August 17th, 2017

भारतमा मूल्यवृद्धि आकाशियो, अझै बढ्ने अनुमान

बैंकिङ खबर – भारतमा मूल्यवृद्धि दर आकाशिएको छ । अघिल्लो महिनासम्म शून्य दशमलव ९० प्रतिशत रहेको मुद्रास्फीति एक महिनामा नै बढेर १ दशमलव ८८ प्रतिशत पुगेको छ । यसपटक, खाद्यवस्तुहरु चामल, दाल तथा तरकारीको भाउमा भएको वृद्धिका कारण मुद्रास्फीति बढेको बताइएको छ । चिनी, कन्फेक्शनरी वस्तु, पान, सुर्तीआदिको भाउमा भएको वृद्धिका कारण यसअघि पनि मुद्रास्फीति बढेको थियो ।  

उता अमेरिकी वित्तीय सेवा प्रदायक कम्पनी मोर्गन स्यायान्लीले पनि खाद्य वस्तुको भाउमा भएको वृद्धिका कारण मुद्रास्फीति वृद्धि भएको आफ्नो प्रतिवेदनमा जनाएको छ । मोर्गन स्यायान्लीले भारतको मुद्रास्फीतिको बारेमा अध्ययन गरी एक प्रतिवेदन तयार गरेको थियो । खाद्यवस्तु र विश्व बजारमा कमोडिटिजको भाउमा अहिले भइरहेको तीव्र उतारचढावलाई आधार मान्दा अगष्टमा सीपीआई र डब्ल्यूपीआई मुद्रास्फीति थप बढेर क्रमशः ३ प्रतिशत र २ दशमलव १ प्रतिशत पुग्ने मोर्गन स्यायान्लीले अनुमान समेत गरेको छ । 

भारत सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा थोक मूल्यमा आधारित मुद्रास्फीति (डब्ल्यूपीआई) र खुद्रा मूल्यमा आधारित मुद्रास्फीति (सीपीआई) दुवै बढेको छ । यो प्रवृत्तिले आउँदा महीनामा पनि निरन्तरता पाउने अमेरिकी वित्तीय सेवा प्रदायक कम्पनी मोर्गन स्ट्यान्लीले एक प्रतिवेदनमा उल्लेख गरेको छ । यसले त्यहाँको केन्द्रीय बैङ्कलाई थप ब्याजदर कटौतीका लागि पर्याप्त अवसर नदिने विश्लेषण गरिएको छ ।

अगष्ट महिनाको शुरूमा रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले ब्याजदरमा २५ आधार अङ्कको कटौती गरेपछि मुद्रास्फीतिको दबाब नियन्त्रण हुने अपेक्षामा थप ब्याजदर कटौतीको अनुमान बलियो भएको थियो । तर, ब्याजदर क्रमिक तवरले बढ्दै ४ प्रतिशत माथि पुग्ने अनुमान गरिएसँगै थप ब्याजदर कटौतीको सम्भावना घटेको प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनअनुसार अगष्टमा सीपीआई बढेमा अक्टोबरमा पनि बैंक ‘पर्ख र हेर’कै स्थितिमा हुनेछ । मौद्रिक नीति खुकुलो पार्न आधारभूत मुद्रास्फीति दबाब थप घट्नुपर्ने बताइएको छ । एजेन्सीको सहयोगमा 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]