April 28th, 2017

गरिमा विकास बैंकको खुद मुनाफा २४ करोड ८५ लाख रुपैयाँ

गरिमा विकास बैक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९ दशमलव ८६ प्रतिशत बढी मुनाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमाले १४ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एक अर्ब २९ करोड ६६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ७० दशमलव ७५ प्रतिशतले वृद्धि गरी १३ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६८ दशमलव ६६ प्रतिशत बढाएर १२ अर्ब नौ करोड चार लाख रुपैयाँ लगानी गरेको  छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ७५ दशमलव १६ प्रतिशतले बढेर ५४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६८ दशमलव २६ प्रतिशतले बढेर ३८ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा चार करोड ५१ लाख रुपैयाँ राखिएको छ भने जगेडाकोषमा ४६ करोड ८९ लाख रुपैयाँ रहेको छ । चैत्र मसान्तसम्ममा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७४ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १७ दशमलव १८ प्रतिशत, प्रतिसेयर आम्दानी २५ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ७६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ९६ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]