February 6th, 2017

रुरल माइक्रोफाइनान्सको मुनाफामा सामान्य वृद्धि, निष्कृय कर्जा शून्यमै

लघुवित्तको थोक कर्जा प्रदायक संस्था रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रुरलले आठ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

हाल ६९ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाकोे समिक्षा अवधिमा निक्षेप संकलन आठ प्रतिशतले बढेर चार अर्ब ९६ करोड ४७ लाख रुपैयाँ पुगेको  छ । संस्थाले यस अवधिमा कर्जा परिचालन २४.७० प्रतिशत अर्थात २३ करोड ७५ लाख रुपैयाँ बढाएर पाँच अर्ब ३३ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । 

छ महिनाको अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ११.७९ प्रतिशत वृद्धि गरी १४ करोड ७० लाख रुपैयाँ कमाएको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ६.५८ प्रतिशत वृद्धि भई १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जालाई शून्य प्रतिशतमा राखिरहन सफल संस्थाले प्रोभिजनमा १६३ प्रतिशत बढाएर ५९ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा एक अर्ब १९ करोड सात लाख रुपैयाँ राखेको छ । यो अवधिमा संस्थाको कर्मचारी खर्च आठ करोड रुपैयाँले बढेको पाइएको छ । यस अवधिमा रुरलकोे प्रतिसेयर आम्दानी १२.५२ रुपैँया, प्रतिसेयर नेटवर्थ २७२.०४ रुपैँया र पूँजीकोष अनुपात २६.४० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]