February 8th, 2017

नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा साढे आठ करोड पुग्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा सात दशमलव ३० प्रतिशतले वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सले सात करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी १४ दशमलव ५६ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ र खर्च ३८ प्रतिशतले बढेर ३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले यो अवधिमा बीमाशुल्कवापत दुई अर्ब नौ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ भने ७३ करोड ९२ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । दोस्रो त्रैमासमा कम्पनीले तीन लाख ५८ हजार पाँच सय १३ वटा बीमा लेख जारी गरी र छ हजार तीन सय ७४ वटा दाबी भुक्तान गरेको हो । 

एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा ३० करोड ९३ लाख रुपैयाँ र जीवन बीमा कोषमा १५ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ दशमलव ८३ रुपैयाँ, पीई रेशियो एक सय ५८ दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ०९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मुल्य एक हजार तीन सय २० दशमलव ७९ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]