November 12th, 2017

सनराइज बैंकको आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड उद्योग बाणिज्य संघका गरेका थिए । कार्यक्रमको बारेमा बिर्तामोड शाखाका प्रमुख सुमन दाहाल तथा साना तथा मझौला कर्जा विभागका प्रमुख गणेश रेग्मी लगायतले प्रष्ट पारेका थिए । कार्यक्रम रोयल प्यालेस ब्याङ्कक्येट बिर्तामोडमा सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास सँगसँगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको बताए । यसै परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने हेतुले आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका ७० वटा शाखामार्फत तथा थप विस्तारित शाखामार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पुर्याउने उद्देश्य लिएको उनले बताए । 

“हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको बैंकले आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।

यसैबीच बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट अरुण राउतहरुलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । कार्यक्रमका मुख्य विषयबस्तुमा सामान्य लेखाशास्त्रका सिद्धान्त, चालु पुँजी व्यबस्थापनका आधारभूत नियमहरु, नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण, व्यबसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण रहेका थिए । 

यस किसिमको कार्यक्रमको आयोजनालाई अत्यन्त लाभदायक रुपमा लिई बैंकले समस्त बैंकिङ्ग प्रणालीमा आवद्ध तथा गैह्र आवद्ध उद्यमी व्यवसायीहरुलाई समय समयमा कर प्रणाली तथा लेखा नीतिमा अद्यावधिक गराएकोमा तथा बिर्तामोड उद्योग वाणिज्य संघ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा संघका अध्यक्ष कुमार भट्टराईले बैंकको कार्यशैली प्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रमका सहभागीहरुलाई धु्र्रव शिवाकोटीले प्रमाणपत्र समेत वितरण गरेका थिए । विभिन्न विधाका १५० भन्दा बढी उद्यमी व्यवसायीहरुको उपस्थिती तथा सनराइज बैंकका झापा स्थित छ वटा शाखाका कर्मचारीहरुको समेत उपस्थिती रहेको कार्यक्रमको संचालन तथा व्यवस्थापन बिर्तामोड शाखाका कर्मचारी रेवतीरमण नेपालले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]