट काठमाडौँको कमलादीमा सरेको छ । मुलुभर ७० वटा शाखा विस्तार गरिसकेको बैंकको चुक्तापुँजी एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर जारी गरेर राष्ट्र बैंकको निर्देशनबमोजिम अढाई अर्ब चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।  

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक पनि पोखराबाट हालै काठमाडौँको लाजिम्पाटमा सरेको छ । गरिमाको स्थापना भने स्याङ्जाको वालिङमा भएको थियो । पछि, बैंकले आफ्नो तेस्रो वार्षिक साधारणसभामार्फत केन्द्रीय कार्यालय पोखरामा सार्ने निर्णय गरेको थियो । बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । हाल गरिमा विकास बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ रहेको छ । 

कामना सेवा विकास बैंक लिमिटेड
हाल पोखराको लेखनाथस्थित सृजनाचोकमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक राजधानीमा सर्ने तरखरमा छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक एकआपसमा गाभिएर कामना सेवा विकास बैंक बनेको हो । मर्जरपश्चात् बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँ पुगेको छ । बैंकले ४१ शाखा र १६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड
राष्ट्रिय स्तरकै ओम डेभलपमेन्ट बैंक लिमिटेड भने अझै पनि पोखरामा नै छ । ओमको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा रहेको छ । उपत्यकाभित्र जम्मा छ वटा शाखा कार्यालय रहेको ओमका कुल ४१ शाखा संचालनमा छन् भने एक एक्सटेन्सन काउन्टर र छ एटीएम रहेका छन् । बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गरेर दुई अर्ब १३ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ ।  

गण्डकी विकास बैंक लिमिटेड
गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय पनि पोखराको चिप्लेढुंगामा रहेको छ । राष्ट्रिय स्तरको फेवा विकास बैंक लिमिटेड र क्षेत्रीयस्तरको गण्डकी विकास बैंक एक आपसमा गाभिएर बनेको गण्डकी विकास बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेर दुई अर्ब ३० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डमा अनुमति पनि पाइसकेको छ । पोखरामा नै केन्द्रीय कार्यालय भएका यी दुई विकास बैंकहरु मर्जर भएपछि शाखा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढेका छन् । हाल गण्डकी विकास बैंकले ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, आस्वा, आईपिएस, एटिएम, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका उद्यमी व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । बैकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौँडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]