April 19th, 2017

अस्तित्व मेटीदै फाइनान्स कम्पनीहरु, विकास बैंक र बैंकमा गाभिने

आगामी असार मसान्तपछि फाइनान्स कम्पनीहरु नरहने भएका छन् । चार भागमा बर्गिकृत बैंकिङ क्षेत्र ३ भागमा विभाजित हुनेछन् । वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्स बैंकहरु मात्रै रहने छन् । फाइनान्स कम्पनीको आबश्यकता नभएको निश्कर्ष सहित राष्ट्र बैंकले फाइनान्सहरुलाई अन्य बैंकमा विलय गरनउन लागेको छ । व्यबहारिक रुपमा फाइनान्स कम्पनीहरुको आबश्यकता नभएको निश्कर्षमा राष्ट्र बैंक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी चार गुणाले बढाउन निर्देशन दिएपछि फाइनान्स कम्पनीहरु चुक्ता पुँजी पुराउन असमर्थ भएका छन् । ती संस्थाहरु चुक्ता पुँजी वृद्धिको कसरतमा खासै लागेका पनि छैनन् । केही सिमित संख्या बाहेक अरु फाइनान्स कम्पनीले चुक्ता पुँजीको मोडल बनाउन सकेका छैनन् । असार मसान्तपछि  आधा दर्जन फाइनान्स कम्पनीहरु रहने अनुमान छ । खासगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने व्यवस्था गरेको छ । त्यसमा वाणिज्य बैंकले अर्बमा र वित्त कम्पनीले करोडमा बढाउनु पर्नेछ । यसमा अधिकांश वाणिज्य बैंकहरु आठ अर्ब चुक्ता पुँजी नजिक देखिएका छन् भने विकास बैंकहरु पनि चुक्ता पुँजी पुर्याउने दौडधूपमै छन् ।

विकास बैंकका साथै वित्त कम्पनीहरुलाई पनि चुक्ता पुँजी पुर्याउनुपर्ने दबाब छ । राष्ट्रियस्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

वित्त कम्पनीका लागि समस्याको बजार

वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । किनभने अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् ।

पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । कतिपय फाइनान्स कम्पनीहरु एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् ।

हालैमात्रै राष्ट्रिस्तरको लुम्बिनी जनरल फाइनान्स एण्ड लिजिङ कोअपरेटिभ लिमिटेडले राष्ट्रिय स्तरकै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको छ । तर यहाँ भने दुवै संस्था शक्तिशाली छन् । भिबोर सोसाइटी पनि अढाई अर्ब चुक्ता पुँजी पुर्याउँदै गरेको विकास बैंक हो भने लुम्बिनी जनरल फाइनान्स पनि चुक्ता पुँजीको हिसाबले अब्बल नै मानिन्थ्यो ।

केही महिनाअघि ललितपुरमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्स र भक्तपुरमा केन्द्रीय कार्यालय रहेको भक्तपुर फाइनान्सले पनि मर्जरमा जाने सहमति गरिसकेका छन् । अब राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको प्रतिक्षामा छन् । हाल सेन्ट्रलको चुक्ता पुँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ भने भक्तपुरको २१ करोड ८४ लाख रुपैयाँ छ । मर्जरपछि सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ६ लाख रुपैयाँ हुनेछ । यी त हालैका केही उदाहरण मात्रै हुन्, मध्यमस्तरका धेरै फाइनान्सहरु ठुला बैंकमा गाभिसकेका छन् । कतिपयले आफुजस्तै अर्को संस्थासँग मर्जरका लागि आवेदन दिएर केन्द्रीय बैंकको स्वीकृतिको अपेक्षा गरिरहेका छन् ।

८८ फाइनान्स आधा दर्जनमा सिमित हुँदै

तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले ती फाइनान्स घटेर करिब २२ वटामा झरेका छन् । यीमध्ये करिव १२ वटा मर्जरमा जाँदैछन् भने   केही एक्विजिसनमा जाने क्रममा छन् । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम वित्त कम्पनीमध्ये आधा दर्जनको हाराहारीमा रहने छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]